एमाले छाडेर नेकपा एसमा प्रवेश गर्नेको लहर नै चल्यो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबी गरेका छन् । 

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको शिलाशिला नै चलेको बताएका हुन् ।

नेपालले डडेल्धुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रियासमेत दिए । उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए । 

नेपालले केपी शर्मा ओली गुटले पार्टीविरुद्ध झुटो प्रचार गरिरहेको भन्दै त्यसविरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिए ।

‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने शिलशिला चलेको छ । उत्साहवद्र्धक पनि छ । उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डैझण्डै सबै जिल्ला कमिटी नै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ,’ उनले भने, ‘बेग्लै किसिमको उत्साह पैदा गरेको छ । तरंग पैदा गरेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ । र उसले अनावश्यक आरोप लगाइरहेको छ । झुटो प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ ।’

नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए । उनले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरूले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताए ।



सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरूले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको पनि उनले स्पष्ट पारे । नेपालले सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने पनि बताए । 

‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ । अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर उम्मेदवार खडा गर्छाैँ । कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको स्थानमा हुने उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौँ । यस काममा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नु पर्दछ । कसै-कसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारुढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन,’ उनले भने ।



नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेताकार्यकर्तालाई सचेत गराए । उनले तीनवटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरूले सोच बनाए पनि त्यसरी गर्न कानुन, नियमले मिल्ने/नमिल्ने छलफल गरेर अघि बढने बताए । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १७:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया