अर्थमन्त्री जनार्दन शर्माले व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताएका छन् । १० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाउन लागिएको बताएका हुन् ।
अर्थमन्त्री शर्माले डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नको लागि सरकार मात्र नभई करदाता र कर प्रशासन समेतले त्यसको व्यवस्था गर्नुपर्ने जनाए ।
‘यसको लागि करदाताले पनि आफ्नो व्यवसायलाई नयाँ प्रविधि भित्र राख्नुपर्छ तर, अहिले सरकारले लागू गरेको डिजिटल प्रणालीअनुसार व्यवसाय सञ्चालनमा आएका छैनन् । अहिले न्युरोड, ठमेल लगायतका बजारमा कुनै पसलमा कम्प्युटर देखिँदैनन् तर, त्यहाँ व्यापार व्यवसाय भइरहेको छ,’ मन्त्री शर्माले भने ।
मन्त्री शर्माले कम्प्युटर बिना व्यापार गरिरहेको पसलहरूमा गएर हस्तक्षेप तथा नियन्त्रण गर्न नमिल्ने बताए । उनले कर दबाव नभई आवश्यकता भएको स्पष्ट पारे ।
अर्थमन्त्री शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न राजस्वका अधिकारीहरुलाई निर्देशन दिएको जानकारी दिए । कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको बताउँदै उनले विवादित कर विवरण सार्वजनिक गर्न निर्देशन दिए ।
मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था अघि बढाउन पनि निर्देशन दिएका छन् ।
‘प्रशासकीय पुनरावलोकन गएका मुद्दा कति छन् सार्वजनिक गर्नुस्, आजै गर्नुस्, गुपचुप राखेर जनताले अवस्था थाहा पाउँदैनन् । म विज्ञ होइन तर मेरो विचारमा कर तिर्ने व्यवसायी होइन जनता हो, उनीहरुलाई थाहा दिनुपर्छ,’ अर्थमन्त्री शर्माले भने ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणालीलाई व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न लागेको जनाए ।
सचिव मरासिनीले भने, ‘करदाता, कर प्रशासन मिलेर प्रणालीमा सुधार ल्याउनु पर्छ । प्रणालीको सुधार र विकास गर्ने काम हामी सबैको नै हो । हामी निजी क्षेत्रको समेत सुझावअनुसार अगाडी बढ्न तयार छौँ ।’
सचिव शर्माले कर तिर्नका लागि कुनै विवाद गरिरहनु नपर्ने भन्दै हरेक सेवा, सुविधा र सुरक्षाका लागि सबैले कर तिर्नु पर्ने जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।