अमरेश सिंहलाई प्रश्न– निर्वाचन अधिकृतलाई किन कुट्नुभएको ?

क्रियाशिल सदस्यता विवादमा पनि निकै झमेला भएको सर्लाहीमा कांग्रेसका नेताहरुबीच फेरि आरोपप्रत्यारोपको क्रम सुरु भएको छ । कतिसम्म भने सर्लाहीका कांग्रेस सभापति नागेन्द्र कुमार रायले प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह र उनका मानिसहरुले निर्वाचन अधिकृतलाई नै कुटेको आरोप लगाएका छन् ।

सर्लाहीमा अधिवेशनका लागि दिवाकर पाण्डेय निर्वाचन अधिकृत खटिएका छन् । यसअघि सर्लाहीमा निर्वाचन अधिकृतमा विनोद कार्की खटिएका थिए । तर, उनले राजीनामा दिए पछि पाण्डेय त्यहाँ निर्वाचन अधिकृत खटिएका हुन् ।

नागेन्द्रले आज मात्रै पाण्डेयमाथि सिंह र उनका साथीहरुले कुटपिट नै गरेको आरोप लगाएका छन् । नागेन्द्रको यो आरोप पछि हामीले सिंहलाई सोध्यौँ– के तपाईंले निर्वाचत अधिकृत कुट्नु भएको हो ?

सिंह यो प्रश्न सुन्ने वित्तिकै अचम्ममा परे । ‘म भर्खर यहाँ आउँदै छु, प्रहरीसँगै छु, के तपाईं कुरा गर्न चाहनुहुन्छ ?’ उनले भने ।

त्यसपछि उनले सर्लाही कांग्रेसमा मनोमानी भएको र यसलाई सहन नसकिने बताए ।

‘हामी अन्याय सहन यहाँ बसेका होइनौँ, यो कांग्रेस पार्टी हो, कुनै कम्युनिस्ट पार्टी होइन,’ सिंहले भने, ‘कांग्रेस भएपछि लोकतन्त्र हुनुपर्छ, लोकतान्त्रिक सिद्धान्तहरु अवलम्बन गरिनु पर्छ । तर, यहाँ केही भएन । हामी अन्याय सहँदैनौँ, हामीलाई न्याय चाहिन्छ ।’



त्यसपछि उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रसंग जोडे । भने, ‘देउवाको जिल्ला भएकाले डडेलधुरामा ४० हजार मानिस हुँदा पनि ४ हजार प्रहरी खटाएर निर्वाचन गराउने, यहाँ ८ लाख मानिस हुँदा पनि किन निर्वाचन गर्न नसकेको ?’

उनले अब देउवाबारे टिप्पणी गर्न थाले । देउवाबारे लामो टिप्पणी गर्दा उनको सार थियो– देउवाले लोकतन्त्र सके, देश सके र अब कांग्रेस पार्टी पनि सक्दैछन् ।



निर्वाचन अधिकृतको प्रसंग छाडेर हामीले उनलाई यही विषयमा प्रश्न गर्यौँ– के तपाईंले नै देउवालाई सभापति बनाउनु भएको होइन र ? 

त्यसपछि सिंहले भारतीय दूतावासको कुरा जोडे । ‘गिरिजाबाबु सभापति हुनुहुन्थ्यो, त्यसपछि देउवा सभापति हुने भन्ने हामीले दूतावासमा गएर नै सम्झौता गरेका थियौँ,’ उनले भने, ‘त्यो कागज अहिले पनि देउवाको घरको दराजमा होला ।’

अनि थपे, ‘तर, गिरिजाबाबु पछि टुप्लुक्क सुशिल कोइराला सभापति हुनुभयो ।’ आफूले सम्झौता गरेको विषय भएकाले पनि त्यसअघि नै देउवालाई सभापति बनाउने निर्णय गरिसकेकाले १३ औं महाधिवेशनमा सहयोग गरेको उनले दाबी गरे । 

त्यसपछि भने, ‘यसपटक त मैले देउवालाई समर्थन गर्दिनँ ।’

हामी फेरि निर्वाचन अधिकृत कुटिएको विषयमा पुग्यौँ । 

‘तपाईंलाई नागेन्द्रले भनेको कुरामा यो विश्वास लागेको हो भने मेरो कुरा पनि सुन्नुस्,’ उनले भने, ‘मैले होइन, निर्वाचन अधिकृतलाई कुटेको त नागेन्द्रले हो ।’

यति आरोप लगाएपछि फेरि उनी सम्हालिए । उनले भने, ‘निर्वाचनको प्रक्रिया पार्टी अफिस छ, पार्टी अफिसबाट गर्नुपर्छ । उनीहरु घरमा बसेर निर्वाचनको प्रक्रिया सकिएको कुरा गरिरहेका छन् । त्यसैले यो अन्याय भएको हो, हामीले यसको विरोधमा आवाज उठाएका हौँ । कसैलाई कुटेका होइनौँ ।’

यतिमात्र होइन, उनले अहिलेसम्म आफूले निर्वाचन अधिकृतको अनुहार पनि नदेखेको बताएका छन् । अनि आरोप लगाए, ‘म कहिल्यै प्रेसरमा काम गर्ने मान्छे होइन, अनियमितताको विरोधमा आवाज उठाउने मानिस हो ।’


  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया