अचेल सामान्यतया मानिसहरूले योग भनेको शारिरिक व्यायाम हो भनेर गलत रूपमा बुझेका छन्- योग शारीरिक व्यायाम होइन । ‘योग’ को शाब्दिक अर्थ ‘मिलन’ वा ‘एक हुनु’ हो । अहिले हामीमाझ आधुनिक विज्ञानले यो सम्पूर्ण अस्तित्त्व एउटै ऊर्जा हो भनेर प्रमाणित गरिसकेको छ । तर, तपाईं भने यसलाई त्यस रूपमा अनुभव गरिरहनु भएको छैन । यदि तपाईंले आफ्नो छुट्टै अस्तित्व छ भन्ने भ्रमको जालोलाई हटाउन सक्नुभयो अनि आफूलाई अस्तित्वको एउटा अंशको रूपमा अनुभव गर्न सक्नुभयो भने, त्यही योग हो । तपाईंलाई त्यो अनुभवसम्म पुऱ्याउनको निम्ति थुप्रै तरिकाहरू छन् । आसनहरू तीमध्ये एउटा विधि हो ।
यसका थुप्रै आयाम छन् । यसलाई विभिन्न तरिकाले व्यक्त गर्न सक्छौं । यदि तपाईंले आफूलाई ध्यान दिनुभयो भने यो थाहा पाउनुहुनेछ कि तपाईं रिसाएको बेला एउटा तरिकाले बस्नुहुन्छ, जबकि खुसी भएको बेला अर्को तरिकाले बस्नुहुन्छ । यदि तपाईं उदास हुनुहुन्छ भने अर्कै तरिकाले बस्नुहुन्छ । तपाईंको चेतना, मन वा भावनाको अवस्था जस्तो हुन्छ, सोहीअनुसार तपाईंको शरीर बेग्लाबेग्लै आसनहरूमा रहन्छ । यसको ठीक विपरीत पाटो भनेको योग-आसनको विज्ञान हो । यदि तपाईंले सचेतनपूर्वक आफ्नो शरीरलाई विभिन्न आसनहरूमा लैजानुभयो भने तपाईं आफ्नो चेतनालाई माथि उठाउन सक्नुहुन्छ । यो शरीरले कसरी काम गर्छ भनेर बुझ्नु, एउटा निश्चित वातावरण सृजना गर्नु तथा आफ्नो शरीरको प्रयोग गरेर ऊर्जालाई निश्चित दिशामा अगाडि बढाउनु नै आसनहरूको ध्येय हो ।
योग भनेको व्यक्तिपरक तकनिकी हो; यो वस्तुपरक होइन । चाहे कोही ढाड दुख्ने समस्याबाट छुटकारा पाउनको लागि आऊन् वा रहस्यमय आयामहरूलाई गहिराइमा खोज गर्न आऊन्, हामी उनीहरूलाई एउटै अभ्यास सिकाउँछौं । किनकि त्यसलाई अवलम्बन गर्ने शैलीमा हुने परिवर्तनले नै त्यही उपकरण भिन्न मानिसहरूका निम्ति भिन्न रूपमा प्रस्तुत हुन्छ ।
तसर्थ जब तपाईंको हातमा केही यस्तो कुरा सुम्पिइन्छ, जुन तपाईंले अहिले बुझ्न सक्नेभन्दा निकै बढी गहन र गूढ छ, तब तपाईंले आफूलाई निश्चित अवस्थामा राख्नु अत्यन्तै अपरिहार्य छ- आफू स्वयंभन्दा आफ्नो अगाडि बसिरहेको व्यक्ति बढी महत्त्वपूर्ण हुनुपर्छ । यसलाई उपासना भनिन्छ । उपासना अर्थात् तपाईं मुख्य आसनमा बसिरहनु भएको हुँदैन; अब आफ्नो जीवनमा तपाईं आफूभित्र उप-आसनमा बस्न रोज्नुहुन्छ । जो व्यक्तिले योग सिकाउन चाहन्छन्, उनको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूलाई गाैण बनाउनु हो- त्यहाँ उपस्थित हुने, तर आफूलाई गौण राख्ने । यदि तपाईंले यति गर्न सक्नुभयो भने, तपाईंको बुझाइ र अनुभवभन्दा पर रहेका आयामहरू खुल्न थाल्नेछन् । अनि, यो तपाईंको निम्ति सबैभन्दा ठूलो आशीर्वाद हुनेछ। किनभने यदि तपाईंले स्वयंभन्दा निकै माथि रहेको कुरा आफूमा हुन दिन सक्नुभयो भने मनुष्यको लागि त्यो नै सबैभन्दा विशाल कुरा हो ।
योग एकदमै प्रतिबद्ध र सुरक्षित वातावरणमा गरिनुपर्छ, किनभने यो जीवन रूपान्तरणको निम्ति उल्लेखनीय साधन हो । यदि कुनै कुरामा रूपान्तरण गर्ने शक्ति हुन्छ भने त्यसलाई जथाभावी प्रयोग गरिएमा त्यसले क्षति समेत पुऱ्याउन सक्दछ ।
तथापि मानिसहरूले उप-योगको अभ्यास गर्न सक्छन्, जसले शारीरिक र मानसिक लाभ प्रदान गर्छ, तर आध्यात्मिक आयामलाई भने छुँदैन । उप-योगको लागि योगमा जस्तो प्रतिबद्धता चाहिँदैन, साथै यसमा अलिकति यताउता भयो भने पनि यसले नकरात्मक असर गर्दैन । किनभने यो यति सरल छ कि तपाईं यसलाई जथाभावी गर्नै सक्नुहुन्न !
आजभोलि उपयोग शब्दलाई "काम लाग्ने" भन्ने अर्थमा प्रयोग गरिन्छ । तर, यसको वास्तविक अर्थ सहायक योग अर्थात पूर्व-योग हो । तपाईं यसलाई पाँच मिनेटमै सिक्न सक्नुहुन्छ अनि जहाँसुकै यसको अभ्यास गर्न सक्नुहुन्छ । व्यापक रूपमा अधिकांश मानिसहरूमाझ योग पुऱ्याउनको लागि उप-योग सुरक्षित अभ्यास हो । जब मानिसहरूले उप-योग गरेर यसका फाइदाहरू अनुभव गर्छन्, तब उनीहरू स्वाभाविक रूपमा अझ गहिरो रूपमा योग सिक्न चाहनेछन् र त्यसबेला नै मानिसहरूको जीवनमा योगको आगमन हुनु उचित हुनेछ ।
कुनै पनि कुरा लोकप्रिय हुँदै जाँदा, त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्ने सम्भावना रहेको हुन्छ । हामीहरू त्यसबाट विचलित हुन जरुरी छैन । तर के उनीहरूले सही तरिकाले सिकाइरहेका छन् ? त्यसमा प्रश्न उठाउन सकिन्छ । केहीले उचित तरिकाले सिकाइरहेका छन् जबकि केहीले आफ्नै तरिकाले । योगलाई व्यावसायिक रूपमा प्रयोग गर्न खोजिएकोले नै यस्ता अनेक थरीका योगहरूको जन्म भएको हो । तर सतही रूपमा मात्रै यसलाई बंग्याउँदै लगिएको छ । योगको मूल प्रकृतिमा कुनै पनि विचलन भएको छैन ।
प्राचीन कालमा अध्यात्मिक अभियानहरूमा गुण नियन्त्रणको प्रक्रिया हुने गर्थ्यो । तर ती कुराहरू लोप हुँदै गएका छन् । यही कारण अहिले अनेक थरीका हास्यास्पद योगहरू जन्मिएका छन् । कुनै पनि अभ्यासको मूल्यांकन गर्नको लागि त्यसले तपाईंको निम्ति काम गरिरहेको छ वा छैन भनेर हेर्नुपर्ने हुन्छ । तपाईंलाई जे प्रदान गरिएको छ त्यसलाई आफ्नो जीवनमा प्रयोग गरेर हेर्नुहोस्- यदि काम गरिरहेको छ भने जारी राख्नुहोस्, अन्यथा त्यसलाई छोडेर अर्को कुराको खोजी गर्नुहोस् ।
योग भनेको बिहान-बेलुकी गरिने अभ्यास होइन । अवश्य पनि यसमा अभ्यास हुन्छ । तर अभ्यास मात्र सबैथोक होइन । तपाईंको जीवनको हरेक पाटोमा योग हुनुपर्छ- तपाईं जसरी हिँड्नुहुन्छ, जसरी श्वास फेर्नुहुन्छ, अरूसँग जसरी अन्तरक्रिया गर्नुहुन्छ, सबै पक्षहरू योगको प्रक्रिया बन्नुपर्छ । यसमा केही पनि छुट्नु हुँदैन ।
वास्तवमा भन्नुपर्दा, योग तपाईंले गर्ने कुरा होइन; तपाईं स्वयं योगमा रहनुपर्छ । योग कुनै कार्य होइन; यो त गुण हो । यदि तपाईंले आफ्नो शरीर, मन, भावना र जीवन ऊर्जाहरूमाथि काम गरेर तिनलाई परिपक्व बनाउँदै लैजानुभयो भने तपाईंभित्र एउटा विशेष गुणको उदय हुन्छ । त्यही योग हो । के अभ्यासहरूले त्यो गुण ल्याउन सहायता गर्छन् ? निश्चय पनि, तर हामी तपाईंलाई केही मिनेटको लागि गर्ने अभ्यासको रूपमा योग सिकाउँदैनौं ।
यदि तपाईंले बगैँचाको राम्रो हेरचाह गर्नुभयो भने स्वतः फूलहरू फुल्नेछन् । त्यसैगरी यतिखेर तपाईं जसलाई ‘म’ भन्नुहुन्छ, त्यसको उचित हेरचाह गर्नुभयो भने, यो पनि प्रस्फुरित हुनेछ । यसको अर्थ के हो भने, शान्त रहनु, खुसी रहनु, आनन्दित रहनु जस्ता कुराहरू बाहिरी परिस्थितिहरूले निर्धारण हुने होइन- यो तपाईंबाटै निर्धारित भइरहेको हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो लागि त्यति त गर्नैपर्छ ।
-सदगुरुको प्रवचनमा आधारित न्युज कारखानाले तयार पारेकाे सामग्री
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।