भारतले पाउँदैछ पहिलोपटक समलिंगी न्यायाधीश

भारतमा सर्वोच्च अदालतको एक समितिले एक समलिंगी वकिललाई न्यायाधीशका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीशले नेतृत्व गरेको समितिले वरिष्ठ अधिवक्ता सौरभ किरपाललाई दिल्ली उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो । 

उनी न्यायाधीश भएमा लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यू) को अधिकारका लागि कोसेढुंगा सावित हुनेछ । न्यायाधीहरूको सिफारिस पछि केन्द्र सरकारले औपचारिक अनुमोदन गर्नुपर्नेछ । त्यसपछि उनको नियुक्ति प्रकृया सुरु हुनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले किरपालको नाम अनुमोदन गर्ने  निश्चित देखिएको छ ।  
एउटा एतिहासिक फैसलामा सर्वोच्च अदालतले सन् २०१८ मा समलिंगीबीच हुने यौन सम्बन्धलाई मान्यता दिएको थियो । फैसलालाई एलजीबीटीक्यू समूहले आफ्नो ठूलो विजय भनेको थियो । 

भारतमा लैंगिक अल्पसंख्यक  समूहमाथि अझै पनि विभेद हुने गरेको छ । आफूहरु बारम्बार अपमानित हुने गरेको यो समूहमा आबद्ध व्यक्तिहरुले गुनासो गर्दै आएका छन् ।  

अल्पसंख्यकमाथि भइरहेको पूर्वाग्रह रोक्न र रोजगार तथा स्वास्थ्य उपचारमा उनीहरूको पहँुच बढाउन विशेष कानुन आवश्यक भएको अभियन्ताहरूले बताउँदै आएका छन् । 

आफ्नो अलग पहिचानका कारण न्यायाधीशमा नियुक्ति नपाएको किरपालले गुनासो गर्दै आएका छन् । सन् २०१८ मा पनि सरकारले किरपाललाई न्यायाधीशमा नियुक्त गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा सरकार निर्णयबाट पछि हटेको थियो । 



किरपालका पार्टनर विदेशी नागरिक भएको र यसले सुरक्षा खतरा निम्त्याउने भन्दै सरकार निर्णयबाट पछि हटेको थियो । 

सन् २०२० मा न्यायाधीशका लागि आफ्नो नाम सिफारिसबारे उनले आफू दुविधामा रहेको बताए पनि अन्त्यमा सहमति जनाएका थिए । आफू एलजीबीटीक्यू समुदायका लागि रोलमोडल बन्न सक्ने उनले बताएका थिए । सो निर्णयको उनका सहकर्मीले स्वागत गरेका थिए ।



पूर्वमहान्यायधिवक्ता  विकास सिंहले किरपाललाई सिफारिस गर्ने सर्वोच्चको निर्णयको स्वागत गरेका छन् । 

दिल्ली उच्च अदालतको न्यायाधीशका लागि किरपाल चम्किलो र योग्य पात्र भएको वरिष्ठ वकिल गीता लुथ्राले बताएकी छिन् । ‘किरपालको यौन पार्टनर छनौटले उनलाई दिल्ली उच्च अदालतको न्यायाधीशका लागि गरिएको सिफारिससँग कुनै सरोकार राख्दैन,’ उनले भनेकी छिन् । 

नयाँ दिल्लीको एउटा कलेजमा भौतिक शास्त्र अध्ययन गरेका उनले अक्सफोर्ड विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन् । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट पनि स्नातकोत्तर गरेका छन् ।

सन् १९९० मा नयाँ दिल्ली फर्किनुअघि उनले जेनेभामा राष्ट्रसंघको कर्मचारी भएर काम गरेका थिए । भारत फर्किएपछि संवैधानिक, व्यावसायिक, नागरिक र अपराधलगायतका क्षेत्रमा अनगिन्ति मुद्दा हेरेका छन् । 

उनले पूर्वमहान्यायाधिवक्ता मुकुल रोहत्गीको सहायक भएरसमेत काम गरेका थिए । त्यस क्रममा किरपालको सीप र कानुनसम्बन्धी ज्ञान बढेको पूर्वमहान्यायधिवक्ता  विकास सिंह बताउँछन् । 

किरपालका बाबु बीएन किरपाल भारतको प्रधान न्यायाधीश भएका थिए ।  

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया