नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नै जाँडरक्सीको व्यापक विरोध गर्न थालेका छन् ।
सरकारमा सहभागी भएलगत्तै उनले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएर पनि जाँडरक्सी नखान निर्देशन दिएका थिए ।
शनिबार फेरि समाजवादी प्रेस संगठन नेपालको एक कार्यक्रममा सम्बोधन गर्दै नेपालले पत्रकारहरुलाई पनि रक्सी नखान अनुरोध गरेका छन् ।
‘साँझ पर्नेवित्तिकै होटल, त्यो पनि पाँच तारे होटल धाइ धाइ रक्सी खाने बानी तपाईंहरुको छैन होला, यस्तो नहोस्, मैले यस्तो छ भनेर थाहा पाएँ भने राम्रो मान्दिनँ,’ उनले भनेका छन् ।
उनले रक्सी सेवन गर्नेको स्वास्थ्य कुनै पनि हालतमा राम्रो नहुने पनि बताएका छन् ।
‘यसले मान्छेको आयु घटाउँछ,’ उनले भने, ‘रोग निम्त्याउँछ, रोगी बनाउँछ । रक्सी खाएर आयु बढ्दैन, स्वास्थ्य राम्रो हुँदैन ।’
यतिमात्र होइन, नेपालले रक्सीको सेवनले घर कलह सुरु हुने र यो समाजसम्म पुग्ने पनि बताएका छन् ।
‘जाँडरक्सी नखायो भने समाजमा प्रतिष्ठा घट्ने होइन,’ उनले भनेका छन्, ‘यो खाँदै नखानुस्, राम्रो काम गर्नुस् । रक्सी नखाँदैमा समाजमा प्रतिष्ठा घट्दैन ।’
हेर्नुहोस्, भिडियो–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।