श्रममन्त्री भन्छन् - प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन हुन्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् ।

शुक्रबार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन् ।

उनले ‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने पनि बताए । मन्त्री श्रेष्ठले श्रमिकलाई एजेन्टमार्फत नभइ सिधा म्यानपावरसम्म पुर्‍याउनका लागि पहल गर्ने बताए । सरकारले श्रमिकको हकहितमा केन्द्रित रहेर केही विशेष निर्णय गर्न लागेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिले वैदेशिक रोजगारमा सबैभन्दा भाषा, भाषण, कस्तो मिठो छ, फ्रि भिसा, फ्रि टिकट, भन्दा त असाध्यै राम्रो हो । अब यसलाई कसरी व्यवस्थित गर्ने ?' उनले भने, 'यस विषयमा छलफल गरेर केही निर्णय गर्दैछौँ । श्रमिकहरूले एजेन्टमार्फत् नभई सिधा म्यानपावरमा सम्पर्क गर्ने व्यवस्था कार्यान्वयन गरिनेछ, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने छौँ ।’

मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता श्रमिकको हकहित हुने बताए । उनले श्रमिकहरूको हकहित खोस्नेहरूलाई कानुनअनुसार कारबाही गरिने पनि बताए । मन्त्री श्रेष्ठले ठगिएका श्रमिकहरूको कुरा नसुनी कुनै मुद्दा नछिन्ने बताउँदै जतिसुकै दबाब आए पनि श्रमिकको सुरक्षा र हकहितमा लागिरहने प्रतिबद्धता जनाए । उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई कारबाही गर्न मन्त्रालय कटिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताए । उनले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको भन्दै कामदारहरुलाई न्यूनतम पारिश्रमिक पाउने व्यवस्थाका लागि पहल गरिरहेको समेत जानकारी दिए ।



मन्त्री श्रेष्ठले तत्काल चाँडै ७ वटा प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउने र दोस्रो चरणमा ७५३ वटै पालिकामा यो सेवा सुरु गर्ने पनि बताए । उनले नेपालमै रोजगारीको अवस्था सिर्जना गर्ने सरकार र आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

मन्त्री श्रेष्ठले श्रम सूचना बैंक दुई हप्ताभित्र सञ्चालन गर्ने र स्वदेशमा रहेका श्रमिकहरुको लागि श्रम अस्पतालको पनि कल्पना गरिरहेको बताए ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १६:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया