नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले अदालतमा भइरहेका घटनाले कांग्रेसलाई चिन्तित बनाएको बताएका छन् । बूढानीलकण्ठमा बसेको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘अदालतमा भएका घटनाले जनविश्वास र आस्थामा आघात पुगेको छ र यसमा नेपाली कांग्रेस चिन्तित छ । यो कुरालाई अदालतले नै आत्मसाथ गरेर उचित समाधान दिनुपर्छ,’ नेता सावदले भने ।
उनले अदालतसँग सम्बन्धित समस्या अदालतबाटै निराकरण हुनुपर्ने धारणा कांग्रेसको रहेको बताए । ‘अदालत स्वतन्त्र र स्वायत्त छ । यसको मर्यादाको संरक्षण हुने किसिमले अदालतबाटै यसबारेमा उचित निर्णय हुनुपर्छ,’ सावदले भने ।
राज्यको एउटा स्वतन्त्र निष्पक्ष अंगको बारेमा अर्को अंगले बोल्दा प्रजातन्त्रको संस्थागत विकास, संविधान र शक्ति पृथकीकरणको सिद्धान्तलाई टेवा नपुग्ने उनको तर्क छ । ‘त्यसकारण अदालतको विवाद अदालतबाटै टुंग्याउनुपर्छ । आन्दोलनकारी साथीहरूले बोल्दिनुपर्यो भन्नुभएको छ । तर हाम्रो मान्यता अदालतबाटै उचित निकास निकाल्नुपर्छ,’ सावदले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।