जनगणनालाई सफल बनाउन आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । 

उनले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

शनिबार केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरूलाई अनुरोध गरे । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘मैले भनिहाले– यो हाम्रो नेपाल राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने कुरा मात्रै होइन । मैले अघि नै भने यो– सुशासनको लागि, समृद्धिका लागि, विकास निर्माणको लागि, हरेक कुराहरूका लागि चाहिँ धेरै महत्वपूर्ण छ । त्यसकारण हामी सबैले संकल्प गरौं– यो सुरु भएको गणनालाई सफलतापूर्वक हाम्रो राष्ट्रको आवश्यक्ता परिपूर्ति गर्नेगरी यसलाई सफल पार्नका लागि लागौं । र म पनि आफ्नो तर्फबाट सघाउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने । 

राष्ट्रपति विद्या भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गरेको ‘राष्ट्रिय जनगणना २०७८’ मंसिर ९ गते सम्पन्न हुनेछ ।

‘मेरो गणना : मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १२:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया