निर्मला कुर्मी वेपत्ता प्रकरणका मुख्य अभियुक्तलाई पक्राउ गर्नु पर्ने माग गर्दै जिल्ला प्रशासन अगाडि धर्ना

निर्मला कुर्मीको वेपत्ता घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा अनिश्चितकालिन धर्ना सुरु गरिएको छ । महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा आजदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना दिन थालिएको मञ्चकी अध्यक्ष रुवी खानले बताइन् । 

निर्मलाको अपहरण, शरीर बन्धक गरी कर्तव्य ज्यान मुद्दामा छानविन समितिले मुख्य अभियुक्तसहित सबैलाई पक्राउ गरेर थप अनुसन्धान गर्न सुझाव दिएको थियो । सोही आधारमा मुख्य अभियुक्त रहेका संविधानसभा सदस्य बादशाह कुर्मीलाई अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै बाँकेका अधिकारकर्मीहरू आन्दोलित बनेका हुन् । प्रहरीले उक्त घटनाका आठ जना अभियुक्तलाई भने पक्राउ गरेर अनुसन्धान अगाडि बढाइसकेको छ । तर, बादशाहलाई पक्राउ गर्न अदालतले नै हाजिरी जमानीमा रिहा गरेकाले पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ ।

मृतक महिलाका आफन्त, स्थानीय तथा अधिकारकर्मीहरूले भने उनलाई पक्राउ गरेर हिरासतमा लिएर आवश्यक अनुसन्धान गर्न माग गर्दै आएका छन् । 

यसअघि कात्तिक २६ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो । निर्मला वेपत्ता घटनाका मुख्य आरोपीलाई उन्मुक्ति दिन खोजिएको भन्दै २४ घण्टाभित्रमा पक्राउ गरी कानूनी कारवाही अगाडि बढाउन माग गरेका थिए ।  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र पक्राउ नगरे पुनः आन्दोलन अगाडि बढाउने चेतावनी दिएका थिए । यसअघि उक्त घटनाका आरोपीतहरुलाई पक्राउ गर्न माग गर्दै १९ दिन जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको थियो । 

त्यस्तै यही मुद्दामा महिला अधिकारकर्मीहरु २० दिन पैदल हिडेर काठमाडौंसम्म आएका थिए । १२ दिन आमरण अनसन बसेपछि गृह मन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविन समितिले उक्त घटनाको मुख्य अभियुक्त नै बादशाह भएकाले उनीसहित सबैलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने सुझाव दिएको थियो । समितिको उक्त प्रतिवेदनपछि घटनामा मुछिएका ८ जनाले नै प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । तर, बादशाह भने अदालतबाट हाजिरी जमानी आदेश लिएर बाहिर छन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १६:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया