कांग्रेस महाधिवेशनः सभापतिमा शेखरलाई समर्थनको घोषणा गर्नबाट कसले रोकिरहेछ शशांकलाई ?

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन अब तीन साता मात्र बाँकी छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसका नेताहरु यसको तयारीमा लागेका छन् । 
कांग्रेसको यो महाधिवेशन यसअघिका महाधिवेशनभन्दा अझ बढी रोचक किन भएको छ भने यसपटक कांग्रेस सभापतिका लागि उम्मेदवारी दिने नेताहरुको संख्या बढ्दो छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकै समूहबाट पनि अहिलेसम्म आधा दर्जनभन्दा बढी नेताहरुले सभापतिमा दाबी गरिरहेका छन् ।

यीमध्ये अहिले चर्चाको केन्द्रमा छ, कोइराला परिवार । कांग्रेस राजनीतिमा गर्विलो विरासत बोकेको कोइराला परिवारबाट यसपटक महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तीन जनाले घोषणा गरिसकेका छन्– शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला ।

यी तीन कोइरालाले यसअघि सभापतिमा आआफ्नै दाबी पेश गरे पनि पछिल्लो समय कोइराला परिवारबाट एक जना मात्रै सभापति उम्मेदवार हुने सम्भावना बढ्दो छ । कोइराला परिवारमा पनि यो सहमति भइसकेको यी तीन नेता निकटहरु बताउँछन् । 

र, यसपटक कोइराला परिवारबाट सभापतिका उम्मेदवार शेखर कोइराला हुने अनुमान धेरैले गरेका छन् । शेखर कोइरालानिकट नेताहरु प्नि शशांक र सुजाता दुवैले शेखरको नाममा सहमति गरिसकेको बताउँछन् ।

तर, अहिलेसम्म कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नो दाबी छाडेका छैनन्, उनले शेखर कोइरालालाई सभापतिका उम्मेदवारका रुपमा समर्थन जनाइसकेका छैनन् ।

यसअघि बुधबार मात्र यी तीन जनाले नै संयुक्त पत्रकार सम्मेलन गर्ने र सभापतिमा आफूहरुबाट शेखर उम्मेदवार भएको घोषणा गर्ने तय भएको थियो । मंगलबार साँझ शेखर कोइरालाको निवासमा पुगेका शशांक कोइरालाले पनि यसमा समर्थन गरेका थिए । 



तर, बुधबार विहान उनले अघिल्लो साँझ गरेको सहमतिबाट पछाडि हटे । जतिबेला काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरुबाट शेखर कोइराला सभापतिको उम्मेदवार भएको घोषणा गर्ने कार्यक्रम थियो, त्यति बेला शशांक कोइराला हेलिकोप्टरमा संखुवासभा पुगेका थिए ।

‘यसलाई हामीले स्वभाविक रुपमा लिएका छौँ,’ शेखर कोइरालाका स्वीकय सचिव दिनेश थपलियाले फरकधारसँगको कुराकानीमा भने, ‘महामन्त्री भएकाले पनि उहाँको कार्यव्यस्तता हुनु स्वभाविक हो । उहाँले नै ८ गते पत्रकार सम्मेलन गरौँ, सभापतिमा साझा उम्मेदवार तय गरौँ भन्नु भएको छ । कार्यव्यस्तताका कारण बुधबारको कार्यक्रम सरेको हो ।’



थपलियका अनुसार बुधबारको कार्यक्रम स्थगित भए पनि यी दुई कोइराला बन्धुबीच निरन्तर वार्ता चाहिँ चलिरहेको छ । उनले सभापतिको साझा उम्मेदवार तय गर्न शेखर कोइरालाको रामचन्द्र पौडेल र प्रकाशमान सिंहसँग पनि छलफल चलिरहेको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा दोहोरिन चाहेपछि उनीविरुद्ध एक साझा र बलियो उम्मेदवार आफूहरुले अगाडि सार्नु पर्नेमा पौडेल समूहले लामो समयदेखि छलफल चलाउँदै आएको छ । तर, उनीहरुले अहिलेसम्म साझा उम्मेदवार तय गर्न सकेका छैनन् । पौडेल समूहबाट शेखर र शशांकसहित प्रकाशमान सिंहले पनि कांग्रेस सभापतिमा उम्मेदवारीको घोषणा गरिसकेका छन् । त्यस्तै, यी तीन जनालाई नै मिलाउन सकेमा आफू सभापतिको बलियो उम्मेदवार भएको वरिष्ठ नेता पौडेलले बुझेका छन् ।

‘यी तीन जनालाई मिलाएर सिटौलाको पनि साथ र सहयोग लिन सकेको खण्डमा आफू सभापतिमा हुने दाउमा रामचन्द्र पौडेल छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, यी सबैलाई मिलाउन नसकेको खण्डमा उनले भविष्यका पदमा बार्गेनिङ गर्ने सम्भावना बढी छ, सभापतिमा उनले उम्मेदवारी नदिन सक्छन् ।’

त्यसो त औपचारिक रुपमा अहिलेसम्म पौडेलले आफूलाई सभापतिको उम्मेदवारी भएको घोषणा पनि गरिसकेका छैनन् । उनले आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने बताउँदै आएका छन् । तर, पछिल्लो समय शेखर, शशांक र प्रकाशमान सभापतिको उम्मेदवारीमा अडिग रहँदा उनको यो चाहना पूरा हुने सम्भावना कम छ ।

अब फेरि लागौँ, दुई कोइराला बन्धुतिर । यी दुईमध्ये सभापतिमा उम्मेदवारीको सम्भावना कसको बढी छ त ?

दुवै कोइरालासँग निकट अर्का एक कांग्रेसका केन्द्रीय सदस्यले अन्ततः सभापतिमा कोइरालाबाट शेखर नै आउने दाबी गर्छन् । ‘तयारीको हिसाबले पनि शेखर कोइराला निकै अगाडि बढिसकेका छन्,’ उनले भने, ‘शशांकले पनि आफूलाई पछाडि हटाएर शेखरलाई नै समर्थन गर्ने छन् ।’

तर, आखिर शेखरलाई आफूले सभापतिमा समर्थन गर्ने घोषणा किन गरेका छैनन् त शशांकले ?

‘किनकि उनी स्वार्थ समूहको घेरबन्दीमा परेका छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘शशांकले सभापतिमा दाबेदारी छाडे भने तत्काल आफूहरुले पाउन सक्ने लाभको पद नपाउने र आफू कमजोर हुने केही नेताहरुको अनुमान छ । उनीहरुले नै शशांकलाई सभापतिमा उम्मेदवारी दिनबाट रोकिरहेका छन् ।’

फेरि फर्कौँ मंगलबार साँझ यी दुई कोइराला बन्धुको शेखर निवासमा भएको भेटमा के भएको थियो भन्नेबारे । मंगलबार साँझ शेखर निवासमा यी दुई नेताबीच लामो समय कुराकानी भएको थियो । कुराकानीमा भोलिपल्टै शशांक निवासमा पत्रकार सम्मेलन गर्ने र सभापतिमा शेखर कोइरालालाई शशांकले नै प्रस्ताव गर्ने सहमति भएको थियो । 

यही सहमतिअनुसार शेखर कोइराला बुधबार विहान शशांक कोइराला निवासमा पुगेका पनि थिए । तर, त्यहाँ जतिबेला पत्रकार सम्मेलन गरिने भनिएको थियो, शशांक त्यहाँबाट निस्किए ।

उनले आफू बालुवाटारमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएकाले जानु पर्ने भएकाले कार्यक्रम ८ मंसिरका लागि सार्ने प्रस्ताव राखेर निस्किए । तर, त्यसको केही समयपछि नै उनी हेलिकोप्टरमा संखुवासभा पुगेका थिए ।

यहीबीचमा शशांकलाई उनका स्वकीय सचिव भरत तिवारीले फोन गरेका थिए । तिवारी शशांकको गृहजिल्ला नवलपुरमा छन् । त्यहाँबाट नै उनले फोन गरेर शशांकलाई शेखरसँग सहमति गरेको घोषणा गर्ने कार्यक्रम तत्काललाई स्थगित गर्न सुझाएका थिए ।

नवलपरासीमा शशांक कोइरालानिकट नेताहरुले यसपटकको महाधिवेशनका लागि सभापति शेरबहादुर देउवानिकट नेताहरुसँग गठबन्धन गरेका छन् । गृहजिल्लामा देउवासँग गठबन्धन गरेर शशांक पौडेल पक्षका नेताहरुलाई पराजित गर्ने अभियानमा छन् । यही कारणले पनि तत्काल शेखरलाई समर्थन गर्ने घोषणा उनले स्थगित गरेको हुनसक्ने अनुमान गरिएको छ । 

यतिमात्र होइन, शशांक कोइरालालाई दीपक खड्कालगायतका नेताले पनि शेखरलाई सभापतिमा समर्थन नगर्न सुझाव दिइरहेको स्रोतको दाबी छ । ‘उहाँहरुलाई आफ्नो स्पेस गुम्न सक्ने डर छ,’ एक कोइराला निकटवर्तीले भने, ‘त्यसैले दीपक खड्का, दीपक कार्कीलगायतका नेताहरुले पनि शशांकलाई यो घोषणाबाट रोकिरहेका छन् ।’

अर्कोतिर संखुवासभा पुगेर शशांकले सन्चारकर्मीहरुसँग कुराकानी गर्दै आफू नै सभापतिका लागि योग्य भएको बताएका छन् । उनलाई संखुवासभा पुर्याएका संखुवासभाका पार्टी सभापतिसमेत रहेका दीपक खड्काले चाहिँ कार्यकर्ता भेटघाटका लागि महामन्त्री कोइराला संखुवासभा आएको बताएका छन् ।

शशांक संखुवासभा पुगेपछि शेखर कोइराला पनि विराटनगर भेटघाटका लागि गएका छन् ।

‘उहाँहरुबीच छलफल भइरहेको छ, अब दुवै जना काठमाडौं आएपछि यसअघि निर्धारण गरिएअनुसार कार्यक्रम हुन्छ,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले फरकधारसँग भने ।

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १०:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया