काठमाडौं- मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याएको छ ।
बुधबार दिउँसो देशको पश्चिमी भूभाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रहने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातको समयमा पश्चिमी तथा पूर्वी पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । पश्चिमी पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
बिहीबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ । आज उपत्यकामा बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ तथा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ । ताप्लेजुङ र जुम्लामा न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।