शैक्षिक भ्रमणमा जाने नजाने विषयमा विद्यार्थीहरूबीच झडप हुँदा दुई घाइते

सर्लाहीमा शैक्षिक भ्रमणको विषयमा विद्यार्थीहरूबीच आपसमा झडप हुँदा दुई जना घाइते भएका छन्।  

बुधबार शैक्षिक भ्रमणमा जाने नजाने विषयमा विद्यार्थीको दुई गुटबीच झडप हुँदा दुई विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 
 
घाइते हुनेहरूमा हरिपूर्वा नगरपालिका-५ स्थित श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयकाे कक्षा १० मा अध्ययनरत १५ वर्षीय विद्यार्थीद्वय सुनिल राय र अर्जुन माझी रहेका छन् ।
 
प्रत्येक वर्ष सो विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू शैक्षिक भ्रमणमा गइरहे पनि यस वर्ष भ्रमणकै विषयलाई लिएर विद्यार्थीहरू दुई गुटमा विभाजित भएका थिए । 

एक पक्ष भ्रमणमा जाने र अर्को पक्ष नजाने भन्दै आपसमा विवाद गर्दै आइरहेकै बेलामा बुधबार भ्रमणमा नजाने पक्षमा रहेका विद्यार्थीहरूको समूहले भ्रमणमा जाने पक्षमा रहेका विद्यार्थीलाई कुटपिट गरेको उनले जानकारी दिए । 

गम्भीर घाइते भएका विद्यार्थीद्वय राय र माझीलाई थप उपचारका लागि जनकपुरधाम ल्याइएको छ।

सो विद्यालयमा विद्यार्थीहरूबीच आपसमा विवाद हुँदा दुई दिनदेखि पठनपाठन समेत प्रभावित भएकाे छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १४:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया