गर्भवती हुँदा लाग्ने वाकवाकी कसरी गर्ने कम ?

गर्भवती अवस्थामा विशेषगरी सुरुका तीन महिनामा वाकवाकी लाग्ने र उल्टी हुने समस्या देखिन्छ । यसलाई मेडिकल भाषामा मर्निङ सिकनेस भनिन्छ । यो कठिन घडी हो, तर सबैजसो महिलाले आमा बन्नुअघि यो अवस्थाबाट गुज्रनैपर्ने हुन्छ । 

शरीरमा भइरहने प्रेग्नेन्सी हर्मोनको उतार–चढाब मर्निङ सिकनेसको मुख्य कारण हो । बिहानपख बढी वाकवाकी लाग्नुको कारणचाहिँ पेट खाली हुनु हो । यसको रोकथामका लागि उठ्नेबित्तिकै ‘भिटामिन सी’युक्त कुनै फल खानु राम्रो हुन्छ । सुन्तला, मौसम, जुनारजस्ता साइट्रस फ्रुट खानाले वाकवाकी रोक्न मद्दत पुग्छ । यस्तो अवस्थामा बिहान एक गिलास कागती पानी वा नरिवलको पानी पिउने कोसिस गर्नुपर्छ । 

कहिलेकाहीँ आइरन चक्की खाएपछि बेस्सरी वाकवाकी लाग्छ । यसबाट बच्न आइरन चक्कीलाई कागती पानीसँग लिनु उत्तम हुन्छ । कागतीमा पाइने भिटामिन सीले आइरनलाई शरीरमा सजिलै घुलाइदिन्छ । 

कसैलाई दिउँसोको समयमा पनि वाकवाकी लागिरहन्छ । यस्तो अवस्थामा ज्यादा आराम गर्नुपर्छ । एकैपटक पेटभरि खाना खानुभन्दा थोरैथोरै गरेर पटकपटक खानुपर्छ । प्रोटिन र फाइबर ज्यादा पाइने खानामा जोड दिनुपर्छ । पिरो र मसालेदार खानामा बल नगरेकै बेस । 

घरबाहिर निस्कँदा साथमा काजु, बदाम, बिस्कुटजस्ता हेल्दी ड्राइफुड राख्नु उपयोगी हुन्छ । कनकि, लामो समयसम्म केही नखाई बस्दा ब्लड सुगर कम हुन्छ, जुन वाकवाकीको कारण बन्न सक्छ । 

पानीको कमीले पनि वाकवाकीको समस्या पैदा हुन्छ । त्यसैले, छिनछिनमै थोरैथोरै पानी पिइराख्ने बानी बसाख्नुपर्छ । यसका साथै, फलफूलको जुस पिउनु राम्रो हुन्छ । तर, क्याफिनयुक्त तरल पदार्थबाट भने टाढै रहनु राम्रो । 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ०:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया