गमगढीमा आगलागी हुँदा ३५ करोडकाे क्षति, ८० परिवार विस्थापित

मुगु जिल्लाकाे सदरमुकाम गमगढीको तल्लो बजारमा मंगलबार राति भएकाे आगलागीबाट ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मुगुकाे तथ्यांक अनुसार उक्त आगलागीमा ८० परिवार विस्थापित भएका छन् । जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् । 

यस्तै पीडितले दिएकाे जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।

उपरीक्षक भट्टराईका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको छ । साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण संकलन गरेकाे प्रहरीको भनाइ छ । 

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीनवटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीनवटा कम्मल राहतस्वरुप वितरण गरेकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:२०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया