कसले निर्माण गर्‍यो पञ्चदेवल, किन हुन सकेन संरक्षण ?

धार्मिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएका पश्चिम नेपालका अछाम, कालीकोट र दैलेख जिल्लामा रहेका विभिन्न पञ्चलदेवल अहिले ओझेलमा परेका छन् । 

अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–१ विनायक, कालीकोटको खाँडाचक्र नगरपालिका–२ मान्म, सान्नी त्रिवेणी गाउँपालिका–६ को मेहलुमडी र दैलेख नारायण नगरपालिकामा रहेका पञ्चदेवल संरक्षण र प्रचारप्रसारको पर्खाइमा छन् । 

ऐतिहासिककालमा निर्माण भएका यी पञ्चदेवलहरु संरक्षणमा कसैले चासो दिएका छैनन् । अछाम, कालीकोट र दैलेख जिल्लामा रहेको रहेका पञ्चदेवलहरु पाँच भाइ पाण्डवले महाभारत युद्धका बेला निर्माण गरेको जनविश्वास छ । द्वापर युगमा  पञ्चदेवल महाभारत युद्धकालीन समयमा कौरवहरुसँग सबै राज्य हारेपछि तेह्र वर्ष वनबास र एक वर्ष गुप्तबास रहेको बेला पाण्डवहरु विभिन्न ठाँउमा लुकेर एक रात मात्र बस्थे । त्यसै क्रममा आफूहरु बस्नका लागि पञ्चदेवल निर्माण गरिएको पौराणिक कथा सुनिन्छ ।

कसले बनायो ?

यी पञ्चदेवलहरु पाँच भाइ पाण्डवका नभई ऐतिहासिककाल सिंजाका मल्ल राजाहरुले बनाउन लगाएको शिलालेखहरु राख्न लगाएको इतिहास पाइन्छ । ऐतिहासिककालमा सिंजाका खस राजाहरुको शीतकालीन राजधानी सिंजा र अछाम जिल्लाको पंचदेव विनायक नगरपालिका–६ को विनायकमा रहेको पञ्चदेवलमा शाके १२०२ वि.स. १३३७ मा खस राज्यका राजकुमार अक्षय मल्लले पञ्चदेवलको निर्माण गरेको र यो ५ वटा देवल रहेको पञ्चदेवलको प्रवेशद्वारको तोरणशीलामा लेखिएको अभिलेखअनुसार इतिहासविद योगी नरहरिनाथले आफ्नो पुस्तकमा यो प्रमाणित गरेको स्थानीय कमल रावलले जानकारी दिए । 

अभिलेखमा ‘ॐ स्वस्श्रिमतः अक्षयमल्ल देवस्थल सपरिवारा
चिरंजयंतु आत्मन्निभिन्ताधै एकतारसा
पुरुषा निभिनानजैराज प्रासाद करायो शाके
१२०२ सुत्रधार नागदेव नाम कमायो ।’
उल्लेख गरिएको छ ।



करिब ८ सय वर्ष पुरानो पञ्चदेवलको कुनै पनि बेला संरक्षण प्रयास नभएको स्थानीयबासीको गुनासो छ ।



कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको मान्म, सान्नी त्रिवेणी गाउँपालिकाको मेहलमुडी, कालिका गाउँपालिकाको सुककाटियामा रहेका ऐतिहासिक पञ्चदेवल तत्कालीन सिंजा राज्यका मल्ल राजाहरुले निर्माण गरेको खाँडाचक्र नगरपालिका–२ मान्म (तत्कालीन मान्म गाविस) का पूर्व अध्यक्ष अजबहादुर शाहीले बताए । 

‘यी पञ्चदेवलहरु बाईसे राज्यमा सान्नी राज्यको विशेष इतिहास बोकेको थलो हो । योगी नरहरिनाथका अनुसार यो १३१४ मा निर्माण भएको हो’, उनले भने, ‘त्यसबेला यहाँ मल्ल राजाहरुले आफ्नो उपस्थिति जनाउनका लागि निर्माण गरेका हुन् ।’

त्यस्तै, संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले नौ सय वर्षअघि साके सम्वत १३२१ मा निर्माण गरिएको भन्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपालको पुरातत्व विभागलाई सिफारिसको आधारमा यसको निर्माण पनि जुम्ला सिंजाका खस राजाहरुले नै गरेको प्रमाणित हुन्छ । त्यसबेला जुम्ला सिंजाका खस राजाहरुको शीतकालीन राज्य दैलेखको दुल्लुमा रहेको थियो । 

संरक्षणमा स्थानीय सरकार

यी ऐतिहासिक देवलहरुको मर्मतमा स्थानीय सरकारहरु लागेको भएपनि पुरातत्वका ऐतिहासिक संरचनाहरु पुरातत्व विभागले लिनुपर्ने उनीहरुको माग छ । 
इतिहासको साक्षीका रुपमा रहेको रहेको पञ्चदेवललाई उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएकोले यसलाई संरक्षण गर्नका लागि नगरपालिकाले तयारी थालेको पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख अम्बिका चलाउनेले बताइन् । 

‘संरक्षणको अभावमा जीर्ण बन्दै जान थालेको छ । संरक्षणका लागि नगरपालिकाले लगानी गरेको छ’, उनले भनिन्, ‘ऐतिहासिक र पर्यटकीय हिसाबले पञ्चदेवलको राम्रो सम्भावना रहेको भएपनि संरक्षण नहुदाँ समस्या भएको छ । यसको प्रचारप्रसार र संरचनाको संरक्षण गर्ने जिम्मा पुरातत्व विभागले लिनुपर्छ ।’ 

सान्नी त्रिवेणी गाउँपालिका–६ को मेहलमुडीमा रहेको पञ्चदेवल अर्थात पाँच वटा देवल पुरै कलात्मक र आकर्षक भए पनि संरक्षणमा ध्यान नजानुले माटो र झारपातमा पुरिने अवस्थामा रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । 

‘मेहलमुडीमा रहेका देवलहरु पुरिन थालेका छन्’, उनले भने, ‘संरक्षणका लागि पुरातत्व विभागलाई लिन आवश्यक छ ।’

कालीकोटको मान्ममा रहेको देवलहरुका विषयमा जिल्ला बाहिर प्रचार प्रसारका लागि आफूहरुले देवललाई झनै आर्कषक बनाउन लागि परेका नेपाली कांग्रेस नेता भुपेन्द्रजंग शाहीले बताए । 

‘कालीकोटमा रहेका पञ्चदेवलको संरक्षण र प्रचार प्रसार हुन सकेको छैन’, उनले भने, ‘यसको संरक्षण र प्रचार प्रचारको आवश्यकता छ ।’

दैलेखको नारायाण नगरपालिकामा रहेको पञ्चदेवल क्षेत्रको संरक्षणका लागि डिपिआर तयार गरिएको र त्यस अनुसार यसको संरक्षण गरिदै लगिने नारायण नगरपालिका–६ का वडाअध्यक्ष प्रकाश न्यौपाने बताए । 
 

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १४:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया