सन् १९९८ देखि २०१५ सम्म जाभी हर्नान्डेजले स्पेनिस क्लब बार्सिलोनामा एक सफल खेलाडीकाे रूपमा बिताए ।
४१ वर्षीय मिडफिल्डर जाभी फेरि क्याम्प नोउ फर्किएका छन् तर फरक भूमिकामा । बार्सिलोना फर्कँदा उनी सामू निकै ठूलो चुनाैती थपिएको छ ।
जाभी केही साताअघि मात्र रोनाल्ड कोम्यानको स्थानमा बार्सिलोनाको मुख्य प्रशिक्षक बनेका हुन् । यसअघि उनले कतारको अल साद क्लब सम्हालेका थिए ।
के जाभी खेलाडी रहँदा बार्सिलोनामा जति सफलता त्यसलाई प्रशिक्षकका रूपमा पनि कायम राख्लान् ? त्यो भने समयले नै बताउला ।
अहिले जाभीसमक्ष लय गुमाएको आफ्नो टोलीलाई ट्र्याकमा ल्याउने चुनाैती आएको छ र उनले आजबाट त्यसको सुरुवात गर्दैछन् ।
स्पेनिस लालिगा अन्तर्गत आज बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा आफ्नो प्रतिद्वन्द्वी स्पान्योलसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार राति पौने २ बजे हुनेछ । हाल लिगको नवौं स्थानमा रहेको बार्सिलोना यो खेल जित्नै आफ्नो पुरानो लय फर्काउन चाहन्छ ।
स्पान्योलविरुद्ध जित निकाल्न त्यति सहज नहुने भए पनि बार्सिलोनालाई घरेलु मैदानको फाइदा उठाउने अवसर भने छ ।
११औं स्थानको स्पान्योल पनि बार्सिलोनालाई हराउँदै अंक तालिकामा सुधार गर्ने दाउमा हुनेछ ।
यी दुई सहरी प्रतिद्वन्द्वीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।