भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । आइतबार पोखरामा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका हुन् । 

‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्,’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सिर्जनाको पक्षमा समेत कलम चलाउन आग्रह गरे । 

सरकारले पहिलोपटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपांगता भएकाहरुको व्यवस्थापन, दलित आवासलगायत लोकहितकारी निर्णय गरेको उनले दाबी गरे । 

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आमञ्सचार प्रतिष्ठान गठनसम्बन्धी विधेयक पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।   

मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृृद्धि गर्न तालिम सञ्चालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए ।  



यसैबीच, नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्तासँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामको प्रचार–प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन निर्देशन दिए । 

सरकारले गरिबको पक्षमा, बिरामीको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, सहिद परिवारको पक्षमा, घाइते अपांगता भएकाहरुको पक्षमा अभूतपूर्व काम गरेको भन्दै उनले ती कामलाई पार्टी संगठन निर्माणमा उपयोग गर्न आग्रह गरे । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २०:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया