‘दुश्मन’ जसले मनु मञ्जिललाई कवि बनायो

पछिल्लो पुस्तामा राम्रा कविता लेखिरहेका कविहरुमध्ये एक हुन्, मनु मञ्जिल । मञ्जिलले सामन्य भावलाई टिपेर गम्भीर अर्थ दिने कविता लेख्छन् । तिनै कवितामध्ये दुश्मन पनि उनको एउटा शक्तिशाली कविता हो । फेसबुक र अन्य सामाजिक सन्जालमा पनि यो कविताको भिडियो निकै भाइरल भएको छ । आखिर कसरी लेखे त मञ्जिलले यो कविता ? उनकै शब्दमा उनको कविता दुश्मनको रचना गर्भः 


फाट्टफुट्ट कविताहरु लेखेर ससाना जमातहरुमा सुनाउने गरेको थिएँ । इटहरीमा सानातिना कार्यक्रममा उपस्थित हुन थालेको थिएँ । २०५६ सालमा ‘दुश्मन’ कविता लेखेँ । त्यसपछि मेरो साहित्यिक जीवनको बाटो नै अर्को हो जस्तो भयो, यही कविताले मलाई कविको रुपमा परिचित गराउन थाल्यो ।

त्यतिबेला इटहरीबाट म आफ्नो गाउँ रौतहट गएको थिएँ । माओवादी सशस्त्र द्वन्द्वको समय थियो । हरेकले एकअर्कालाई जासुसी गर्न थालेका थिए । आफन्तमाथि जासुसीको आँखाले हेर्नेहरुको कमी पनि थिएन । गाउँ जाँदा बाटोमा सात पटक चेकिङमा परेँ । जब गाउँमा पुगेँ, गाउँको माहोल पनि अस्तव्यस्त थियो । गाउँमा प्रहरीहरु हिँडिरहेका हुन्थे, बुटहरुको आवाज गुञ्जिन्थ्यो । 

घर पुगेको साँझ म कोठामा सुतिरहेको थिएँ । माथि पहाडतिर, जङ्गलतिर बन्दुक चलेको आवाज आयो । हरेक पटक गोली चलेको आवाज आउँदा आमा म सुतेको कोठामा आएर छामछुम गर्नुहुन्थ्यो । छोरो सकुसल छ भन्ने निश्चित गरेपछि सुत्न जानुहुन्थ्यो । जति पटक गोली चलेको आवाज सुनियो, त्यति नै पटक आमाको स्नेहले मलाई छोयो । 

केही दिनपछि म इटहरी फर्किएँ । सामन्य हिसाबमा दिनहरु बिताउँदै गएँ ।

एक बिहान मर्निङवाकमा हिँड्दा घरको त्यो घटनाले मेरो मन झस्क्यो । बाबुले छोरामाथि शंका गर्ने त्यो समयका कारण म झस्किएँ । त्यही कुराले दुश्मनको चित्र आयो । बा र छोरा दुश्मन भएको चित्र, साथीसाथी दुश्मन भएको चित्र, आफन्त दुश्मन भएको चित्र । 



अनि मनमा ‘दुश्मन’का हरफ फुर्न थाले । मर्निङवाकबाट फर्किएर कविता लेख्न बसेँ । कविता लेख्दै गर्दा एकजना प्राध्यापक मलाई भेट्न आउनु भएको थियो । तर, मैले उहाँलाई भेट्न सकिनँ, भेटिनँ । मैले भनेँ– अहिले म कविता लेखिरहेको छु, भेट्न सक्दिनँ । त्यो बेला मैले ती प्राध्यापक साथीसँग भेटेको भए सम्भवतः दुश्मन लेखिने थिएन ।

यो कविता मैले विभिन्न कार्यक्रममा सुनाएँ, स्रोताहरुले मन पराउन थाल्नुभयो ।



यो कविता लेख्नु पहिलेसम्म म कविका रुपमा चिनिएको थिइनँ, मलाई कविको परिचय नै दुश्मन कविताले दिएको हो ।

सन् २०१५ मा पोखरामा भएको लिटरेचर फेस्टिभलमा ‘दुश्मन’ वाचन गरेको भिडियो युट्युबमा सार्वजनिक यो झन् धेरै स्रोतासम्म पुग्यो । धेरैले यो कवितालाई मन पराउन थाल्नुभयो । 

म आफैंलाई पनि दुश्मन कति मन पर्छ भने मैले यो कविता आजसम्म तीन सयभन्दा बढी ठाउँमा सुनाएको छु । हरेक ठाउँमा कविता सुनाउँदा बेग्लै अनुभूति हुन्छ । यही कविता बोकेर जब माइकअगाडि कविता सुनाउन पुग्छु, नयाँ कविता सुनाउन लागेको जस्तो हुन्छ ।

पाठक तथा स्रोताले के भएर यो कवितालाई यति धेरै माया गर्नुभयो, म आफैंलाई थाहा छैन । तर, कवितामा मान्छेहरुले आफन्तसँग राख्ने रिसराग, लोभ जस्ता जीवनका ससाना कुराहरु लेखिएकाले धेरैलाई मन परेको हुनसक्छ । 

एकपटक म झापाको धरमपुरमा कविता वाचन गर्न पुगेको थिएँ । त्यहाँ कार्यक्रम चल्दै गर्दा एकजना महिला आउनुभयो, अनि मनु मञ्जिल भनेको को हो भनेर खोजी गर्न थाल्नुभयो । मेरा साथीहरुले मलाई चिनाइदिनुभयो ती महिला मेरो नजिक आउनुभयो, हातमा भएको कवितासङ्ग्रह फुत्त खोस्नुभयो । अनि उहाँले भन्नुभयो, ‘म तपाईंको यो पुस्तकलाई देवताको पुजा गर्ने थानमा लगेर पुजा गर्छु ।’

उहाँले रेडियोमा सुनेको भरमा मेरो कविता कण्ठस्थ गर्नुभएको रहेछ । म त्यो कार्यक्रममा आउने भन्ने थाहा पाएर टाढाबाट हिँडेर आउनु भएको रहेछ । यी सब कुराले मलाई अचम्ममा पारे ।

अर्को एकपटक पाँचथरका एकजना शिक्षकले मलाई इटहरीमा भेट्नुभयो । उहाँले मसँग पाँच प्रति पुस्तक माग्नुभयो । मसँग एक प्रति मात्र थियो । उहाँले त्यही पुस्तक लिएर फोटोकपी गरेर आउँछु है भनेर जानुभयो । मैले त माया मारेको थिएँ, तर उहाँ फर्किएर आउनु भयो । उहाँको हातमा दुश्मन कविताको पाँच वटा फोटोकपी रहेछन् । 

मैले उहाँलाई सोधेँ, ‘किन यस्तो गर्नु भएको ?’

उहाँले दिनुभएको जवाफले पनि म अचम्मित भएँ । उहाँले भन्नुभएको थियो– मेरा पाँच जना दुश्मन छन्, उनीहरुलाई यो कविता देखाएर म तिमीहरुलाई यसरी हेर्छु भन्नु छ ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १८:३६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया