पर्सामा ११ बिघा क्षेत्रफलमा लगाइएको गाँजा फँडानी

पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाँजाको खेती फेरि सुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कारबाही अभियान थालेपछि पर्सामा पूर्ण रुपमै बन्द भएको गाँजाखेती अहिले फेरि सुरु भएको पाइएको छ । 

पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीका विभिन्न स्थानमा एघार बिघा जग्गामा रोपिएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ । ठोरी गाउँपालिका वडा नम्बार–३ र ४मा विभिन्न व्यक्तिहरुले लगाएको झण्डै २ लाख २० हजार बोट गाँजा नष्ट गरिएको दाबी प्रहरीको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा खटिएको टोलीले ठोरीमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्ट गरेको हो । गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुुनबमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

स्थानीयले प्रहरीको आँखा छल्नका लागि सुर्ती, मकैको बीचमा, घर छेउको करेसाबारीमा बेरा लगाएर, जंगल छेउको अनकन्टार जमिनमा गाँजा खेती गर्ने गरेको पाइएको छ । गाँजाखेती गरिएको क्षेत्रहरु भारतीय सीमासँग जोडिएको र सूर्तीका ठूलठूला पातहरु भएको कारण सजिलै गाँजा देख्न नसकिने भएकोले सूर्ती खेतीसँगै गाँजाखेती पनि गर्ने गरिएको छ । 

चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगलसँग सीमा जोडिएका गाँउहरुमा बढीजसो गाँजा खेती हुने गरेको छ । स–सानो परिमाणमा लगाइएको भए पनि ठाउँ–ठाउँको जम्मा गर्दा ठूलो परिमाणमा हुने भएकोले आर्थिक प्रलोभनमा परेर स्थानीय अवैध गाजा खेतीमा लागेको अनुमान गरिएको छ । 

केहीले घरायसी प्रयोगका लागि करेसाबारीमा ४०–५० बोट रोपेका छन् । तर, कतिपयले भारतमा महँगोमा बिक्री हुने र सीमा क्षेत्र पनि भएकाले व्यावसायिक खेती नै गरेको देखिन्छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १८:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया