बारविरुद्ध नाराबाजी गर्नेलाई अध्यक्षले दिए चेतवानी– तपाईंहरुको सम्पती जफत हुने काम सुरु हुँदैछ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने बताएका छन् ।

आइतबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्य अवस्थामा पुगेको औंल्याएका हुन् । 

जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिरहेको र राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने उनले जनाए । प्रधानन्यायाधीश जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको आरोप समेत उनले लगाए । 

‘हामीहरू न्यायपालिका सुधारको लागि लागेका छौँ । न्यायपालिकाको बाधक चोलेन्द्र शमशेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ । 

त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ,’ श्रेष्ठले भने, ‘राजीनामा मात्रै होइन अब त पदच्युत पनि गर्नुपर्ने अपरिहार्य अवस्थामा हामी पुगेका छौँ । जबरा जबसम्म पदच्युत हुँदैन, अरु सुधारको कार्यक्रम गर्न सकिदैँन ।’ 

नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले आइतबार बिहान १० बजेदेखि ११ः३० बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्ना दिएको हो । 



धर्नाको क्रममा कानुन व्यवसायीहरुले ‘भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, बार एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराबाजी समेत गरेका थिए र
‘असक्षम र अनैतिक प्रधानन्यायाधीश राजीनामा दे, विधिको शासन कायम गर, न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ’ लगायतका प्लेकार्डहरू प्रदर्शन समेत गरिएका थिए । 

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेको समयमा सर्वोच्च परिसर बाहिर बार एसोसिएसनको विरोधमा केही व्यक्तिहरुले नाराबाजी गरेका थिए । लगत्तै बारको विरोधमा नाराबाजी गर्ने केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 



सर्वोच्चमा धर्नाको क्रममा बोल्दै बार एसोसिएसनका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले न्यायलयलाई किनबेचको बस्तु बनाएको आरोप लगाएका थिए । शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न बिचौलीयाहरु आएको भन्दै उनले विचौलियाहरुको सम्पती छानविन गरी जफत गर्ने चेतावनी दिएका थिए । 

‘चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीशको सिटमा बस्ने अधिकार छैन । उहाँले अधिकार गुमाइ सक्नुभएको छ । उहाँको प्रवेश न्यायपालिकालाई थप भ्रष्ट बनाउने हुन्छ । जबराले न्यायालयलाई किनबेचको वस्तु बनाएको छ । विचौलियाहरु होस् गर्नुस्, तपाईहरुले विचौलिया भएर जे कमाउनुभएको छ, त्यो कमाइको धन पनि छानविन हुन्छ । तपाईंहरुको सम्पती जफत हुने काम पनि सुरु हुँदैछ । छानविन हुँदैछ,’ श्रेष्ठले भने । 

बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने वैकल्पिक गेट बाट सर्वोच्च अदालत प्रवेश गरेका थिए । 

  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १३:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया