तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।  

आईतवार विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । 

नेपालले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए । उनले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए । नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसकारणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।

‘समस्याको कारण पनि खोज्नु पर्‍यो समाधान पनि निकाल्नु पर्‍यो । यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुपर्‍यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्‍यो । यो हाम्रो दायित्वभित्र पनि पर्दछ,’ नेपालले भने, ‘एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ । मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैंले सबै कुराहरूलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन् । त्यसको निम्ति हामीले भनिरहेका छौँ, अरू कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिन भनिरहेका छौँ ।’ 

उनले खाना पकाउने ग्यासमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्यवृद्धि गर्नु जनतामाथि अत्याचार भएको पनि बताए । नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको बताए । 

‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनुपर्ने हो, मैले पनि बुझिरहेको छैन, किन महंगो भइरहेको छ, हिजो कति खर्च हुने गर्दथ्यो? त्यसमा ढुवानी कस्टका कुरादेखि लिएर जति तेल भरिएको  छ, त्यो यहाँ आउँदा बीचैमा चोरिने त्यसले हुने गरेको जुन नोक्सानी कति भएको छ, त्यो हिसाबकिताब हुन्छ कि हुँदैन?,’ उनले भने, ‘यी सबै कुराहरूको बारेमा सम्बन्धित निकायमा म पनि बुझौँला । यसको निम्ति हामी पनि छलफल गर्नेछौँ । सरकारलाई भन्ने छौँ । सरकारले पनि बरु करको दायरा घटाउनु पर्‍यो । जनतासँग प्रत्यक्ष जोडिएका कुराहरुमा मारमा पार्नुभएन ।’ 



नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताउँदै सडकसँग सधैँ जोडिरहनुपर्ने बताए । उनले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलन, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताए ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियन लगायतका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् ।   



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १२:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया