कालिञ्चोक गाई फार्म : यसकारण असफल, स्थानीयले नपाउने भए जग्गा फिर्ता

दक्षिण एसियाकै ठूलो गाई फार्म बनाउने उद्देश्यसहित १० वर्षअघि दोलखामा सुरू गरिएको कालिञ्चोक गाई फार्म गाई नै हाल्न नसकेर असफलताको उदाहरण बनेको छ । 

भीमेश्वर नगरपालिका–८ बोचमा करिब १५ करोड लगानीमा सुरु गरिएको गाई फार्ममा बाख्रा मात्रै पाल्न थालिएको छ । ६ वटा सामुदायिक वनको करिब तीस हजार रोपनी जग्गा गाई फार्मको नाममा लिएको एक दशक नाघिसकेको छ । 

स्थानीयलाई रोजगारी, आम्दानीको लोभ र भ्रम छरेर स्थानीयको पाँच सय रोपनी समेत हडपेर बाँडिएको सपना ‘सपना’ मा मात्रै सीमित भएको छ । 

स्थानीयले दश वर्षसम्म न गाई देख्न पाए न आफ्नो जग्गाको मुअब्जा नै पाए । निःशुल्क रुपमा जग्गा दिएका स्थानीयले गाई फार्ममा गाई नभएपछि पछिल्लो समय जग्गा फिर्ताको लागि अभियान थाले पनि कागजी रुपमा गाई फार्मको नाममा दर्ता भइसकेकाले स्थानीयले जग्गा पाउने सम्भावना टरेको जिल्ला मालपोत कार्यालय दोलखाले जनाएको छ ।

नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष एवं कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले गाईको नाममा वन र स्थानीयको जग्गा मात्रै हडपेर आलु उत्पादन गर्दै व्यापार गर्ने गरेका छन् ।  

स्थानीय र सरकारका प्रतिनिधिलाई दैनिक डेढ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६ सय गाई पाल्ने योजना सुनाएका थिए । तर, यहाँ जग्गा सम्याएर आलु मात्रै उत्पादन गरेर बेच्ने गरेको स्थानीय कुमार लामाको भनाइ छ ।  



२०६८ देखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र मात्रै छाडेनन् जनताको चासो र अपेक्षाप्रति समेत घात गरेको स्थानीयको आरोप छ । पब्लिक प्राइभेट पार्टनरसिप पद्धतिबाट सुरु गरिएको गाई फार्ममा सरकार र फार्मको संयुक्त लगानीमा १५ करोड लगानी भएको छ ।  

गाईपालनका लागि अत्याधुनिक गोठ बनेका छन् । जंगल मासेर भव्य कटेज बनेका छन् । ठूला रूख काटेर घाँस खेतीका लागि बारी बनाइएका छन् । 



फरकधारको फलोअप समाचारमा सञ्चालक खड्काले कात्तिक अन्तिममा गाई हाल्ने प्रतिबद्धता गरे पनि कुनै गाई हाल्ने मेलो मेसो देखिएन । उनले फरकधारसँग कुरा गर्दै भने, ‘तयारी गरेका थियौं। तर, सकिएन । घाँसको सम्भावना छैन कसरी हाल्ने गाई ।’ अहिले गाई फार्मको नाममा बाख्रा पालन थालिएको छ । 

नेदरल्यान्डबाट गाई ल्याउने योजना तुहियो 

फार्म सञ्चालक रामकुमार खड्काले नेदरल्यान्डबाट गाई ल्याउने योजना सुनाएका थिए । नेदरल्यान्डको एउटा कम्पनीले कोलकातासम्म १२ सय डलरमा गाई हस्तान्तरण गर्ने प्रतिबद्वता जनाएको बताएका थिए । 

नेदरल्यान्डबाट आउने गाईले दैनिक ३० लिटर दूध दिने उनको ग्यारेन्टी थियो । उनले नेदरल्यान्डबाट नै ६ महिनाका लागि घाँस ल्याउने कथा १० वर्षअघि नै सुनाएका थिए ।

गाई दुनको लागि डेढ करोडकै मिल्किङ पार्लर समेत ल्याउने योजना सुनाएका थिए । जबकि यो उनको योजना योजनामा मात्रै सीमित भएको छ । 

स्थानीय जनप्रतिनिधि मौन 

भीमेश्वर नगरपालिकाभित्र पर्ने नगरले गौरव गर्न लायक यस गाई फार्ममा ध्यान नदिएकै कारण पनि असफल भएको स्थानीयहरुको भनाइ छ । वडाअध्यक्ष, भीमेश्वर नगरका मेयर, उपमेयर लगायतका नेतृत्व पंक्ति तै चुप मै चुप भएकै कारण असफल भएको स्थानीयको ठम्याइ छ । 

यस्तै जनप्रतिनिधि र राजनीतिक दलका नेतृत्वसहित वनका पदाधिकारीबीचको सेटिङका कारण खड्काले एकाधिकार रुपमा वन र व्यक्तिको जग्गा हडपेर बोचबासीमाथि शासन चलाएको स्थानीय सोमबहादुर तामाङको भनाइ छ ।

यो पनि पढ्नुहोस्

नेताहरूको स्वार्थ नमिल्दा चार करोड रुपैयाँ फ्रिज, कालिञ्चोक गाई फार्म अलपत्र 

कालिञ्चोक गाई फार्मका प्रमुख खड्काले उपसेनानीलाई अध्यक्ष बनाएर २० लाख लिएपछि...

१५ करोडको कालिञ्चोक गाई फार्म १० वर्षदेखि अलपत्र, स्थानीयलाई झुक्याएर जग्गा मात्रै लिइयो

कालिञ्चोक गाई फार्म : अनुमतिबिनै निजी जग्गामा डोजर

कालिञ्चोक गाई फार्मको नाममा स्थानीयको जग्गा कति छ ?

 

  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १३:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया