माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो `मौसम´ले पूर्व गृहमन्त्री स्वर्गीय पद्म सुन्दर लावतीले सुरुवात गरेको विकासको आधारमा टेकेर माओवादीले पाँचथरको चित्र फेरिने गरी विकास गरेको बताएका छन् ।
जिल्लामा सडक, खानेपानी, कृषि, सिँचाइ, पर्यटनदेखि तमाम क्षेत्रमा माओवादीको नेतृत्वमा अभूतपूर्व विकास भइरहेको बताए ।
`पूर्वमन्त्री पद्म सुन्दर लावतीले भिन्न राजनीतिक विचारधारा बोक्नुभयो । त्यो आफ्नाे ठाउँमा छ तर इमान्दारीपूर्वक भन्नुपर्छ कि पाँचथरमा विकासकाे सुरुवात लावतीले गर्नुभयाे,´ मन्त्री आङ्बाेले भने, `लावतीपछि अन्य पार्टीका नेताहरू पटकपटक निर्वाचित भए तर पाँचथरले के पाए ? तर, अहिले लावतीले सुरूवात गरेकाे विकासकाे आधारलाई टेकेर माओवादीले जिल्लाकाे चित्र फेर्दैछ ।´
जनतालाई गर्वका साथ भन्न मिल्ने गरी विकास निमार्ण माओवादीले पाँचथरमा गरिरहेकाे मन्त्री आङ्बाेले दाबी गरे ।
पाँचथर-काठमाडौं सम्पर्क कमिटीको दाेस्राे सम्मेलनमा सम्बाेधन गर्दै उनले भने, `जनताले सडक मागे सडक, खानेपानी मागे खानेपानी, जे माग्छन् जनताले त्यही विकास हामी गर्दैछौं ।´
पाँचथरको विकासका लागि प्रदेशकाे आर्थिक मामिला तथा योजनामन्त्री हैसियतले बजेटसहितका थुप्रै याेजना लगिने बताए ।
संघीय सरकारकाे अर्थमन्त्री जनार्दन शर्माकाे प्रमुख स्वकीय सचिव एवं पार्टीकाे पाँचथर सहइन्चार्ज हर्क नेम्बाङ `मिक्साे´ ले पनि अर्बौंकाे याेजना लगेर जिल्लाकाे विकासमा योगदान पुर्याइरहेको बताए ।
यसरी माओवादी विकासकाे पहरेदार बनिरहँदा जनतासँग विकासकै कुरा सुनाएर पनि भाेट माग्ने अवस्था रहेकाे उनकाे भनाइ छ ।
उनले एमालेसँग भाेट माग्ने कुनै एजेन्डा नभएकाे जिकिर गरे । `के अब एमालेले जनतासँग फेरि २/४ पटक संसद विघटन गर्छु, संघीय लोकतान्त्रिक संविधान सिध्याउँछु, जनताकाे वलिदानीपूर्ण आन्दाेलनबाट प्राप्त उपलब्धिलाई सिध्याउँछु भनेर भाेट माग्छ ?´ उनले थप प्रश्न छ, `एमालेसँग के छ भाेट माग्ने एजेन्डा ? छैन केही ।´
माओवादीबाट अर्थमन्त्री हुने बित्तिकै जनार्दन शर्माले काेभिडका कारण राेजगार गुमाएका गरिबहरूलाई राहत दिएकाे र ऊर्जामन्त्री भएपछि पम्फा भुसालले न्यून आय भएका जनतालाई २० युनिटसम्मकाे महसुल छुट दिएकाे पनि बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण संसद, संविधान, लाेकतन्त्र, गणतन्त्रलगायत उपलब्धि संकटमा परे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ काे नेतृत्वमा भएकाे आन्दाेलनले जोगिएकाे उनी बताउँछन् ।
पार्टी केन्द्रीय सदस्य तथा पाँचथर सहइञ्चार्ज हर्क नेम्बाङ `मिक्साे´ ले एमाले गएका श्रीप्रसाद जबेगूप्रति आक्राेश पाेखे । उनले भने, `माओवादी पार्टी जसले सांसद बनाउँदै मन्त्री बनायाे श्रीजबेगूजीलाई । तर, आज एमालेमा गएर माओवादीलाई नै सिध्याउँछु भनेर अघि बढेकाे देख्दा अचम्म लागेकाे छ ।´
माओवादी अब २०५२ र २०७४ सालतिरकाे स्थितिमा नभएकाेले चुनाैतिपूर्ण स्थिति आएकाे बताए ।
साेही कारण माओवादीलाई जनतासँग जाेडिएर बलियाे पार्टी बनाउन पाँचथर-काठमाडौं सम्पर्क कमिटीमा रहेका नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।
सम्मेलनलाई पूर्वसभासद ध्रुव आङ्देम्बेलगायतले सम्बाेधन गरे । सम्मेलनबाट भक्त पयाङ्गुकाे अध्यक्षतामा २९ सदस्यीय पाँचथर-काठमाडौं सम्पर्क कमिटी पुनर्गठन भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।