कप्तान र उपकप्तान चम्किँदा कतारमा ऐतिहासिक सफलता, अब चुनौती युएई भ्रमणको

नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटी २० आई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै सानदार क्लिनस्विप गरेको हो । नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रन र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

नेपालले पहिलो पटक खेलेको यो खेलमा नेपालले राम्रो खेल प्रदर्शन गर्‍यो । लामो समय पश्चात मैदानमा फर्किएका नेपाली खेलाडीले कतारी भूमिमा घरेलु मैदानमा नै कतारमाथि उत्कृष्ट नतिजा पस्कियो ।

नेपालले तुलनात्मक हिसाबले पहिले खेल्ने गरेको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भन्दा राम्रो प्रदर्शन देखाएको हो । नेपाल आइसीसीको महिला क्रिकेट वरीयतामा १४ औं रहेको टोली हो भने कतार वरीयता पर्न सकेको छैन ।

नेपालका लागि धेरै खेलाडी आए । प्रशिक्षक पनि धेरै परिवर्तन भए । यसका लागि क्रिकेट एसोसिएसन नेपालले पनि अघिल्लो वर्षदेखि महिला क्रिकेट टोलीलाई तलबको व्यवस्था गरेको छ ।

नेपालमा महिला क्रिकेटको अवस्था विस्तारै सुध्रिँदै गइरहेको खेलबाट प्रष्ट थाहा पाउन सकिन्छ । खेलमा सुधार ल्याउन अनवरत रुपमा लागेका खेलाडी र प्रशिक्षकलाई संघका तर्फबाट राम्रो सुनुवाइ नभएको गुनासो भने बेला बेला निकै चर्चामा आउँछ ।

नेपाली महिला टोलीले एक नयाँ अनुभव गर्ने मौका कतारमा पायो । पहिलो पटकको यो डब्लु टी २० खेलमा पहिलो पटक ५५ रन बनाउँदै नेपालको तर्फबाट टी २० मा पहिलो अर्धशतक बनाउने महिला बनिन् इन्दु बर्मा । इन्दु बर्मालगायत अन्य खेलाडीले पनि लामो समयको मैदानको भोक मेटाउन प्रयास भने गरेका छन् । यसै क्रममा नेपालको तर्फबाट सबैभन्दा बढी रन बनाउने र सबैभन्दा बढी विकेट लिने खेलाडी पनि नेपालबाट नै भए ।



यो सिरिजमा नेपालकी कप्तान रुविना क्षेत्री सर्वाधिक विकेट लिने खेलाडी बनिन् । त्यस्तै उपकप्तान सीता राना मगर ब्याटिङमा चुम्किइन् । कप्तान र उपकप्तान यो जोडीले कतारमा भएको सिरिजमा अनुभवको राम्रो प्रदर्शन गरे ।

सबै अनुभवी खेलाडी र पुरुष टोलीको पनि निकै पटक प्रशिक्षण सम्हाली सकेका प्रशिक्षक जगत टमाटा पनि नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका प्रशिक्षक हुन् । उनले विपक्षीको रणनीति र प्रदर्शन तथा टोली हेरेर नेपाली टोलीमा रणनीति बनाए । जसका कारण नेपाली टोलीले यस सिरिजमा क्लिनस्विपको उत्कृष्ठ नतिजा निकालेको हो ।



सीता राना मगर

नेपालकी उपकप्तान सीता राना मगरको उत्कृष्ट ब्याटिङ नेपालको सानदार जितको मुख्य आधार बन्यो । उनले पहिलो खेलमा ३९ रन बनाइन् । दोश्रो खेलमा उनी मैदानमा उत्रिइनन् । तेश्रो खेलमा भने अविजित ८२ रनको उत्कृष्ट इनिङ्ग खेलेकी हुन् । उनी सिरिजकै उत्कृष्ट ब्याटर पनि सावित भइन् । सीताले नेपाली महिला खेलाडीकै व्यक्तिगत उच्च स्कोर बनाएकी हुन् ।

रुविना क्षेत्री

नेपालकी कप्तान रुविना क्षेत्रीले बलिङमा उत्कृष्ठ प्रदर्शन गरिन् । उनले पहिलो खेलमा १.५ ओभर बलिङ गर्दा १ रन खर्चेर ३ विकेट लिइन् । उनले दोश्रो खेलमा २.३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै तेश्रो खेलमा भने ४ ओभर बलिङ गर्दै ९ रन खर्चेर १ विकेट हात पारिन् ।

यी दुवै खेलाडीले नेपाली महिला क्रिकेटमा लामो समय बिताइसकेका छन् । टोलीलाई राम्रोसँग चिनेका दुवै खेलाडीको प्रदर्शन प्रशंसनीय रह्यो ।

योसँगै नेपालका अन्य खेलाडीले पनि कतारमाथि लगातार दबाब बनाइ राखेर नेपाललाई जितको खुसी दिन सफल भए । बलिङ र ब्याटिङ दुवैमा नेपाली महिला खेलाडीले उत्कृष्ट प्रदर्शनसँगै नेपालले यो सिरिजमा क्लिनस्विपमार्फत बाजी मार्‍यो ।

नेपाललाई चुनौती दुबई भ्रमणमा थपिने छ । दुबईमा नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १९:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया