अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने ।
कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो ।
सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो ।
करिब चार घन्टा लामो सो बैठकमा दुवै नेताहरुले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाईटहाउसका महिला प्रवक्ता जेन साकीले बताइन् । कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन् ।
चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका छन् ।
बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।
चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रततामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।