आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुनुहुन्न : डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् । 

कांग्रेसको १४औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’ का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

प्रदेश सभा ‘क’को अधिवेशन विशाल मिलन केन्द्र र प्रदेश सभा ‘ख’को अधिवेशन अनुप्रस्थ पार्टी प्यालेसमा भइरहेको छ ।

सहमहामन्त्री महतले भने,‘यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर, हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्दछ । तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरूलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनुपर्दछ ।’

उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रूपमा लिन आग्रह गरे । ‘निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरूबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्दछ । अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस्,’ महतले भने ।

नेपाली कांग्रेसको १४ महाधिवेशनको क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ । महाधिवेशनको क्रममा ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । 



त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन १० मंसिर र प्रदेश अधिवेशन १६ र १७ मंसिरमा हुँदैछ ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १४:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया