अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको, ११ हजारभन्दा बढी नेपाली अमेरिकामा अध्ययन गर्दै

कोरोना महामारीका बावजुद पनि अमेरिकामा अध्ययन गर्न जाने नेपालीको संख्या निकै ठूलो रहेको पाइएको छ ।

ओपन डोर रिपोर्ट २०२०/२०२१ अनुसार अमेरिकामा गत आर्थिक वर्ष ११ हजार १७२ जना नेपाली विद्यार्थी स्नातक तथा स्नातकोत्तर अध्ययन गरिरहेका छन्, जुन अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा १२औं ठूलो संख्या हो । 

अर्थात, अमेरिकामा अध्ययन गर्न जाने १२औं ठूलो संख्या नेपाली विद्यार्थीको रहेको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार आर्थिक वर्ष २०२०/२१ मा विश्वका २०० देश तथा क्षेत्रबाट ९ लाख १४ हजार ९५ जना अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनको लागि अमेरिकी शैक्षिक संस्था रोजेका थिए । 

‘९ लाख १४ हजार ९५ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्दै संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि शीर्ष गन्तव्यमा रहेको छ,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

ओपन डोर रिपोर्ट २०२०/२०२१ अनुसार अघिल्लो आर्थिक वर्ष २०१९/२० मा भन्दा २०२०/२१ मा अमेरिकामा अध्ययन गर्नको लागि भर्ना हुने नेपाली विद्यार्थीको संख्या १२.२ प्रतिशतले घटेको छ । 



आर्थिक वर्ष २०१९/२० मा १२ हजार ७३० जना नेपाली विद्यार्थीले अध्ययनको लागि अमेरिकामा रहेका शैक्षिक संस्थामा भर्ना भएका थिए । आर्थिक वर्ष २०२०/२१ मा यो संख्यामा १ हजार ५५८ कमी आएको रिपोर्टले देखाएको छ । 

अमेरिकामा अध्ययनरत कूल अन्तर्राष्ट्रिय विद्यार्थीको १.२ प्रतिशत हिस्सा नेपाली विद्यार्थीको रहेको छ । 



विश्वस्तरीय शिक्षा, प्राध्यापक, नेतृत्वका कारण नेपाली विद्यार्थीहरूको लागि अमेरिका लोकप्रिय गन्तव्य बनेको दूतावासले जनाएको छ । 

‘विश्वव्यापी महामारीले अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्र र विश्वभरका विद्यार्थीको गतिशीलतामा असर गरेको छ । योबीचमा पनि अमेरिका खुला रह्यो र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्यो । अमेरिकी सरकार र अमेरिकी उच्च शैक्षिक संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा, अनलाइन र नयाँ सिकाइ विधिहरू मार्फत सुरक्षित रूपमा स्वागत गर्न धेरै लचकता अपनाएका थिए,’ दूतावासले भनेको छ । 

विश्वव्यापी संकटको समयमा पनि अमेरिकाले विद्यार्थीहरूलाई अवसर र स्रोतहरू उपलब्ध गराएको दाबी दूतावासले गरेको छ । 

अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमा सबैभन्दा बढी क्रमशः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, साउदी अरेबिया, ताइवान, भियतनाम, ब्राजिल, मेक्सिको, नाइजेरिया, जापान र नेपालका रहेका छन्। 

रिपोर्टका अनुसार गत आर्थिक वर्ष अमेरिकामा भर्ना भएका कूल अन्तर्राष्ट्रिय विद्यार्थीमा ३४.७ प्रतिशत चिनियाँ, १८.३ प्रतिशत भारतीय, ४.३ प्रतिशत दक्षिण कोरियाली, २.८ प्रतिशत क्यानाडेली रहेका छन् । 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १२:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया