प्रदर्शन सुधारको आशामा ब्रिगेड ब्वाइज

सन् १९८७ मा स्थापना भएको ललितपुरको ब्रिगेड ब्वाइज नेपाली शीर्ष डिभिजनका लागि नयाँ क्लब हो ।  यो क्लबको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ र कप्तानमा अनिल गुरुङ छन । अनिल राष्ट्रिय टिमका पूर्वकप्तान पनि हुन् ।  

स्थापना भएको लामो समय बितिसक्दा पनि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।  

‘ए’ लिगमा ब्रिगेड ब्वाइजको प्रदर्शन

ब्रिगेड ब्वाइजले स्थापनाकालदेखि नै आफ्नो फुटबल यात्रा सुरु गरेको हो । सुरुमा ‘डी’ डिभिजन लिग खेलेको क्लबले सन् २०११ मा पहिलोपटक शीर्ष डिभिजनमा स्थान बनायो ।

शीर्ष डिभिजनमा उक्लिएको वर्ष ब्रिगेडको प्रदर्शन भने राम्रो हुन सकेन । यो सिजन ऊ १६ औँ स्थानमा रह्यो । र, ब्रिगेड दोस्रो डिभिजनमा घटुवा भयो । सन् २०१४ ‘बी’ डिभिजन विजेता भएपनि ब्रिगेडले दोस्रोपटक शीर्ष डिभिजन खेल्न भने  चार वर्ष कुर्नु पर्यो । 

सन् २०१४ देखि २०१८ सम्म विभिन्न कारणले लिग हुन सकेन । सन् २०१८/१९ को लिगमा ब्रिगेड १२ औँ स्थानमा रह्यो । सन् २०१९/२० को सिजनमा एन्फाले एक टोली मात्र रेलिगेसन पर्ने नियम बनाउँदा भाग्यमानी साबित भएको ब्रिगेडले १३ औँ स्थानमा रहेर पनि दोस्रो डिभिजनमा झर्नु परेन ।
 
यो सिजनमा सरस्वती युवा क्लब अन्तिम स्थानमा रहँदै ‘बी’ डिभिजनमा घटुवा भएको थियो । 



यसपटक फेरि ब्रिगेडले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ शीर्ष डिभिजनमा आफ्नो चुनौती प्रस्तुत गर्दैछ । यो सिजन उसले आफूलाई रेलिगेसनबाट बचाउला वा नबचाउला त्यो थाहा पाउन भने लिग नै कुर्नुपर्ने हुन्छ । 

कस्तो छ तयारी? 



ब्रिगेड ब्वाइजका अध्यक्ष लालकुमार पुन लिगका लागि क्लबले राम्रो तयारी गरिरहेको बताउँछन् । ‘लिगका लागि हामीले राम्रो तयारी गरिरहेका छौँ । हाम्रो लक्ष्य प्रदर्शनमा सुधार ल्याउनु हो, त्यसका लागि कडा मिहिनेत पनि गरिरहेका छौँ ,’ उनले फरकधारसँग भने ।

क्लबले लगनखेलस्थित बुद्धि विकास खेल मण्डलको मैदानमा दैनिक २ देखि ३ घन्टासम्म अभ्यास गरिरहेको छ ।

दाताहरूको सहयोगमा लिगको तयारी  

ब्रिगेडले एन्फाबाहेक केही दाताहरूको सहयोगमा लिगको तयारी गरिरहेको छ ।
‘हामीले लिगका लागि केही रकम विनियोजन गरेका छौँ’, पुनले भने, ‘त्यो रकम केही दाताहरूबाट प्राप्त हुन्छ तर दाताको नाम र रकम भने खुलाउन मिल्दैन ।’

पुनले मुख्य प्रयोजकसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । 

शीर्ष आठभित्र पर्ने लक्ष्य

ब्रिगेडले यसपटको लिगमा शीर्ष ८ भित्र अटाउने लक्ष्य राखेको छ । लिग इतिहासलाई हेर्ने हो भने १२ औँ स्थानमा रहनु ब्रिगेडको उत्कृष्ट प्रदर्शन हो त्यसैले उसलाई शीर्ष आठभित्र पर्न त्यति सहज भने छैन ।
 
‘हामीले शीर्ष आठभित्र पर्ने लक्ष्य लिएका छौं । यद्यपि त्यो त्यति सहज नभए पनि राम्रो तयारी गरेकाले असम्भव पनि छैन,’ पुनले भने ।  

बिग्रेडका चर्चित खेलाडी

ब्रिगेडमा रहेका सबैभन्दा चर्चा कमाएका खेलाडी हुन् कप्तान अनिल गुरुङ । सन् २००७ मा ओमानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले नेपालका लागि ५१ खेलमा १० गोल गरेका छन् । 

३५ वर्षीय स्ट्राइकर गुरुङले सन् २०१७ मा अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यास लिएका थिए ।  

युरोपको प्रतिष्ठित क्लब चेल्सीमा ट्रायल दिन पुगेका अनिलले सिलोङ लाजोङ एफसीबाट भारतको शीर्ष डिभिजन आई लिग पनि खेलिसकेका छन् ।  

थ्री स्टार, मनाङ मस्र्याङ्दी, न्युरोड टिम (एनआरटी) बाट पनि ‘ए’ डिभिजन लिग खेलिसकेका अनिलको अनुभवलाई ब्रिगेड ब्वाइज भरपुर सदुपयोग गर्न चाहन्छ । 

अनिललाई शिशिर लेखी, सुलभ मास्के, विजय गुरुङ जस्ता खेलाडीको साथ रहनेछ ।  

  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २०:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया