नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि जनाएका छन् ।
उनले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा असन्तुष्टि जनाएका हुन् । कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले बूढानिलकण्ठ नदेखेको झैं गरेर देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए ।
उनले देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशन मान्य नहुने चेतावनीसमेत दिए । नेता सिंहले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेल्धुरामा गरिएको अधिवेशन मान्न नसकिने बताए ।
‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा बस्छ, हिजो मैले कार्यालयमा राख्नु पर्यो भने । भवनको के काम? बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या? उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थेऊ नि त । अनि एक महिना नाघि सक्यो–रौतहटका साथीहरू धर्ना बसेको बस्यै । के दसैँ, के तिहार, के छठ? पार्टी कार्यालयमा छिँडीमा बसेको बस्यै छ । मैले भने कि किन यस्तो गर्छौं केन्द्रीय कार्य समितिले त सर्वसम्मत निर्णय गरेको हो,’ सिंहले भने ।
उनले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।
‘जुन जिल्ला, जुन क्षेत्रको जुन वडाको जहाँ समस्या छ । विधि र नियमअनुसार सम्बोधन गर्न प्रयास गरौंं, एक्टिभ मेम्बरसिपमा विवाद भयो भने । होइन भने समय बित्न लाग्यो भने स्थगनमा राखौं । र पूरानैबाट गरौं भनेर त सर्वसम्मतिले पारित गरेको छ नि । यहाँ त अरू पार्टीबाट प्रवेश गरेको नाममा, समायोजनको नाममा निर्वाचन अधिकृत खटिसकेको छ । भोटलिष्टमा समायोजनको लिष्ट एउटा छ, समायोजनको लिष्टमा नभएका नामहरू राखेर पर्सादेखि विशेष गएर प्रदेश २ मा त्यस्तो भइराखेको छ । अरे बाबा के गर्ने, हाम्रै पार्टी सभापतिको गृह जिल्लामा के गर्नु भयो? के राम्रो भएको छ? अहिले उहाँले सुनिराख्नु भएको छ नि त,’ सिंहले भने ।
उनले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे । नेता सिंहले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरूले राजनीतिक न्यायको खोजी गर्नुपरेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।