छाेराकाे मृत अनुहारकाे सम्झनाले छोड्दैन सताउन
फरकधार / ४ मंसिर, २०७८

चेतनाका हिसाबले रूपान्तरण हुने बाटोमा भर्खर हिँड्न लागेको समाज । लिंग, वर्ग र जातका आधारमा मान्छेले मान्छेलाई गर्ने विभेद । जीवनको उत्तराद्धमा छोरा चाहिन्छ भन्ने सामाजिक मान्यता । यस्तै मान्यताबाट जकडिएको एउटा परिवार । जुन परिवारमा ५औं सन्तानका रूपमा जन्मिएकी उपासना घिमिरे । जसले समाजका यावत मान्यतासँग बुवाआमाले मुकाबिला गरेको देख्नु परेन । 



५ छोरी जन्माएका उनका बुवाआमाले समाजका कति थरी प्रश्नको सामना गर्नुपर्यो यो उनलाई थाहा छैन । न उनले कहिले सोध्ने आँट गरिन्, न उनका बुवा आमाले नै ‘समाज यसो भन्छ, तिमीले यो काम गर्नु पर्छ । तिमी यस्तो हुनुपर्छ’ भने । उनी जीवनको आफ्नै लय समातेर हुर्किइन् । 

कृषिमा आश्रित परिवार । उनका दिदीहरू खेतीपातीका सबै काम गर्थे । कान्छी छोरी भएकाले पनि उपासनाले उति साह्रो काममा ध्यान दिनु परेन । सानैबाट पढ्न रहर गर्ने उपासना स्कुलकी उत्कृष्ट ३ भित्र पर्ने विद्यार्थी थिइन् । कम बोल्ने, जिम्मा लिएका हरेक काम राम्रोसँग गर्ने उनको बानीसँग स्कुलका गुरु पनि प्रभावित थिए । भन्थे, ‘तिमी जे जुन क्षेत्रमा गए पनि आफूलाई स्थापित गर्ने छौ ।’

चितवनको भीमनगर स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास गरेकी उपासना उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन् । त्यसबेला उपासनाको आफ्नो सपना थियो नर्स बन्ने । उनका अंकल युवराज घिमिरे पत्रकारिता गर्थे । उनको नाम र चर्चा देखेका उपासनाका बुवाले छोरीलाई पनि आमसञ्चार पढाउने निधो गरें । उनले बुवासँग रहर भन्ने आँट नै गर्न सकिनन् । त्यही सजियो उपासनाको नर्स बन्ने सपना । बोल्न नसक्दा छुटी गएको जीवनको एउटा सपनाले लामो समय ‘बोल्न सकेको भए’ भन्ने भइरहन्थ्यो । 



विश्व भाषा र रत्न राज्य क्याम्पसले जोडेको पिरती

काठमाडौं आएपछि उपासना रत्नराज्य क्याम्पसमा भर्ना भइन् । स्नातकोत्तर सुरु गरेपछि उनको भेट विश्व भाषा क्याम्पसमा पढ्ने प्रमोद पाण्डेसँग भयो । भेट बिस्तारै मित्रता हुँदै प्रेममा परिणत भयो । उपासनाका सबै दिदीहरूको विवाह भैसकेको थियो । इन्ट्रान्स गर्न कान्तिपुर गएकी उपासना त्यहीकी कर्मचारी भैसकेकी थिइन् । घरमा उनको विवाहको कुरा सुरु भैसकेको थियो । प्रमोदसँगको भेट, मित्रता र प्रेमले उनलाई जीवन सहज भएजस्तो लाग्यो । प्रमोद र उपासनाले यो सहजतालाई जीवनभर अँगाल्ने निधो गरे । झण्डै एक वर्षको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे ।
 
विवाहले असर नगरेको करिअर

नेपाली समाजको सन्दर्भमा धेरै छोरीको करिअर विवाहपछि घरधन्दामा सीमित हुने गरेको थुप्रै उदाहरण छन् । कामका लागि बाहिर निस्कने सहज वातावरण हुँदैन । उपासनाको हकमा भने यो लागु भएन । उनका श्रीमान उनको पत्रकारितालाई लिएर खुसी थिए । भन्थे, ‘तिमीले हात हालेको क्षेत्रमा अब्बल बन्नू ।’ घरका अन्य सदस्यले पनि कहिल्यै ‘तिमी घरमै बस्नु पर्छ, काम छोड’ भनेनन् । विवाहपछि पनि उनको पत्रकारिताले निरन्तरता पायो ।
 
काम गर्दै जाँदाका आफ्नै खाले सुखदुःख होलान्, उतारचढाव होलान् । तर इन्टर्न गर्न गएको पब्लिकेसन्स भित्रकै एउटा प्रकाशन (नारी मासिक)को सम्पादकसम्म पुग्नुमा परिवारको ठूलो साथ र हात रहेको उपासना बताउँछिन् । कामका सिलसिलामा ढिलो घर पुग्दा उनलाई कहिल्यै ‘किन ढिला गरेको’ भनेर प्रश्न नगर्ने सासू–ससुरा, रिपोर्टिङका लागि बाहिर निस्कनु पर्दा पुर्‍याउन अनि लिन जाने श्रीमान । आज के गर्दैछौ ? अफिसको वातावरण कस्तो छ ? यसो गर्दा राम्रो हुन्छ है भनेर गर्ने छलफल नै सफलताको बलियो कडी हुन् उपासनाको जीवनका । 

५ महिनामा टुटेको खुसी

काममा सपोर्ट गर्ने परिवार । पढाइमा चिन्ता गरिरहने बुबाआमा । बन्दै गएको आफ्नै पहिचान । यो सुन्दर जीवन विवाह गरेको दुई वर्षपछि शारीरिक रूपमा कमजोर हुन थाल्यो । अफिस जाँदा आउँदा गाह्रो हुन थाल्यो । खान मन नहुने, शारीरिक थकान सुरु भएपछि उपासनाले चेकअप गराइन् । यो थकानले उनको जीवनमा अर्को खुसी लिएर आयो । उनी आमा बन्ने भइन् । प्रेगनेन्सी रिपोर्ट पोजेटिभ आएको त्यो समय उनी केही नर्भस, केही खुसी भएकी थिइन् । परिवारका सबै सदस्य खुसी भए । 

गर्भावस्थाका सुरुवाती दिनमा उनलाई निक्कै वमिट हुन्थ्यो । सुरुवातका महिनादेखि नै बेलाबेला रगत बग्ने समस्या देखिरहन्थ्यो । नियमित चेकअप गराउने क्रममा त्यस्तो खराबी केही देखिएको थिएन । उनी नियमित काममा सक्रिय थिइन् । पेटमा बच्चाको सुरुवाती मोमेन्ट सुरु हुन थालेको थियो ।
 
गर्भावस्थाको ५ महिना पार भएको थियो । त्यो दिन उनी अफिसमा काम गर्दै थिइन् । एक्कासि बच्चा पाठेघरबाट तल झरेको जस्तो महसुस भयो । गाह्रो भयो । त्यतिबेला कान्तिपुर पब्लिकेसन्सको अफिस तीनकुनेमा थियो । उनीसँगै थिइन सहकर्मी सिर्जना दुवाल । सिर्जना र केही साथीहरूसँग उपासना सिनामंगलको केएमसी अस्पताल गइन् । उनको पहिलो गर्भ त्यही अस्पतालमा खेर गयो । नर्सहरूले बच्चा देखाइदिए । छोरा रहेछ । निक्कै दिनसम्म उपासनालाई सम्हालिन गाह्रो भयो । आँखाभरि छोराको आकृति आउँथ्यो । उनी निदाउन सक्दिनथिन् । एकान्त खोज्थिन् र आँसु बगाउँथिन् । आँसुले पनि कहाँ पखाल्थ्यो र सन्तान वियोगको पीडा ! यो समय साथी र परिवारले दिएको साथले उनलाई ‘हिलिङ’को काम गर्यो । उनी आफैंले पनि आफूलाई बलियो बनाएर काममा निस्कनु थियो । सोचिन्, ‘फेरि अर्को भैहाल्छ । मैले पीर गरेर पनि गएको फर्किएर आउने होइन ।’ बिस्तारै उनी काममा फर्किन् । त्यसो त ५ महिनाको खुसी दिएर कोखमै वितेको छोराको सम्झनाले उपासनालाई अहिले पनि कहिलेकाहीँ सताउँछ । ‘लामो समयसम्म सपनामा देखिरहन्थे’ आँखाभरि आँसु पार्दै उपासनाले सुनाइन् ।

फर्किआएको खुसी

जे नहुनु थियो त्यो भैहाल्यो । समयको त्यो बिन्दुलाई सम्हालेर आफूलाई पुनः लयमा फर्काउनु नै थियो । उपासना त्यही कोसिसमा थिइन् । उनको यो कोसिसमा बेला बेला आँधी बनेर आउँथ्यो सामाजिक सोच । कतिपय आफन्त, छिमेकी र साथीले पनि भन्थे, ‘पहिलो बच्चा नै खेर गएपछि अर्को बच्चा हुन गाह्रो हुन्छ ।’ डर, पीडा र छट्पटाहट एकैपटक उर्लिन्थ्यो उनको मनमा । 

पहिलो बच्चा खेर गएको चार महिनापछि उनको जीवनमा खुसी फर्कियो । उनी पुनः आमा बन्ने भइन् । यसपटक भने उनले सुरुबाटै ‘प्रिकसन’ अपनाइन् । गर्भावस्थाको सुरुवाती एक महिना अफिस बिदा लिएर पूर्ण रेस्टमा बसिन् । गर्भको बच्चाको सुरक्षाका लागि ‘इन्जेक्सन’ लगाइन् । पहिलो असर जीवनको हर क्षणमा देखिन्छ भन्थे । सायद उपासनालाई पनि त्यस्तै भएको थियो । 

प्रिय बन्यो सुन्तला

एक महिनापछि उपासना काममा फर्किन् । गर्भवती हुनुअघि उनलाई मासुका परिकार असाध्यै मन पर्थ्याे । गर्भ बसेपछि भने उनलाई मासुको गन्धै मन नपर्ने भयो । अन्य खानेकुरा पनि बास्ना आउनेभन्दा धेरै गन्हाउन थाले । तर यो समय उनलाई सुन्तला निक्कै मन पर्थ्याे। उपासना भन्छिन्, ‘सुरुको ३ महिना जति त म सुन्तलाले मात्रै अडिएँ हुँला ।’ गर्भावस्थाका सुरुवाती ३ महिना निक्कै गाह्रो भयो । 

त्यो समय अहिलेजस्तो इन्टरनेटको पहुँच सहज भैसकेको थिएन । गर्भावस्थाको बारेमा लेखिएका किताब भेटिएन भने प्रमोद किनेर ल्याइदिन्थे । नियमित चेकअपका क्रममा सधैं आफूसँगै जान्थे । श्रीमानको साथले उपासना शारीरिक अप्ठ्याराहरू सबै बिर्सन्थिन् । 

छोरीको चाहना

पहिलो बच्चा ‘मिस क्यारेज’ भएकाले पनि होला उपासनामा छोरा वा छोरीको चाहना थिएन । उनमा केवल स्वस्थ बच्चा जन्माउन सकूँ भन्ने कुरा मात्रै दिमागमा आउँथ्यो । उनका श्रीमानलाई भने छोरीको चाहना थियो । छोरीको चाहना सुनाइरहन्थे । प्रमोदले छोरी गर्भमै हुँदा छोरीको नामाकरण ‘प्रेसीओसा’ भनेर गरिसकेका थिए ।

त्यो समय अहिलेजस्तो गर्भावस्थालाई लिएर सेलिब्रेसन गर्ने प्रचलन थिएन । उनलाई भने उनका आमाजू र आमाहरूले मिलेर ‘बेबी’ सावर गरिदिएका थिए । आफ्नो खुसीमा खुसी भएर आफन्तले गरिदिएको सेलिब्रेसनको त्यो क्षण अहिले पनि विशेष लाग्छ उनलाई ।
 
पहिलो बच्चाको असर दोस्रो गर्भावस्थाको आखिरीसम्म पर्‍याे । उनी ८ महिना लागेपछि पूर्ण रूपमा पुनः बिदा बसिन् । बिदामा बसेपनि उनी घरका सानातिना काम गरिरहन्थिन् । भन्छिन्, ‘गर्भवती महिलाले पनि शारीरिक कसरत हुनेखालका सानातिना काम गरिरहनु पर्छ।’

त्यो दिन उनकी छिमेकीले भक्तपुरबाट जुजुधौ दही मगाएकी थिइन् उपासनालाई दही चिउरा खुवाउन । बिहान ५ बजे उपासनालाई लेभर पेन सुरु भयो । उनी केएमसी अस्पताल पुगिन् । भर्ना भइन । सोही अस्पतालमा उनकी दिदी डा. उर्मिला कार्की पनि थिइन् । अस्पतालमा दिदी छन् भन्ने एक खालको भरोसा थियो उनलाई । त्यो समय उनकी दिदी त्यहाँ रहिनछिन् । दिदी बाहिर भएकाले आउन पनि पाइनन् । उपासना भन्छिन्, ‘पीडामा आफन्त खोजिँदो रहेछ । आफन्त नजिकै भए दुखाइ पनि कम हुन्थ्यो कि जस्तो हुँदो रहेछ । मैले पनि दिदीलाई खोजेकी थिएँ ।’ 

अरूको पीडा देख्दा डर

उपासना बिहान हिँड्दै गएर अस्पताल भर्ना भएकी हुन् । उनी भर्ना हुनुअघि नै धेरै महिला आमा बन्ने पर्खाइमा अस्पताल भर्ना भएका थिए । प्रसुती वार्डमा देखिएको महिलाको क्रन्दन, पीडा र छट्पटाहटले उपासना आफूलाई प्रसव व्यथा सुरु हुनु अगावै डराइन् । डरले कहिले चिट्चिट पसिना निस्कन्थे त कहिले सुस्केरा निस्कन्थे । अस्पतालका भित्ताहरूमा हेर्थिन् र सोच्थिन्, ‘अब के हुने होला ।’ तर उनलाई लामो प्रसव व्यथा लागेन । प्रसव व्यथा सुरु भएको दुई घण्टापछि ‘नर्मल डेलिभरी’ भयो । उनले छोरीलाई जन्म दिइन । उपासना आमा भइन । उपासना सुत्केरी भएर नर्मल वार्डमा निस्कँदा अन्य विरामीका कुरुवाले भनेका थिए, ‘तपाईं त बिहान भर्खर हिँड्दै आउनु भएको होइन ? कति छिटो सुत्केरी हुनु भएको ?’

आफ्नै बच्चा देखेर आत्तिएँ

​घरकी कान्छी छोरी । सबैले पुलपुलाएर हुर्काएकी । घरमा पनि उनले उस्तै प्रकारको स्नेह पाइन् । उनको आँखा अगाडि कोही सुत्केरी भएको अनुभव नसँगालेकी उपासना पहिलो पटक आफ्नै बच्चा देखेर आत्तिन् । केएमसी अस्पतालको प्रसुती वार्डमा उनकी छोरी जन्मिन् । नर्सहरूले बधाई दिए । उनीहरूले छोरी आमाको नांगो छातीमा राखिदिए । छोरीको त्यो न्यानोपन स्पर्श गर्नु अघि नै उनी आत्तिइन् । भनिन्, ‘आब्बुइ यो के गरेको हटाइदिनु न ।’ नजिकै रहेका डाक्टरले भने, ‘तपाईंको बच्चा हो किन आत्तेको ?’ उपासनाको जीवनमा उनले यति सुन्दर र अविस्मरणीय क्षण अर्को सँगालेकी छैनन् । सरसफाइपछि उनका आफन्तलाई डाक्टरले छोरी जिम्मा लगाए । त्यसपछि उपासनाको स्टिचिङको काम सुरु भयो । प्रसव पीडा भन्दा ठूलो पीडा त यहाँ हुँदो रहेछ । स्टिचिङको दुखाइसँगै उपासना बरबराइन्, ‘मेरी छोरी खोइ !’

आमाको महत्त्व बढेर गयो 

उपासनाको बिहे भएको पछिल्लो वर्ष उनका बुवाको निधन भयो । यतिबेला उनीहरू काठमाडौं आइसकेका थिए । आमा एक्लै भइन् । उनका दिदीहरू काठमाडौं बाहिर थिए । उपासना नजिकै थिइन । हरेक पटक आमाले ऐया ! भन्दा पुग्ने उनै हुन् । साँझ विहान पस्ने, आमाको हालखबर बुझ्ने गर्थिन् । आमालाई के खान मन लागेको छ, के लगाउन मन लागेको छ सोधिरहन्थिन् । उनलाई लाग्थ्यो, ‘मैले आमालाई सबै हिसावले माया गरेको छु ।’ छोरी जन्मिएपछि भने उनलाई लाग्यो यतिले मात्रै आमाको महत्त्व सकिँदैन रहेछ । प्रसव व्यथाले च्याप्दा होस् अथवा छोरी जन्मिसकेपछि उपासनाका आँखाले आमालाई खोजी गरे । आफ्नो आडमा छोरीसँगै बसेर हेरिरहेकी आमा त्यतिबेला उनलाई लाग्यो ‘संसारको सबैभन्दा भाग्यमानी म नै हुँ ।’

छोरी जन्मिएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । उनी छोरी बोकेर घर फर्किन् । उनलाई अस्पतालबाट घर गएको जस्तो मात्रै महसुस भएन, अर्कै लोकमा गएको जस्तो महसुस भयो । घर गए पछिका केही दिन उनलाई छोरी लिएर सुत्न डर लाग्यो । छोरीलाई दूध चुसाउन जानिनन् । सासू, जेठानी र आमाजूहरूले  सिकाइदिए । केही दिन सासूआमाले छोरी आफैले लिएर सुतिन् । 

छोरी साथमा भएपछि समय गएको पत्तै हुँदैनथ्यो । गर्मी महिना । उपासना घाममा गएर तेल लगाउन मान्दैनथिन् । सासू गाली गरिरहन्थिन् । उपासनालाई लाग्थ्यो, ‘कचकच नगरे पनि हुन्थ्यो ।’ त्यतिबेला उनको स्याहार गर्न मन्जु नाम गरेकी दिदी आउँथिन् । उनकी सासु भन्थिन्, ‘मन्जु मैले भनेको उपासनाले मानिनन् । जीउ कमजोर हुन्छ । लौन उसलाई सम्झाइदेऊ ।’ अहिले सम्झँदा उपासनालाई लाग्छ ‘सासूको यो कचकच आफ्नो जीवनकै सम्पत्ति रहेछ ।’

छोरी हुर्काउने क्रममा आफूलाई खान मन लागेको धेरै कुरा छोडिन् उपासनाले । छोरीले दूध खाँदासम्म साग धेरै खाइनन् । दूध खाने बच्चाकी आमाले साग खाँदा बच्चाको पेट दुख्छ भन्थे । साग, अमिलो, पिरो चिसो लामो समयसम्म उनको रोजाइमा परेनन् । 

काममा फर्किँदा गाह्रो

अफिसले २ महिनाको सुत्केरी बिदा दिएको थियो । १५ दिन बढी बिदा बसेर साढे दुई महिनामा उनी काममा फर्किन् । सुत्केरी भएपछि पहिलो दिन अफिस जान उनी कमलपोखरीबाट नेपाल यातायात चढिन् । बसमा एउटी आमाले आफ्नो बच्चा बोकेर बसिरहेकी थिइन् । उपासनाका आँखाबाट अनायासै आँसु बग्न थाले । उनलाई लाग्यो, ‘मेरो छोरी घरमा एक्लै छ ।’ योभन्दा पहिला उपासनाकी एउटी साथी बच्चा घरमा छोडेर आउँदा अफिसमा रुन्थिन् । त्यतिबेला उनलाई लाग्थ्यो, ‘किन रोकी होला ।’ आमा भएपछि मन कोमल बन्दो रहेछ भन्ने उनले त्यही दिन थाहा पाइन् । त्यो दिन अफिसमा ३ घण्टा बसिन् । ५ चोटि सासूलाई फोन गरिन् । अफिस जाने लामो समय बस्न नसक्ने लामो समयसम्मै भयो । 

काम धेरै परेको दिन छोरी दिनभरि छोड्नु पथ्र्यो । लामो समय छोरी छोड्दा उनका स्तनबाट दुध चुहिन्थ्यो । उपासनाका आँखाबाट आँसु । उनलाई त्यसबेला लाग्थ्यो, ‘काम छोडेर छोरीसँगै बसूँ ।’ घरमा सासूससुराले भन्थे ‘हामी छौँ छोरी हेर्ने, तिमी आफ्नो काम ढुक्कले गर ।’ उनकी छोरी कहिले मामाघर त कहिले घरमा हजुरबुवाहजुरआमाको काखमा हुर्किन् । उपासना भन्छिन्, ‘संयुक्त परिवारमा हुर्किएको बच्चाको सानैबाट सोच्ने तरिका नै फरक हुने रहेछ । बच्चाको स्वास्थ्यदेखि लिएर संस्कार सबै कुरा राम्रो ।’

त्यो पहिलो बिछोड

उपासनाकी छोरी ३ वर्षकी भइन् । उनले छोरीलाई स्कुल पठाउने निधो गरिन् । ग्यालेक्सीमा छोरीलाई भर्ना गरिन् । पहिलो दिन छोरी छोड्न गएकी उपासनालाई स्कुलबाट फर्किन निक्कै गाह्रो भयो । छोरी भित्र पठाएर स्कुलको गेटबाट चिहाएर उनले निक्कैबेर हेरिरहिन् । स्कुल भर्ना गरेको अघिल्लै दिन उपासनाकी छोरीले हजुरआमालाई भनेकी थिइन्, ‘आमा अब भोलिबाट म स्कुल जान्छु, तपाईं कोसँग बस्नु हुन्छ ?’ भोलिपल्ट नातिनी घरबाट निस्कँदा हजुरआमा बाटो हेरेर रोएकी थिइन् । सासुका आँसुले नै कमजोर बनेको उपासनाको मन छोरी स्कुलको गेट भित्र पसेपछि झन् भत्कियो । उनलाई लाग्यो, ‘आजैबाट छोरी टाढा हुने क्रम सुरु भयो ।’ 

बिस्तारै सबै कुरा सामान्य लाग्दै गयो । छोरी हुर्किँदै गइन । पढाइमा अब्बल छिन् उनकी छोरी । पढाइसँगै अतिरिक्त कृयाकलापमा पनि निक्कै सक्रिय छिन् । स्कुलमा हुने हरेक क्रियाकलापमा पुरस्कार जितेर घर फर्किन्छिन् । उपासनाले उनको जीवनमा थुप्रै पुरस्कार जितेकी छिन् । ‘छोरीले जितेर ल्याएको पुरस्कारको जति महत्त्व आफूले जितेको हुँदैन रहेछ’ उपासनाले सुनाइन् ।

चार दिनपछिको पुनर्मिलन

​छोरी हुर्कँदै जाँदा उपासना बेलाबेला रजस्वलाको बारेमा बताइरहन्थिन् । अघिल्लो वर्ष छोरी स्कुल पठाएर अफिस गएकी उपासनालाई छोरीको फोन आयो । उनले भनिन्, ‘ममी छिटो घर आउनू न ।’ उपासनाको मन आत्तियो । उनी हतारहतार घर आइन् । घर आउँदा उनकी छोरी रजस्वला भएकी रहिछन् । अरूलाई भन्न नसकेर आमालाई बोलाएको छोरीले उनलाई भनिन् । 

संयुक्त परिवार, घरमा बुढाबुढी भएका सासूससुरा नमान्दा नमान्दै पनि छोरीलाई चार दिन लुकाउने कुरा भयो । घरमै एउटा कोठामा उपासना छोरीलाई लिएर बसिन् । कोरोना महामारी बढ्दै गएकाले स्कुल बन्द भए । उनकी छोरीले बाहिर निस्कनु परेन । तर हरेक दिन परिवारको वरिपरी बसिरहने छोरी एक्लै कोठामा बस्नु पर्दा न्यास्रो मान्थिन् । महिनावारी भएको चार दिनमा छोरी बाहिर निस्किन् । बुवाले गिफ्ट दिए । छोरी निक्कैबेर बुवाको अँगालोबाट निस्कन मानिनन् । यो दृष्यले उपासनालाई निक्कै भावुक बनायो ।
 
संगीतमा रुचि

उपासनाकी छोरी ७ कक्षामा पढ्ने भइन् । उनका सपना परिवर्तन भैरहन्छन् । अहिले उनको रुचि संगीतमा छ । बुवासँग बस्ने, गिटार बजाउने, गीत गाउने गरिरहन्छिन् । उपासनाका आँखामा भने छोरीलाई लिएर कुनै पनि प्रोफेसनको सपना छैनन् । उनी भन्छिन्, ‘छोरीले देखेका हर सपनामा साथ दिने र उनको सपना पूरा गर्न कसरी सहज हुन्छ त्यो सबै गर्छु ।’ धेरै आमाबुबा आफ्ना अधुरा सपना छोराछोरीले पूरा गर्दिउन् भन्ने साेंच्छन् । उपासनाका  सासू ससुरा नातिनी डाक्टर बनोस् भन्ने चाहन्छन् । उनीहरूको पनि यो चाहना मात्रै हो, ‘कहिल्यै तिमी यही बन्नु पर्छ है’ भन्ने दवाब दिँदैनन् । 
 

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ८:७:७,   अन्तिम अपडेट : मंसिर ४, २०७८ शनिबार १०:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया