मन्त्रीकै वडामा रोकियो वडा अधिवेशन

धनुषाको अधिकांश स्थानीय तहका वडाहरूमा सहमतिमै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइरहँदा प्रदेशका एक मन्त्रीकै वडामा भने अधिवेशन स्थगित भएको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको दुई वडामा अधिवेशन स्थगित भएको हो ।

साविकको बहेडाबेला र हाल मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-३, ५ र ६ मा वडा अधिवेशन हुन नसकेको बताइएको छ । 

मन्त्री यादवले त्यहाँका कांग्रेसका पुराना नेता कार्यकर्तालाई तह लगाउने व्यवहार प्रदर्शन गरेको आरोप लगाइएको छ । 

वास्तविक कार्यकर्तालाई काखापाखा गरी नातागोतालाई प्रश्रय दिन थालेपछि आफूहरूले वडा अधिवेशन बहिष्कार गरेको पार्टीका एक स्थानीय नेताले बताए ।

उनले भने, ‘उहाँ भुँइतहमा खटिने कार्यकर्ताहरूलाई तह लगाउने हिसाबले अगाडि बढिरहनु भएको छ । भाइ भतिजाप्रति उहाँको सदभाव देखियो । वास्तविक कार्यकर्तालाई पछाडि पार्न खोजिरहनु भएको छ । त्यसैले हामीले अधिवेशन बहिष्कार गरेका हौं ।’



अघिल्लो स्थानीय तहको निर्वाचनमा बागी भएर चुनाव लडेकामध्ये केहीको कारबाही फिर्ता गरी एकजनाको यथावत राख्न मन्त्री यादवले दबाब दिएको स्थानीय कार्यकर्ताहरूको आरोप छ ।

गत स्थानीय तहको निर्वाचनमा मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बागी भएर विश्वनाथ यादव अध्यक्ष, जयकुमार यादव उपाध्यक्ष र फुलगेन यादव वडा सभापतिमा चुनाव लडेका थिए । तीमध्ये विश्वनाथ र फुलगेनको कारबाही फिर्ता भएको छ भने जयकुमारलाई यथावत राखिएको छ। 



गाउँपालिकाका स्थानीय जनताबीच बलियो पकड भएका जयकुमारको कारबाही यथावत राख्न मन्त्री यादवले दबाब दिइरहेको त्यहाँका कांग्रेस कार्यकर्ताहरूको भनाइ छ । सबैजना माथिको कारबाही फिर्ता नभएसम्म वडा अधिवेशन हुन नदिने उनीहरूले अडान लिएका छन् ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १३:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया