तीन सातापछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ हुन थालेको छ । आज न्यायाधीश तेजबहादुर केसीको इजलासमा २८, प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको संयुक्त इजलासमा एउटा र बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासमा चारवटा मुद्दाको सुनुवाइ भएको छ ।
न्यायाधीशद्वय मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलास बसे पनि निवेदकको कानुन व्यवसायीबाट स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आठ संयुक्त र दुईवटा एकल इजलास तोकेका थिए । जसमध्ये आज ६ वटा इजलास बस्न सकेन ।
८ कात्तिक यता बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्रै सर्वोच्चमा सुनुवाइ हुँदै आएको थियो । अन्य मुद्दाहरूको पेसी तोकिए पनि इजलासमा सुनुवाइ हुने गरेको थिएन ।
न्यायाधीशहरू जबरा कार्यपालिकासँग भागबण्डामा सामेल भएको र न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनअनुसार भ्रष्टाचार, विकृति÷विसंगती नियन्त्रणका लागि स्वचालित वा गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने विषयमा गम्भीर नबनेको भन्दै उनको अवज्ञामा उत्रिएका हुन् ।
अवज्ञामा उत्रिएका १५ जनामध्ये पाँच जना न्यायाधीश भने इजलासमा फर्केका छन् । यससँगै न्यायाधीशहरू इजलास फर्किने देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।