सहकारीलाई समृद्धिको आधारका रूपमा विकास गर्ने भिजन बनाउँदै छौँ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको जानकारी दिएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३० औं साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता औँल्याउँदै समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहकारी संस्थाहरुको योगदान महत्त्वपूर्ण रहने विश्वाससमेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पूँजी र प्रविधिलाई एकीकृत गर्ने, बृहत् सञ्जालीकरणमार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सृजनाद्वारा उद्यमशिलताको प्रवर्द्धन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिइन् ।

सहकारी र बैंकबीच कानुनी, प्रशासनीक तथा सैद्धान्तिक रूपमा नै अन्तर रहेकाले वचत तथा ऋण सहकारी तथा बहुद्देश्य सहकारीहरु सामूहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहे तापनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै यसमा सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले औंल्याइन् ।

उनले सहकारी आधारभूत मूल्य मान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण नागरिकको विश्वास र भरोसा घटिरहेको वर्तमान सन्दर्भमा संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने हो कि भन्ने भइरहेकोले यस्तो अवस्था आउन नदिन सवै पक्ष लाग्नु पर्ने बताइन् ।



बचत तथा ऋण सहकारी क्षेत्रमा नीतिगत कानुनी तथा व्यावहारिक समस्या छन् भने त्यसलाई हटाई साझा अवधारणा विकास गरी मन्त्रालय अघि बढ्न तयार रहेको पनि उनले बताइन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुलाई सीमान्तकृत समुदायमा विशेष कार्यक्रममार्फत पहुँच स्थापित गर्न, बचत तथा ऋण सहकारी संस्थाहरुको एकीकरणमार्फत बलियो संस्था बनाउन, कृषि, उत्पादनप्रति केन्द्रित गर्न र समग्र  गुणस्तर कायम गर्न सवैको प्रयास आवश्यक रहेको बताइन् ।



मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको वित्तीय सुशासन कायम गर्न सहकारी विभागमार्फत सञ्चालनमा ल्याइएको सहकारी सूचना प्रणालीमा निःशर्त आवद्ध हुने र सहकारी विभागमार्फत जारी निर्देशिका, मापदण्डहरुको अक्षरशः पालना गर्न आग्रहसमेत गरिन् ।

 

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १४:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया