जलविद्युत् उत्पादन २ हजार मेगावाट नाघ्यो, प्रसारण लाइन भने अपर्याप्त

नेपाल पानी, नदीनाला जन्य प्राकृतिक स्रोतमा धनी छ भन्ने कुरा हामीले दशकौंदेखि सुन्दै आएका छौँ । यति मात्रै होइन, यी प्राकृतिक स्रोतको भरपूर सदुपयोग किन हुन सकेन त भन्ने विषय पनि उत्तिकै बहस हुने गरेको छ । पछिल्ला केही वर्षयता नेपालका नदीहरूमा जलविद्युत् आयोजना बन्ने क्रम बढिरहेको छ । पछिल्लो एक दशकमा नेपालीले खेप्नुपरेको लोडसेडिङ पनि कम हुँदै गएको देखिन्छ ।

विद्युत् विकास विभागको गत आर्थिक वर्ष २०७७/०७८ सम्मको तथ्यांकअनुसार एक मेगावाट भन्दा ठूला १८ सय २ मेगावाट क्षमताका १ सय २ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई उत्पादन सुरु गरेका थिए । विभागको पछिल्लो तथ्यांकअनुसार भने अहिले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जडित क्षमता २ हजार मेगावाट नाघेको छ । विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् जडित क्षमता अहिले २ हजार ३५ मेगावाट पुगेका तथ्यांकले देखाएको छ । यसमध्ये व्यापारिक विद्युत् उत्पादन गरिरहेका निजी क्षेत्रका आयोजनाको जडित क्षमता ८५६ मेगावाट पुगेको छ भने प्राधिकरणको स्वामित्वमा रहेका विद्युत् आयोजनाको जडित क्षमता ६४९ मेगावाट छ । चालू आर्थिक वर्षको साढे ४ महिनामा मात्रै करिब ५७२ मेगावाट विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ ।

यसैगरी एक मेगावाट भन्दा बढी क्षमताका २१७ आयोजना निर्माणाधीन चरणमा रहेको तथ्यांक छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेका बाहेक अन्य ती २१७ जलविद्युत् आयोजनाले कुल जडित क्षमता करिब ७ हजार ६ सय मेगावाट हुनेगरी विद्युत् विकास विभागबाट बिजुली उत्पादनको अनुमतिपत्र लिइसकेका छन् । तथ्यांकअनुसार हाल अध्ययन पूरा भएका साढे २ हजार मेगावाटका विद्युत् आयोजना उत्पादन अनुमतिपत्रको पर्खाइमा छन् ।

विसं १९६८ जेठ ९ मा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् केन्द्रबाट नेपालको विद्युत् विकासको यात्रा शुरु भएको इतिहास छ । एसियाको दोश्रो जलविद्युत् आयोजना मानिने उक्त आयोजनाबाट ५ सय किलोवाट विद्युत् उत्पादन शुरु भएको थियो । तत्पश्चात नेपालमा धेरै आयोजना निर्माण भई धमाधम विद्युत् उत्पादन भइरहेका छन् ।

नेपालमा विद्युत्को खपत पनि तुलनात्मक रूपमा निकै कम हुने गरेको विभिन्न अध्ययनहरूले देखाउँछ । सन् २०१४ मा विश्व बैंकद्वारा प्रकाशित एक प्रतिवेदनले नेपालमा प्रतिव्यक्ति वार्षिक कुल १४६ युनिट बिजुली प्रयोग गर्छन् । सोही प्रतिवेदनअनुसार यस्तो संख्या भारतमा प्रतिव्यक्ति वार्षिक ८०५ युनिट, चीनमा ४ हजार युनिट, अमेरिकामा १३ हजार युनिट तथा क्यानडामा करिब १५ हजार युनिट छ । दक्षिण एसियामा भुटान र माल्दिभ्समा मात्र प्रतिवर्ष २ हजार युनिटभन्दा माथि खपत  हुने गरेको छ । यसका साथै दक्षिण एसियाको औसत खपत करिब ६ सय युनिट प्रतिवर्ष छ भने पछिल्लो तथ्यांकअनुसार विश्वमा यो संख्या करिब ३ हजार युनिट प्रतिवर्ष छ ।

प्रसारण लाइनको क्षमता कमजोर



पछिल्लो समय धमाधम जलविद्युत् आयोजना बने पनि प्रसारण लाइन भने त्यही गतिमा अघि बढ्न सकेका छैन । जसका कारण उत्पादित विद्युत् खेर जाने अवस्थामा रहेको छ । कूल नेपाल विद्युत प्राधिकरणले उत्पादन बिजुलीको अनुपातमा खपत बढाउन नसक्दा विद्युत् खेर गइरहेको प्राधिकरणका अधिकारी नै स्वीकार्छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै रातिको समयमा ५ सय मेगावाट र दिनको समयमा पनि २ सय मेगावाट विद्युत् उपयोग हुन नसकेको बताउँदै आएका छन् ।

तर, पछिल्लो समय देशभरी विभिन्न क्षमताका प्रसारण लाइनहरू बन्ने क्रममा छन् । बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्न सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई तीब्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ वटा ४०० केभी क्षमताका प्रसारण लाइन अध्ययन भइरहेको जनाएको छ ।



पछिल्लो समय नेपाल र भारतबीच विद्युत् आदान प्रदानका लागि अन्तरदेशीय प्रसारण लाइनदेखि देशभित्रै उत्तर-दक्षिण करिडोर जोड्ने गरी विभिन्न आयोजना अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

हाल बढीमा १८ सय मेगावाट विद्युत् प्रसारण गर्ने क्षमता भएको लाइन भए पनि विद्युतको फ्लोअनुसार पिक आवरमा नपुगेको प्राधिकरणले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १८:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया