एमाले महाधिवेशनः उपाध्यक्षमा उम्मेदवारी दिने अष्टलक्ष्मी शाक्यको तयारी

नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले आसन्न दशौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । महिला नेतृत्वबाट पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका सिमित नेताहरुमध्ये उनी एक हुन् । 

यसअघि बागमती प्रदेशकी मुख्यमन्त्री भएकी शाक्य पहिले एमालेमा माधवकुमार नेपाल समूहमा थिइन् । माधवकुमार नेपालले नयाँ दल गठनको प्रक्रिया अगाडि बढाएपछि उनले नेपालको साथ छोडेर नेकपा एमालेमा नै रहने निर्णय गरेकी थिइन् । 

नेपालको नयाँ दल नेकपा एकीकृत समाजवादी बन्नुअघि मात्रै उनले बागमती प्रदेश सभाको मुख्यमन्त्री पदको जिम्मेवारी लिएकी थिइन् । दल विभाजनपछि बागमती प्रदेश सभाका एमाले सांसदहरुमध्ये ११ जनाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णयसँगै बागमती प्रदेश सभामा उनले विश्वासको मत नपाउने अवस्था आएको थियो । विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

पछिल्लो समय नेकपा एमालेबाट विभाजित भएर नयाँ दल खोलेका माधवकुमार नेपालबारे उनले चर्को आलोचना गर्न थालेकी छिन् । 

एमालेको महाधिवेशन चितवनमा १० मंसिरमा सुरु हुँदैछ । पदाधिकारीमा पनि सर्वसम्मत गर्ने प्रयास गरेको एमालेको पदाधिकारीमा महिलाको संख्या कति हुन्छ अहिलेसम्म एकिन भएको छैन । तर, शाक्यसँगै राधा ज्ञवालीले एमाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकी छिन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ५:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया