सन् १९७२ मा स्थापना भएको ललितपुरको फ्रेन्ड्स क्लबले छोटो समयमै शीर्ष डिभिजनको यात्रा तय गरेको थियो ।
स्थापनाको तीन वर्षपछि नै शीर्ष लिग खेल्न थालेको भए पनि फ्रेन्ड्स ले उपाधि भने हात पार्नसकेको छैन । यसपटक पनि फ्रेन्ड्सले उत्कृष्ट प्रदर्शन गर्ने आशाका साथ लिगमा आफ्नो चुनौती पेस गर्दैछ ।
‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सको प्रदर्शन
फ्रेन्ड्सले सन् १९७५ देखि शीर्ष डिभिजन खेल्न थालेको हो । हालसम्म लिग उपाधि उचाल्न नसके पनि ऊ ५ पटक उपविजेता बनेको छ ।
फ्रेन्ड्सले शीर्ष लिग खेल्न थालेको लामो इतिहास भए पनि यहाँ सन् २००० पछिको मात्र रेकर्ड समावेश गरिएको छ । फ्रेन्ड्स सन् २०००, सन् २०१८/१९ तथा सन् २०१९/२० को पछिल्लो संस्करणमा ११ औँ स्थानमा थियो ।
सन् २००३/०४ र २००४ को सिजनमा पाँचौं स्थानमा रहेको फ्रेन्ड्सले २००५/०६ मा १२ औँ स्थान हासिल गरेको थियो । फ्रेन्ड्स सन् २००६/०७ तथा २०११/१२ को सिजनमा सातौँ स्थानमा रहँदा २०१२/१३ को सिजनमा चौथो स्थानमा रह्यो ।
२०१० र २०१३/१४ को सिजनमा आठौँ स्थानमा रहेको फ्रेन्ड्सले सन् २०११ को सिजनमा छैटौँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।
लिगका लागि कस्तो छ तयारी?
फ्रेन्ड्सले लिगका भनेर दैनिक ३ घण्टा अभ्यास गरिरहेको छ । लिगमा उसको लक्ष्य उत्कृष्ट प्रदर्शन गर्दै ठूला क्लबलाई चुनौती खडा गर्नु हो ।
‘लिगका लागि हाम्रो तयारी निकै राम्रो छ, टिमका व्यवस्थापक’, अरविन्द्र सिंहले फरकधारसँग भने, ‘हामीले दैनिक ३ घण्टा पुलचोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा अभ्यास गरिरहेका छौँ ।’
उनले टोलीको अभ्यास राम्रो भएकाले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको बताए ।
लिगका लागि डेढ करोड
फ्रेन्ड्सले लिगका लागि डेढ करोड विनियोजन गरेको छ । उसले यो रकम आन्तरिक स्रोत, स्पोन्सरसिप तथा केही सहयोगदाताबाट व्यवस्थापन गरेको हो ।
‘हामीले लिगका लागि डेढ करोड विनियोजन गरेका छौँ,’ व्यवस्थापक सिंहले भने , ‘यो रकम हाम्रो क्लब भवनबाट उठेको भाडा, विभिन्न स्पोन्सरसिप तथा स्थानीयको सहयोगबाट ब्यवस्थापन हुँदै आएको छ । ’
फ्रेन्ड्सलाई किट् स्पोनसरका रूपमा युक्यानले साथ दिएको छ । त्यस्तै, कृषि विकास बैंक, नेपाल इनभेसमेन्ट बैंकलगायत प्रायोजकका रूपमा जोडिएका छन् । मुख्य प्रायोजकसँगको सम्झौता भने केही दिनमा पूरा हुने सिंहले जानकारी दिए ।
शीर्ष ६ भित्र अटाउने लक्ष्य
पछिल्लो समय लय गुमाउँदै गएको फ्रेन्ड्स क्लबले यसपटक शीर्ष ६ भित्र अटाउने लक्ष्य लिएको छ । ‘सकेसम्म त हाम्रो लक्ष्य लिग उपाधि उचाल्ने नै हुनेछ’, सिंहले भने, ‘तर कम्तिमा पनि शीर्ष ६ भित्र पर्ने लक्ष्य लिएका छौँ ।’
‘टोलीमा विदेशी र स्वदेशी खेलाडीबीच राम्रो तालमेल भइरहेको छ । लिगका लागि मिहिनेत पनि गरेका छौँ’, सिंहले थपे, ‘त्यसैले शीर्ष ६ भित्र त परिन्छ भन्ने विश्वास छ ।’
फ्रेन्ड्समा रहेका स्टार खेलाडी
फ्रेन्ड्समा नेपाली फुटबलमा खासै नाम कमाएका खेलाडी छैनन् । उसँग भएकामध्ये कप्तान प्रकाश बुढाथोकी नै सर्वाधिक चर्चा कमाएका खेलाडी हुन् ।
२८ वर्षीय मिडफिल्डर प्रकाशले थ्री स्टार क्लबबाट पनि ‘ए’ डिभिजनको अनुभव लिइसकेका छन् । उनले नेरोका एफसीबाट भारतको शीर्ष डिभिजन आइ लिग पनि खेलेका थिए ।
प्रकाशले नेपाली राष्ट्रिय टोलीका लागि ६ खेल खेल्दा ४ गोल गरेका छन् । उनले सन् २०१३ मा बंगलादेशविरुद्धको खेलबाट अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका थिए ।
यसपटकको लिगमा फ्रेन्ड्स प्रकाश तथा विदेशी खेलाडीमा बढी निर्भर देखिन्छ । प्रकाशलाई सुरज बिक, प्रिजेन तामाङलगायतको साथ रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।