बार महासचिवले भने, ‘जनइच्छा विपरीतका सरकार ढल्न सक्छ’

दुई दिनयता सर्वोच्च अदालत परिसर तनावग्रस्त हुँदै आएको छ । एसएलआर बोकेका प्रहरीले धर्नास्थलमा जान वकिलहरूलाई अवरोध पुर्याउने गरेका छन् । सो क्रममा दुवै पक्षबीच घम्साघम्सी पनि पर्ने गरेको छ । 

बिहीबार भने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानुन व्यवसायी प्रहरीले बल प्रयोग गर्दा घाइते भए ।

यसपछि आक्रोशित भएका बार महासचिव लीलामणि पौडेलले जनइच्छा विपरीत सरकार अघि बढे ढल्ने दाबी गरेका छन् । 

‘जनइच्छा विपरीतका शासनहरू कहिले पनि टिक्न सक्दैनन् । २०४६ मा होस् या त २०६३ मा होस्, हरेक पटक ढलेका छन् । फेरि पनि ढल्न सक्छन्’, पौडेलले आज धर्ना कार्यक्रममा भने, ‘त्यसकारण आफूलाई लोकतान्त्रिक भन्ने सरकारलाई अलोकतान्त्रिक कदम नचाल्नुहोस् भन्न चाहन्छु ।’

प्रहरीको उपस्थिति सर्वोच्च परिसरमा दुई दिन यता बाक्लो छ । यसलाई लिएर महासचिव पौडेल गृहमन्त्रीप्रति आक्रोशित भए । 

‘तपाईं लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएको सांसद र सरकारको गृहमन्त्री भएर लोकतन्त्रकै पक्षमा, संविधानकै पक्षमा, आम नागरिकको हक हितको पक्षमा लाग्ने कानुन व्यवसायीहरूलाई दबाउनका लागि प्रहरी प्रवेश गराउनु भएको छ’, उनले थपे, ‘सायद तपाईं पनि कारिन्दा हुनुभयो क्यारे । कृपया कारिन्दा नहुनुहोस् ।’



बारको नेतृत्वमा १४ कात्तिक यता कानुन व्यवसायीहरू आन्दोलित छन् । उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन दबाब दिँदै आएका छन् ।
‘विचौलिया र भ्रष्टाचारको नाइके’ संज्ञा पनि दिँदै आएका छन् । 



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १३:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया