उफ् यो महँगी, सामान छुँदा करेन्ट लाग्छ !
फरकधार / २८ कात्तिक, २०७८

तिहार सकिएलगत्तै तरकारी बजारमा मौसमी तरकारी पनि देखिएनन् । काउली, आलु, गोलभेँडा, प्याज र अन्य छिटो नष्ट हुने हरियार तरकारीको अभाव चुलियो । केही दिनपछि बजारमा तरकारी विस्तारै आउन त थाल्यो, तर भाउ करिब दोब्बर भएर । दसैंअघि ७० रुपैयाँ प्रतिकिलो पाइने गोलभेँडा अहिले एक सय ७५ पुगेको छ । अन्य तरकारीमा पनि यसरी नै भाउ बढेको छ ।



तरकारी व्यवसायी यसरी भाउ बढ्नुमा इन्धनको मूल्यलाई कारण मान्छन् । ढुवानी भाडा बढेपछि सामानको मूल्य स्वतः बढ्ने उनीहरुको भनाइ छ । नेपालमा विगत १९ महिनामा इन्धनको भाउ २१ पटक बढिसकेको छ । यो अवधिमा पेट्रोल ४०, डिजेल ३१ र खाना पकाउने ग्यासको भाउ दुई सय रुपैयाँ बढेको छ ।

बजारभाउ बढेको नेपालमा मात्रै भने होइन । अन्तर्राष्ट्रिय रुपमा अत्यावश्यक सामानको भाउ बढेको छ । इन्धन, सवारीसाधनका साथै अन्य सामानको बजारमूल्य अकल्पनीय ढंगमा वृद्धि भएको छ । कतिपय  विश्लेषकहरु यसको कारण उत्पादनका लागि आवश्यक सहायक सामानकै अभाव मान्छन् । अर्थात् बजारमा कच्चा पदार्थको अभाव चुलिएको छ । 

कोरोना महामारीका कारण थुप्रैखालका सामानको माग ह्वात्तै घट्यो । यसले गर्दा त्यस्ता सामान बनाउने कम्पनीहरुले आफ्नो उत्पादन घटाए या बन्द नै गरे । अहिले महामारीको त्रास निकै घटेको छ र माग बढ्न थालेको छ । तर उत्पादक कम्पनीले क्षमता पहिले नै घटाएका कारण ती सामान तत्कालै बनाउन सक्ने अवस्थामा उनीहरु छैनन् । 



महामारीको समयमा बिक्रेताहरुले सीमित समय मात्रै पसल खोल्न पाए । तिनले सामान पनि सीमित मात्रै राख्न थाले । अब अवस्था फेरिएकाले मानिसहरु घरबाट बाहिर निस्कन थालेका छन्, तर पसलमा सामान मागको तुलनामा बढ्न सकेको छैन । अहिले सबैभन्दा बढी समस्या कामदारको हुन पुगेको छ । त्यसमाथि पनि दक्ष कामदारको निकै अभाव छ ।

काभ्रेपलान्चोक पाँचखाल नजिकै गाउँमा फलेको आलु खन्ने र गोलभेँडा टिप्ने कामदार नपाउँदा किसान मर्कामा परेका छन् । तिनले सस्तो भाउमा बिचौलियालाई तरकारी बेच्न बाध्य भएको बताए । तिहारलगत्तै त बिचौलिया पनि खेतमा पुग्न सकेनन्, त्यसैले बजारमा तरकारी अभाव भएको हो ।

कामदार अभाव नेपालमा मात्र होइन, अमेरिकामा पनि रहेको समाचार संस्था बिबिसीले बताएको छ । अमेरिकामा एक करोडभन्दा बढी कामदारको पद खाली रहेको बिबिसीसँग कुरा गर्दै अर्थशास्त्री डा. नेला रिचर्डसनले बताएकी छन् । उनका अनुसार अमेरिकामा उत्पादनदेखि लिएर वितरण, यातायात र पसलमा समेत कामदार अभाव छ । 

उनी भन्छिन्, ‘महामारीको समयमा अमेरिकामा ७७ लाख मानिसको रोजगारी गुमेको थियो । तर पनि काम गर्ने मानिसको अभाव छ । अहिले पनि कोरोना भाइरसको डेल्टा भेरिएन्टसँग मानिसहरु डराइरहेका छन् र ती काममा फर्कन चाहिरहेका छैनन् । लाखौं मानिसले समयभन्दा अगावै रिटायरमेन्ट लिएका छन् । महामारी नहुँदो हो त ती अहिले काममै हुने थिए ।’

नेपालको सन्दर्भ भने अलि फरक छ । यहाँ कुनै भाइरसका कारण मानिसहरु काममा नफर्किएका होइनन् । अहिले पनि वैदेशिक रोजगारीमा जान चाहनेको लर्को त्रिभुवन विमानस्थलमा देख्न सकिन्छ । वैश्विक रुपमै रोजागारीको अभाव एकातिर छ भने अर्कोतिर धनी देशहरु कामदार नपाएर हैरान छन् । नेपालजस्ता अविकसित मुलुकमा भने स्वदेशी रोजगारीमा भन्दा वैदेशिक रोजगारीमा युवाको आकर्षण अधिक छ । यसकारण पनि यहाँ कामदार अभाव हुन पुगेको हो ।

आगामी वर्ष भने श्रमबजार सहज हुने सम्भावना देख्छिन् डा. नेला । उनी भन्छिन्, ‘मेरो आकलन के छ भने, आगामी वर्षको यही समयसम्म स्थिति सामान्यतर्फ जान सक्नेछ । कामदारको तलबसुुविधा बढ्नेछ र श्रमबजारमा उनीहरु फर्कने छन् ।’ तर कतिपय आर्थिक तथा बजार विश्लेषकहरु भने श्रमबजारमा छिट्टै सुधार नआउने बताउँछन् ।

अत्यावश्यक सामानको बजारमा अभाव देखिनुमा कामदार नपाइनुमात्रै कारण भने होइन । पृथ्वीको तापक्रम वृद्धि र जमिनको उर्वराशक्ति निकै ह्रास हुँदै गएको छ । गत वर्ष र यो वर्ष पनि महामारीका साथै जलवायु परिवर्तनको असर पनि पृथ्वीमा देखियो । महिना दिनअघि मात्रै धानबालीमा तीव्र वर्षाको प्रभाव पर्यो ।

प्रदेश एक, दुई र अन्य कतिपय ठाउँमा काटेर राखिएको धान पानीले बगाएर लग्यो । यसले पनि बजारमा माग अनुसारको सामान उपलब्ध हुन सकेन र संसारका कतिपय देशमा हिमपात, तुफान र सुख्खापनले खेतीबाली नष्ट भयो । भारतमा अति वर्षाले तरकारी खेती, ब्राजिलमा कफी र अमेरिकामा कपासखेतीमा ठूलो प्रभाव पर्न गयो । प्रारम्भिक अनुमान अनुसार यसरी जलवायु परिवर्तनका कारण मात्रै ३० प्रतिशत उत्पादनमा असर पुगेको छ ।

  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १२:१३:९,   अन्तिम अपडेट : कात्तिक २८, २०७८ आइतबार १२:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया