ताइवानमा अल्झेको चीन–अमेरिका सम्बन्ध, सीको चेतावनी– स्वतन्त्र ताइवानको समर्थन गर्नु आगोसँग खेल्नु बराबर

चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेश भ्रमण नगरेको करिव दुई वर्ष हुनलाग्यो । यो बीचमा उनले जति पनि विश्वका नेताहरुसँग कुराकानी गरेका छन् ती सबै भर्चुअल माध्यमबाट गरेका छन् । कोरोना महामारी सुरु भएपछि उनी देश छोडेर बाहिर निस्केका छैनन् ।

यसैबीच गएराति सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच तीन घण्टा भर्चुअल छलफल भएको छ । सारा विश्वले नजिकबाट नियाली रहेको यो छलफलमा के के भए बाहिर आउन बाँकी नै छ । तर केही छलफल भएका विषय भने सार्वजनिक भएका छन् । 

छलफलमा बाइडेनले सीलाई ताइवानको अवस्थालाई एकतर्फी रुपमा परिवर्तन नगर्न आग्रह गरेका थिए । यदि चीनले एकतर्फी रुपमा परिवर्तन गर्न खोजे अमेरिकाले मजबुत तरिकाले त्यसको विरोध गर्ने स्पष्ट बताएका थिए । 

दुवै राष्ट्रपतिबीच सिन्जियाङ र हङकङका विषयमा पनि कुराकानी भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

ताइवानको विषयमा छलफल हुँदा सीले बाइडेनलाई कडा शब्दमा चेतावनी दिएका थिए । चिनियाँ राष्ट्रपति सीले स्पष्ट शब्दमा भनेका थिए– ‘ताइवानको स्वतन्त्रताको समर्थन गर्नु भनेको आगोसँग खेले सरह हो, र जो आगोसँग खेल्छ त्यो जल्छ ।’ 



दुई देशका राष्ट्रपतिबीच छलफल सकिएपछि ह्वाइट हाउसले प्रेस विज्ञप्ति जारी गरेको थियो । र विज्ञप्तिमा भनिएको थियो– ‘अमेरिका एक चीन नीतिमा प्रतिबद्ध छ ।’ ‘एक चीन नीति’ मान्छु भन्नु अर्थ ताइवान चीनको एक हिस्सा भएको स्वीकार गर्नु हो ।

गएको महिना बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको बचाउ गर्ने टिप्पणी गरेका थिए । जसको चीनले कडा प्रतिकार गरेपछि ह्वाइट हाउसका प्रवक्ताले बाइडेनको टिप्पणी व्यक्तिगत भएको र चीनलाई हेर्ने अमेरिकी नीति परिवर्तन नभएको स्पष्ट पारेका थिए । 



सी र बाइडेनबीच यस्तो समयमा छलफल भएको छ जतिबेला चीन र अमेरिकाबीच ताइवान, व्यापार, मानवअधिकार लगायतका मुद्दामा तनाव चुलिएको छ । छलफलमा बाइडेनले आफ्नो प्रतिद्वन्द्वीतालाई युद्ध तर्फ अगाडि जान नदिनु दुवै देशको जिम्मेवारी भएको बताएका थिए । 

गत जनवरीमा अमेरिकाको सत्ता सम्हालेपछि भएको यस भर्चुअल बैठक/छलफललाई विशेष रुपमा हेरिएको छ । छलफलको सुरुवात अभिवादनबाट भएको थियो । 
सुरुमै सीले भने, ‘पुरानो साथी बाइडेनलाई देख्दा खुसी लागेको छ । 

त्यसपछि बाइडेनले जवाफ दिएका थिए, ‘मलाई लाग्छ वार्ताको सुरुवात औपचारिक रुपमा हुनुपर्छ तर हामी दुई जना एक–अर्कालाई लिएर कहिल्यै औपचारिक भएका छैनौं ।’ 

बाइडेन त्यतिमै रोकिएनन् । उनले अगाडि भने, ‘हामी सधै सम्पर्कमा रहेका छौं र एक अर्काप्रति इमान्दार र स्पष्ट रहेका छौं । हामी एकअर्काका बारेमा के सोच्छौँ भन्ने कुरालाई कहिल्यै ध्यान दिएनौँ ।’ 

त्यसपछि सीले कोरोना महामारी र जलवायु परिवर्तनले ल्याएको संकटको सामना गर्न दुवै देश एकसाथ रहन आवश्यक रहेको जनाएका थिए । सीले दुई देशबीचको संवादलाई दुरुस्त राख्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रपति बाइडेनसँग काम गर्न आफू तयार रहेका समेत सीले बताए । 

सीले चीन अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशा तर्फ अघि बढाउन तयार रहेको जानकारी दिएका थिए । त्यसपछि दुवै नेताले छलफल गर्ने विषयलाई सूचीबद्ध गरेका थिए । 

छलफलमा बाइडेनले मानवअधिकार र एसिया–प्रशान्तको मुद्दा पनि उठाए । ती मुद्दामा सीले दुवै देशले एकअर्कालाई सम्मान गर्नुपर्ने र स्थिर द्विपक्षीय सम्बन्धलाई बढावा दिनुपर्ने तर्क अघि सारेका थिए । 

ह्वाइट हाउसले शुक्रबार नै विज्ञप्ति जारी गरी दुई नेताबीच प्रतिस्पर्धा र हित दुवै पाटोमा छलफल हुने जनाएको थियो । छलफलमा सीले सम्बन्धलाई सकारात्मक बनाउन संवादलाई गति दिनुपर्ने बताएका थिए । चुनौतीहरूको सामना मिलेर गर्नुपर्ने समेत उनले जनाएका थिए । 

जो बाइडेन के चाहन्छन् ? 

बाइडेन पछिल्ला वर्षहरुमा तिव्र गतिमा बिग्रेको अमेरिका–चीन सम्बन्ध सुधार्न र बढेको तनावलाई मत्थर बनाउन चाहन्छन् । 

चीन र अमेरिकाबीचको छलफलमा प्राय सधै ताइवान प्रमुख अजेण्डा बन्ने गर्छ र यसपटक पनि त्यही भयो । 

बाइडेनको चाहना छ– चीनले ताइवानसँग शान्ति बनाइराखोस् । तर चीन भने पछिल्ला वर्षहरुमा ताइवानमाथि दवाब बढाउँदै आएको छ । चीनले सैन्य क्षमता विस्तार गरिरहेको छ । अमेरिका ताइवानको सम्प्रभुताको विषयमा केही नबोलोस् भन्ने चाहना चीनको छ । यो आश्वस्त पार्ने मौका बाइडेनले यस छलफलमा पाएका थिए । 

चीनसँगको द्विपक्षीय सम्बन्धलाई स्थिर बनाइराख्न बाइडेनलाई यो अवसर महत्वपूर्ण छ र यसैकारण छलफललाई विशेष मानिएको छ । अमेरिकाले भने प्रतिस्पर्धा, सहयोग र सम्बन्धलाई छिन्नभिन्न तरिकाले डिल गर्नुपर्ने बताउँदै आएको छ । तर यसमा चीन स्पष्ट छ । उसले जलवायु परिवर्तन जस्ता विषय र कूटनीतिक सम्बन्धमा देखिएका विवादित मुद्दालाई अलग गर्न नहुने बताएको छ । 

सी चिनफिङ के चाहन्छन् ? 

चीनको पूर्वी तटमा रहेको द्वीप ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ । तर चीनले भने ताइवान आफ्नो भूभाग रहेको दाबी गर्दै आएको छ । चीन सधै ताइवानलाई मुख्यभूमिमा जोड्न आतुर छ । उसले यसको लागि वल प्रयोग गर्न पनि पछि नहट्ने बताउँदै आएको छ । 

तर केही साता अघि बाइडेनले टिप्पणी गरेका थिए– ताइवानमाथि चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्नेछ । यो भर्चुअल छलफलमा सीले यही कुरामा बाइडेनसँग स्पष्टता खोजेका छन् । (बिबीसी)

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १७:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया