कांग्रेस महाधिवेशन : निर्वाचन परिणाममा हस्तक्षेप गरेको भन्दै प्रदेशमन्त्री यादवविरुद्ध नाराबाजी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाका अधिकांश स्थानीय तहका वडाहरूमा सहमतिमै नेतृत्व चयन भइरहे पनि जनकपुरमा भने नेतृत्व चयनमा विवाद सिर्जना भएको छ । प्रदेश २ नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको हठका कारण अधिवेशन प्रभावित भएको असन्तुष्ट पक्षको आरोप छ । 
 
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ मा एक पक्षले निर्वाचन सम्पन्न भइसकेको बताएका छन्  । मन्त्री यादवले आफ्नो आसेपासेलाई जर्बजस्ती नेतृत्व दिने प्रयास गरेपछि पुनः विवाद सिर्जना भएको उनीहरुको भनाइ छ । 

मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३, ५ र ६ मा समेत वडा अधिवेशन मन्त्री यादवकै कारण स्थगित भएको बताइएको छ । 
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धीमा भएको वडा अधिवेशनमा मन्त्री यादव पक्षधरले अधिवेशन बहिष्कार गरेपछि निर्वाचन अधिकृत देवेन्द्र यादवले राघवेन्द्र साहलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

चुनावमा धाँधली भएको भन्दै मतदान बहिष्कार गरेका वडा सभापतिका उम्मेदवार रामनन्दन चौधरीले सो परिणाम नमान्ने बताउँदै आएका छन् । चौधरीले आफ्नो निजीघरमा मतदान गराउन भनेको र आफूहरुले नमानेपछि सार्वजनिक स्थलमा मतदान गराइएका कारण मतदान प्रक्रिया नै उनले बहिष्कार गरेको वडासचिवमा निर्वाचित भएका नरेशप्रसाद साहले बताए । 
  
वडा नम्बर–२३ मा भएको मतदानमा कुल ११९ सदस्यमध्ये ६५ मत राघवेन्द्र साहको पक्षमा परेको थियो । आफूले बहुमतभन्दा बढी मत ल्याएपछि निर्वाचन अधिकृतले जिल्ला सभापतिसँग कुरा गरेर निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको निर्वाचित वडा सभापति राघवेन्द्र साहले जानकारी दिए । 

मन्त्री रामसरोज यादव नजिकका उम्मेदवार मानिएका चौधरीले पार्टी कार्यालयमा तोडफोड गरेर, निर्वाचन अधिकृतसंग दुर्व्यवहार गरेर प्रजातन्त्रको उपहास गरेको साहले आरोप लगाए । 

उनीहरुले मंगलबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भेला भई मन्त्री यादवविरुद्ध नाराबाजीसमेत गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १८:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया