वैद्यको भरमा प्रदेशस्तरीय औषधालय !

जुम्ला– तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय झन्डै तीन वर्षदेखि चिकित्सकविहीन छ । तत्कालीन कर्णाली अञ्चलले हालको कर्णाली प्रदेशको अधिकांश भाग समेट्छ । 

०७२ मंसिरमा डा. रमेश केसी सरुवा भएर गएको केही समयपछि अस्थायी रूपमा आएका चिकित्सक विवेक गुप्ता एक महिना पनि काम नगरी गएपछि अहिलेसम्म औषधालयमा कुनै चिकित्सक छैनन् । यहाँ आयुर्वेद चिकित्सक आठौँ तहको दरबन्दी छ । 

हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या आउने वरिष्ठ वैद्य न्यौपाने बताउँछन् । 

चिकित्सक नभएपछि औषधालयमा शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ । ‘न्यूनतम शुल्कमा पायल्स, घाउ, खटिराको शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन,’ उनी भन्छन् । आयुर्वेद विभागमा पटकपटक पत्राचार गरेर चिकित्सक पठाइदिन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ । 

वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । ‘त्यसैले चिकित्सक पठाइदिन वेलावेलामा ताकेता गरेका छौँ । चिकित्सक आउनुभए सहज हुन्थ्यो,’ उनी भन्छन् । 

हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच कर्मचारी कार्यरत छन् । एक वैद्य, एक आयुर्वेद सहायक, एक सहलेखापाल र दुई कार्यालय सहयोगी छन् । चिकित्सकको पद मात्रै रिक्त छ । 



औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न आउँछन् । समयमा औषधि आउँदैन, औषधिका लागि न्यून बजेट विनियोजन गरिएकाले समस्या हुने गरेको छ । धेरैजसो कमलपित्त, श्वासप्रश्वास, स्त्रीरोग, पायल्स, बाथ, मूत्रविकार, छालासम्बन्धी बिरामी उपचारका लागि आउने गर्छन् । कमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ । जिल्लाका सातवटै गाउँपालिका र डोल्पा मुगु, कालिकोटसम्मका बिरामी यहाँ आउने गर्छन् । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार १३:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया