[सम्पादकीय] राजनीतिक दाउपेचको सिकार स्वास्थ्य संस्था

स्वास्थ्य र शिक्षामा अति कमजोर रहेको जुम्लाले विस्तारै मुहार फेर्न लाग्दा फेरि राजनीतिक दाउपेच सुरु भएको छ । पहिलो पटक एमबिबिएसको पढाइ गर्न स्वीकृति पाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले भाँजो हाल्न खोजेका छन् । 

प्रतिष्ठानमा एमबिबिएसलगायतका कक्षा सुरु गर्न र त्यहाँको स्वास्थ्यसेवा चुस्त पार्न लागिपर्दै आएका उपकुलपति डा. मंगल रावललाई हटाएर खतिवडाले डा.निमेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिन ठाडो आदेश दिनुले उक्त संस्थामा राजनीतिक दाउपेच प्रवेश गरेको बुझ्न सकिन्छ ।

डा.रावललाई हटाएर अर्का व्यक्तिलाई जिम्मेवारी दिएको विषयमा प्रतिष्ठानमा कार्यरत अधिकांश कर्मचारीले विरोध जनाएका छन् । मन्त्री खतिवडाको कदम राजनीतिक प्रतिशोध भएकाले त्यसलाई तत्काल सच्याउन उनीहरुले माग पनि गरेका छन् । माग सुनुवाइ नभए अदालतसम्म जाने उनीहरुको तयारी छ । 

तत्कालीन केपी शर्मा ओली सरकारले २०७७ चैत १२ गते डा. रावललाई उपकुलपतिमा नियुक्त गरेको थियो । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि सर्वोच्चले डा. रावलको नियुक्ति कानुनसम्मत भएको ठहर गरेको थियो । अहिले आएर स्वास्थ्यमन्त्री खतिवडाले आफ्नो रोजाइका व्यक्तिलाई उपकुलपति बनाउन दाउपेच थाल्नुले बामे सर्दै गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै कतै लड्खडाउने त होइन भन्ने आशंका उत्पन्न हुन पुगेको छ ।

कर्णाली उसै पनि सत्ताको नजरमा नपरेको क्षेत्र हो, त्यो हेपिएको ठाउँमा एमबिबिएस तहको पढाइ हुनु र स्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने पहल हुनु स्वागतयोग्य कार्य हो । यसलाई ओली सरकारले गरेको एउटा राम्रो काम मान्न सकिन्छ । यतिमात्र होइन, डा. रावलले प्रतिष्ठान सुधारका साथै अन्य थुप्रै कामकारवाही आरम्भ गरिसकेका थिए ।

डा. रावल पदबाट हटाइनु र डा.थापालाई उपकुलपतिमा ल्याइनुको अन्तर्य नेकपा एमालेको फुटसँग जोडिन पुग्छ । अहिले एमालेबाट चोइटिएर नेकपा (एकीकृत समाजवादी– एस) जन्मिएको छ । ओली सरकार ढलेपछि बनेको शेरबहादुर देउवा सरकारमा नेकपा एस सहभागी छ र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् सोही पार्टीका विरोध खतिवडाले । उनले राजनीतिक प्रतिशोध साध्नकै लागि पहिलो प्रहार गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्यसका उपकुलपतिमाथि । 



उनी उक्त पदमा आफ्नो पार्टीका मान्छे भर्ती गर्न चाहन्छन् । उनलाई प्रतिष्ठान सुधार र त्यसको विगतबारे कुनै लेनादेना छैन, बस् आफ्नो मानिस नियुक्ति गर्नु छ र उनकै पूर्वपार्टी एमालेसँग राजनीतिक प्रतिशोध साध्नु छ !

उता, देशकै ठूलो अस्पताल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिनौंदेखि चिकित्सक तथा कर्मचारी आन्दोलित छन् । त्यहाँका शीर्ष पदाधिकारीको भ्रष्टाचारी आचरण र खराब कार्यशैलीविरुद्ध उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बिपी प्रतिष्ठानमा अध्ययन गरिरहेका विभिन्न तहका विद्यार्थीमात्रै होइन, उपचार गराउन जाने विरामीसमेत मर्कामा परेका छन् । उक्त प्रतिष्ठान एक नम्बर प्रदेशका साथै पूर्वका अधिकांश जिल्लाका मानिसको एकमात्र भरपर्दो अस्पतालका रुपमा परिचित छ ।



समस्याले गाँजिएको बिपी प्रतिष्ठानमा सरकारले लिनुपर्ने कदमबारे स्वास्थ्यमन्त्री खतिवडाको कुनै चासो छैन । तर आफ्नो गतिमा सुचारु भइरहेको र राम्ररी अघि बढिरहेको कर्णाली प्रतिष्ठानमा उनले जसरी हात हालेका छन्, त्यसले खतिवडाको राजनीतिक करिअर मात्र होइन, भर्खरै जन्मिएको शिशु पार्टी नेकपा एसलाई पनि असर गर्नेछ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नेपाली राजनीतिमा विधिविधान पालना गर्ने नेतामा गनिन्छन् । तर उनकै पार्टीका जिम्मेवार मन्त्रीले यति खराब कदम चाल्दा पनि अध्यक्ष नेपाल चुपचाप बस्नु कुनै पनि हालतमा उचित हुँदैन । कम्तीमा पनि राम्रो काम गरिरहेकामाथि राजनीतिक प्रतिशोध साध्ने काममा माधवकुमार नेपालले रोक लगाउन् र आफ्ना स्वास्थ्यमन्त्रीलाई बिपी प्रतिष्ठानको किचलो अन्त्य गरी पठनपाठनका साथै उपचार सेवा सुचारु गर्न निर्देशन दिउन् ।  
 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १२:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया