[अन्तर्वार्ता] सरकारी टेलिभिजन नै कलाकारलाई रोयल्टी तिर्दैनन् भने देशमा कस्तो अराजकता होला ?
फरकधार / ५ मंसिर, २०७८

नेपाली सांगीतिक क्षेत्रमा चिनिएको नाम सुरेश अधिकारी । लामो समय नेपाली सांगीतिक क्षेत्रमा बिताएका अधिकारीले थुप्रै चलचित्रमा संगीत दिएका छन् । आधुनिक गीत लेखन, संगीत र गायनमा पनि उनी उत्तिकै सशक्त सुनिन्छन् । पछिल्लो समय संगीत रोयल्टी संकलन समाजको नेतृत्व गर्दै स्रष्टाका अधिकारका बारेमा वकालत गरिरहेका अधिकारीसँग पछिल्लो सांगीतिक बजार र सिर्जनामा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।



पछिल्लो समय बनेका गीत संगीतको आयु घट्दै गएको हो ?

पहिलाको संगीतको ट्रेन युगौँसम्म चल्ने खालको थियो । पहिलेका गीत सदाबहार बन्नुमा मेकानिकल मार्केटको पनि ठूलो हात छ । पहिलेका गीत एउटा डिभाइसमा किनेर ल्याएर मान्छेले आफ्नो घरमा राख्थे । घरमा यसरी गीत राख्नुको अर्थ संगीतको उपभोक्तासँग त्यो गीत सधैं छ भन्नु हो । अहिले त्यो मेकानिकल मार्केट हामीले टोटल्ली कोल्याप्स गरिसक्यौँ ।

विकसित देशहरूमा मेकानिकल मार्केटले एकखालको आफ्नो स्थान बनाएको छ र त्यहाँ व्यवस्थित छ । पाइरेसीले गाँजेको छैन त्यहाँ । हामीकहाँ कपिराइटको कानुनलाई राम्रोसँग लागू गर्न सकिएको छैन । यो देशमा मेकानिकल मार्केट कोल्याप्स भइसकेको छ ।



अहिले मैले मेरो स्वाद अनुसारको गीत सुन्न सक्ने वातावरण छैन । जसले कस्तो दिन्छ त्यस्तै सुन्नु पर्ने बाध्यता छ । अहिले कसको गीत कस्तो छ भनेर सुन्ने भन्दा पनि युट्युबमा सर्च गर्दा कसको गीत प्रमोसन भएर अगाडि आइरहेको छ त्यही चिजलाई एकचोटि सुन्ने हो । त्यो चिज आज सुन्यो, भोलि सुन्यो, पर्सि फेरि त्यो गीत मेरो लिस्टबाट हराइसक्छ । अर्कोदिन फेरि अर्को कुन गीत प्रमोसन गरेर माथि तानिएको हुन्छ त्यो गीत सुन्ने हो ।

केही रेडियोहरूले आफ्नो लाइब्रेरीमा लगेर राखेका, केही म्यूजिक कम्पनीहरूले आफ्नो कन्टेन्ट भनेर आफ्नो सर्भरमा राखेका बाहेक अन्य ठाउँबाट यस्ता खालका गीतहरू नपाउँदा गीतहरूको आयु छोटिँदै छ ।

मेकानिकल मार्केट बिग्रनु मात्रै हो त पछिल्लो समय कालजायी गीत/संगीत सिर्जना हुन नसक्नुको कारण ?

डिजिटल मार्केटको ‘भाइरल’ भन्ने एउटा ‘टम्स’ छ । यो ‘टम्स’ले हामी सबैलाई अस्थायी बनाएको छ । भाइरल हुनको लागि गीतमा स्तरीयता, त्यसको मेलोडी, गीतको शब्दको अर्थ, त्यसको गहनता, त्यसले दिने सन्देश र संगीतको एउटा शास्त्रीय लगायतका गुणसँग भाइरल भन्ने ‘टम्स’को कुनै सम्बन्ध हुँदैन ।

भाइरल भनेको एउटा अनौठो चिज अथवा एउटा असाध्यै घिनलाग्दो चिज, अथवा एउटा अति नै सुन्दर चिज बिक्ने पाटो हो । यो भिजवलको पाटो हो । यहाँ कहिले सिंगरको ग्ल्यामर बेचिन्छ । कहिले कलाकारको मार्केट भ्यालुलाई हेरिन्छ । अर्को प्रमोसनको पाटो पनि छ । यी क्वालिटी भन्दा बाहिरका चिज हुन ।

अब जो भाइरल बन्यो उसैको मार्केट बन्ने भयो । अब कम्पिटिशन क्वालिटीमा गएन । अहिले कसले स्तरिय बनाउँने ! कसले कालजयी बनाउँने भन्ने समय रहेन । कसले भाइरल भन्नेमा रूपान्तरण भयो । भाइरल बन्नका लागि ‘युनिक सेलिक पोइन्ट’ के छ ? मेरो खोजी चाहिँ त्यहाँ हुने भयो एउटा स्रष्टाका रूपमा । त्यसकारण अमर संगीतमा चाहिने तत्त्वहरू हामीले मिसाएनौँ भने त्यसले अमरत्व प्राप्त गर्न त सक्दै सक्दैन । र, सदाबहार गीत बन्न नसक्नुको प्रमुख कारण पनि ‘भाइरल टम्स’ नै हो ।

पछिल्लो सांगीतिक बजारको माहौलले, भाइरलको पछि दगुर्ने परम्पराले साँच्चै सिर्जना गर्ने सर्जकलाई कस्तो असर गरेको छ ?

जस्तो अहिले परिरहेके छ त्यही हो पर्ने । नारायण गोपालको स्वर्णिम सन्ध्यापछि यो देशमा त्यस्तै सम्झन लायक कुनै पनि कलाकारको स्वर्णीम सन्ध्या पनि हुन सकेन । पछिल्लो पुस्तामा आएर गायिका अन्जु पन्तको एकल साँझ भयो । राम्रै प्रतिक्रिया पनि आएको थियो । सत्य–स्वरुप एकल साँझ पनि भएजस्तो लाग्छ । कति कति अनगिन्ती एकल साँझ भएका छन् । तर ती एकल साँझ हामीले छोटो समयमै बिर्सिसक्यौँ । हाम्रा अहिलेका गीत/संगीत जस्तै भए । गोपाल योञ्जनको समेत एउटा स्वर्णीम सन्ध्या हुन सकेन नेपालमा । यो भनेको गोपाल योञ्जनको पालादेखि नै नेपाली संगीतले व्यावसायिकताको गलत बाटो समातिसकेको थियो ।

हामी अहिले बाहिर टिलिक्क पारेर टल्काइएको एउटा यस्तो सामान जुन घरमा पुगुन्जेलसम्म बिग्रिसक्छ त्यस्तै खालको डेकोरेसन गरेर मार्केटमा हाम्रा कन्टेन्ट फालिरहेका छौँ । त्यसले गर्दा राम्रो सिर्जना गर्नसक्ने पोटेन्सियल स्रष्टाको मन मष्तिष्कबाट गहन सिर्जना गरौं भन्ने कुरा बाहिर गयो । मष्तिष्कबाटै हटिसकेको कुरा भएको हुनाले यो सदाबहार गीतहरू बन्छन् भन्ने कुरा अलिकति स्रष्टामा म पछिसम्म बाँच्नु पर्छ भन्ने भावनाको पुस्तान्तरण हुँदै जाँदा झन कम कम हुँदै आइरहेको मैले भेटेको छु ।

हुन त यसबीचमा कति गीत सदाबहार बनेर पनि निस्किएका छन् । केही गायक/गायिका हुनुहुन्छ जसले आफ्नो क्वालिटीलाई कायम राख्ने कोशिस गरिरहनुभएको छ । उहाँबाहेक अरूका गीत निस्केको एक वर्षसम्म बजारमा टिकेको मैले देखेको छैन ।

अहिलेको यो सांगीतिक बजारको असर सुरेश अधिकारीको जीवनमा परेको छ कि छैन ?

म त एउटा व्यावसायिक संगीतकार हुँ । मभित्र पनि दुई किसिमको भावना छ । कुन क्षमता चाहिँ त्यो सिर्जनामा पोख्ने भन्ने हुन्छ । व्यावसायिक रूपमा यसलाई टल्काइ दिउँ ६ महिनापछि टिकेटिक्ला नटिके नटिक्ला भन्ने हिसाबले पनि काम गर्न सकिन्छ । म एउटा पसले संगीतकार हुँ । म आफ्नो सिर्जना बेच्छु । मेरो पसलमा टालाक टुलुक परेकै चिज खोज्न आउँछन् भने त्यहि पठाउनु पर्छ ।

बजारको प्रभाव त परिहाल्छ । यो सांगीतिक बजारको प्रभावले म सदाबहार गीत गर्नबाट चाहिँ बञ्चित छु । सदाबहार गीत गर्न खोज्दा मलाई तत्काल रोकिन्छ । निर्माताबाट र वितरकबाट रोकिनु पर्छ । एक स्टेपमा रचनाकारले रोक्छन् । अहिलेको जमानामा यस्तो गरेर कहाँ चल्छ भन्ने प्रश्न उठ्छ । त्यसपछि सिर्जनलाई एउटा वजन दिनबाट म रोकिन्छु ।

सुरेश अधिकारीजस्ता स्रष्टालाई अहिले पर्ने समस्या भनेको यही हो । यो रचना, गायन सबै विधामा लागू हुन्छ । एउटा लाइनमा भावको समुद्र दिनसक्ने गीतकार रोकिएका छन् । अहिले कवितात्मक गीतभन्दा धेरै बयानबाजीका गीत बढी सिर्जना हुन थालेका छन् । मैले नामै नलिकन भन्दा पनि एकदमै पुराना मै हुँ भन्ने स्रष्टा पनि अलिकति भद्दा किसिमको लाइन, दुईअर्थीका लाइन बनाएर बजारमा भाइरल बन्ने कोशिस गरिरहेका छन् ।

त्यो के भएको भने, अब कुकुरले पुच्छर हल्लाउन सकेन पुच्छरले कुकुर हल्लाइरहेको छ । सिर्जनामार्फत समाजलाई डोर्‍याउनु पर्ने साहित्यकार अब समाजद्वारा हाकिँदैछन् । यो ट्रेनले गर्दा साहित्यकार समाजको एउटा अगुवा हो भन्नुभन्दा पनि समाजको एउटा पिछलग्गु, व्यापारी, पसलेभन्दा माथि उठ्न सकेका छैनौं हामी ।

अबको सांगीतिक बजारले यो अवस्थाबाट सुध्रिने मौका पाउँछ पाउँदैन् ?

सांगीतिक बजार सुध्रिनको लागि संगीतकारले नै इनिसेसन लिनु पर्छ । संगीतकार भनेको व्यक्ति होइन । संगीतकार भनेको एउटा संस्था हो । उसको कन्ट्रोलमा होल सांगीतिक गतिबिधि हुन्छ । एउटा गीत लेखिसकेपछि त्यो आउँने संगीतकारकोमा हो । र त्यो प्राविधिक रूपले गीत हो कि होइन भनेर निर्क्यौल ल गर्ने मान्छे संगीतकार हो । त्यति मात्रै होइन अब यसलाई कस्तो धुन दिने, मान्छेलाई कुन तहसम्म त्यो धुनमा डुबाउँने, त्यो शब्दलाई कति प्रभावकारी बनाउँने त्यो पनि संगीतकारले गर्छ ।

र त्यो गीत कस्तो मान्छेलाई गाउँन दिने, कस्ता आवाज भएको व्यक्ति र प्रतिभालाई अगाडि बढाउने, गायकका रूपमा समाजमा कस्ता मान्छे स्थापित बनाउँनु पर्छ भन्ने पनि संगीतकार हो । त्यो मात्रै पनि होइन, कस्ता बाद्ययवाधकहरूलाई कसरी संगठित बनाउने, उनीहरूका सिप र कलालाई आफ्नो गीतमा कसरी समावेश गर्ने भनेर वाद्ययवाधकलाई पनि स्थान दिलाउन, उनीहरूका कला कौशलको जगेर्ना गर्ने काम पनि संगीतकारको हो ।

कस्तो खालको प्रविधिमा रेकर्ड गर्ने, त्यसलाई लगेर कुन ध्वनिको परिकल्पना गर्ने, कस्तो खालको साउण्ड इन्जिनियरलाई अगाडि बढाउने, कस्तो किसिमको ध्वनिको निर्माण गर्ने भन्ने सम्पूर्ण अभिारा एउटा संगीतकारले बोकेको हुन्छ ।

नेपालमा यति धेरै शक्तिशाली मानिएको संगीतकार भन्ने संस्था आर्थिक कारणले निरीह छ । कुनै पनि संगीतकारसँग आफ्नै ब्याण्ड छैन । आफ्नो अर्केष्ट्रा छैन । विदेशतिर हेर्ने हो भने एउटा संगीतकारसँग म्यूजिकको एउटा टोली हुन्छ । त्यो टोलीले अर्को संगीतकारको गीतमा बाजा बजाउँदैन । एउटा एरेन्जर भन्ने हुन्छ । त्यो उसको आफ्नै हुन्छ । कुन गीतलाई कति टेम्पो दिने, कुन मोसन्स दिने, एसेन्डिङ–डेसिन्डिङ कस्तो साउण्ड प्रोडक्ट उसको आफ्नै कन्डक्टर हुन्छ । साउण्ड इन्जिनियर हुन्छ । एउटा गीत निर्माण गर्न चाहिने सम्पूर्ण तत्व आफ्नै हुन्छ । त्यो सबै गर्नको लागि जुन लगानीको खाँचो छ त्यो लगानी गर्न सक्ने बजार, त्यो लगानीलाई धान्न सक्ने बजार नेपालमा छैन ।

प्रतिलिपी अधिकार कोल्याप्स छ । यो प्रति राज्यको सचेतना शून्य छ । स्रष्टाले संघ-संस्थामार्फत एक खालको पहल गर्नु पर्ने हो तर सबै कुहिरोको काग छन् । राजनीति हाबी छ । संघ संस्थामा पद ओगट्ने होडबाजी छ । सही कुरा र रचनात्मक कुरा बजमरमा कसैलाई पनि थाहा छैन । धेरै मिडिया अनविज्ञ छन्, थाहा भएका मिडिया पनि इग्नोर गर्न चाहान्छन् । र संगीतलाई एकलौटी, गैर कानुनीतवरले व्यापार गर्नेहरूले यो भद्रगोललाई झन् प्रसय दिरहेका छन् ।

नेपालमा संगीतको बजार स्थापित हुनको लागि अझैं धेरै पुस्ताले ठूलो मेहनत र कोशिस गर्नुपर्ने छ । त्यसको लागि राज्यको सहकार्य अनिवार्य छ । हामी प्राविधिक रूपले पनि कमजोर छौँ । जबसम्म यो बजार स्थापित हुँदैन तबसम्म संगीतकार भन्ने संस्थाहरु बलिया हुँदैनन् । यो संस्था बलियो भइसकेपछि मात्रै सिर्जनाको एउटा मूल्य हुन्छ ।

संगीतकार भन्ने संस्था बलियो भएपछि उनीहरूको छुट्टै आफ्नै ब्याण्ड हुन्छ । त्यसपछि सिर्जनामा पनि पृथकता आउँछ । अहिले त तीन जना संगीतकार छन् । एउटा जान्ने, अर्को ठीकै जान्ने र अर्को जान्दै नजान्ने । ती सबै संगीतकारकोमा एउटै मान्छेले बाजा हाल्छ । एउटै मान्छेले एरेन्ज गर्छ । अनि सबै गीत उस्तै उस्तै बन्छन् । भाइरल हुने बेलामा सबैभन्दा नजान्ने भइदिन्छ । मान्छेलाई कसैको क्वालिटी नै थाहा भएन ।

गायनमा पनि हेर्नुस् न अहिले ३०/४० वर्ष रियाज गरेकाहरूको र भर्खर गाउन आएका सबैको स्वर उस्तै सुनिन्छ । पहिला फरक छुट्टिन्थ्यो । अहिले किन एउटै सुनिन्छ भने एउटा मेसिनमा हालेर अटो ट्युनर लगाएपछि हामीले मेच ठोकेर निक्लेको साउण्डलाई पनि गीत बनाउन सकिन्छ । अहिले सडकको कोही पनि मान्छेलाई टिपेर लगेर म गायक/गायिका बनाउन सक्छु । अनि रियाज गर्नु र नगर्नुको के मतलब भयो । यस्ता प्रविधिले पनि मान्छेलाई धेरै पछाडि पारेको छ । त्यसैले नेपालमा संगीतको विषयमा समीक्षा गर्दा, समस्याका बारेमा विवेचना गर्दा हामी निक्कैबेर अलमलिनु पर्ने हुन्छ ।

हामीलाई राज्य चाहियो, राज्यले गर्दिनु पर्‍यो भनिरहेका हुन्छौँ । राज्यले गर्नु पर्ने चाहिँ के हो ?

राज्यले गर्नु पर्ने पहिलो कुरा विभिन्न मन्त्रालय छन्, आ–आफ्नो विषयलाई सम्बोधन गर्छन् । कृषकका समस्यालाई कृषि मन्त्रालयले सम्बोधन गर्छ । यातायातको समस्या यातायात मन्त्रालयले सम्बोधन गर्छ । हाम्रो चाहिँ संस्कृति तथा पर्यटन मन्त्रालय भन्ने छ । हामीलाई संस्कृति मन्त्रालयले गाइड गर्नुपर्ने हो । तर संस्कृति मन्त्रालयमा यो पोलिसी नै बन्न सकेको छैन । हामीले अमूर्त कलालाई फोकस गर्न सकेका छैनौँ । जीवित कलालाई हामीले फोकस गर्न सकेका छैनौँ ।

अहिले संस्कृति मन्त्रालय अन्तर्गत फलानो मठमन्दिरमा यति करोड रुपैयाँ हालिदिने भन्ने भइरहेको छ । यसरी अरबौं रुपैयाँ खेर गइरहेको छ । तर कलाकारको प्रतिलिपि अधिकार कार्यान्वयन गर्नको लागि, जीवित संस्कृतिलाई बचाउनको लागि के कस्ता काम गर्नु पर्छ भन्ने पोलिसी नै बन्न सकेको छैन ।

कुनै पार्टीलाई दोष दिने कुरा होइन । राज्यको प्राथमिकतामै परेको छैन । हामीभित्र पनि नचाहिने भ्रम यसरी फैलाइएको छ कि केही हुन लाग्यो भने अर्को थरिले खुट्टा तान्ने प्रविधि छ । अहिले रोयल्टीको केस हामी करिब करिब समाधान गर्ने तर्फ गइसकेका थियौँ । तर यहाँभित्र राजनीति गर्नेहरूले उठेको रोयल्टी नेतृत्व गर्नेहरूले खाएर सिद्धाएका छन् भन्ने खालको हल्ला गरे । हाम्रोमा यस्तै परिपाटी छ । किनभने अचेतन समाज हो हाम्रो ।

नेपालमा जसले नेगेटिभ कुरा गर्‍यो त्यो हिरो हुन परिपाटी छ । तर त्यो होइन । प्रोडक्टिभ र क्रिएटिभ अभियानलाई कसरी साथ दिऊँ भन्ने न स्टेकहोल्डरहरूको सोच छ । यहाँ धेरैको जीवनको लगानी छ । यो लगानीको प्रतिफल कसरी लिने भन्ने विषयमा हामीले राज्यलाई बुझाउनै सकिरहेका छैनौँ । राज्यले पनि संगीत कति ठूलो उद्योग हो भनेर सोच्न सकेकै छैन । यसलाई कसरी जोगाउनु पर्छ, यसमा कति लगानी गरिदिनु पर्छ भनेर सोच्न सकेकै छैन ।

रेडियो नेपालमा भएका जस्ता ५/७ वटा स्टुडियो देशमा निर्माण गरिदिनु राज्यको लागि ठूलो कुरा होइन । स्टुडियो निर्माण गरेर एउटा स्टुडियोमा एउटा जनराको मात्रै गीत रेकर्ड गर, राम्रो क्वालिटीको गीत मात्रै उत्पादन गर भनेर एउटा अर्केस्ट्रा दिने हो मात्रै भने पनि २/४ करोडको लगानीमा नेपालमा एउटा ठूलो प्रोडक्सन बन्न सक्छ । तर सरकारले यस्तो पोलिसी बनाइरहेको छैन । रेडियो नेपालको स्टुडियो सञ्चार मन्त्रालय अन्तर्गत छ । कलाकार संस्कृति मन्त्रालय अन्तर्गत छन् ।

अनि सरकारी टेलिभिजनले हाम्रो रोयल्टी तिरिरहेका छैनन् । अरूलाई रोयल्टी तिराउनु पर्ने निकाय राज्य हो । राज्यले रोयल्टी नतिरेको देश भनेपछि यो देश कति अराजक होला ? कल्पना गर्नुस् तपाईं निदाएको बेला चोर्न प्रहरी आउँछ भने के होला ? हो यस्तै भइरहेको छ । जो स्रष्टाको पहरेदार बन्नु पर्थ्यो उसले नै स्रष्टालाई लुटिरहेको छ । त्यसकारण यहाँको गीत संगीत यो स्वरूपमा जन्मिराख्नु धेरै ठूलो कुरा छ । कम्तिमा छोटै आयुका भए पनि सिर्जना भइरहेको छ । स्रष्टाले काम पाइरहेका छन । यसैलाई ठूलो मान्नु पर्छ ।

पछिल्लो समय सिर्जना भएका गीतमा विविधता अभावको महसुश हुन्छ ?

विविधता आएको छ । समाजका सबै विषयका गीत बनेका छन् । यस्ता खालका सिर्जनामा पहुँच कम भयो । डिजिटल मार्केटको भाइरल भन्ने ‘टम्स’ भित्र गहन सिर्जना गर्ने सर्जकहरू पर्नै सकेनन् । हामी पनि त्यस्तै छौँ ‘यो एकदम गजब छ’ भनिदिन्छौँ । तर पार्टीमा भाइरल भएकै गीत बजाएर नाच्छौँ ।

गीत अब विस्तारै सुन्ने चिजबाट हेर्ने चिजमा रूपान्तरण हुँदै गएको छ, यसले संगीतकर्मीलाई के फरक पारेको छ ?

हेर्ने होइन हेराइने भयो । सुन्ने होइन सुनाइनेमा छ । जबर्जस्ती । म आज फलानोको गीत सुन्छु भनेर फुर्सद निकालेर संगीत बजारमा जान्न । मलाई थाहा छैन भोलि कसको, कस्तो गीत स्पोन्सर भएर मेरो युट्युबको हिट लिस्टमा बसिरहेको हुन्छ । त्यही गीत मैले एक क्लिक गरेर हेर्ने हो । मैले जसरी एक क्लिक गरेर हेर्ने लाखौँ हुन्छन् । स्पोन्सर गरेर युट्युब लिस्टको माथि तानेको गीत के रहेछ भनेर सबैले एक एक क्लिक गर्दा त्यो गीत मार्केटमा भाइरल भइसकेको हुन्छ । तर कसैले पनि छानेर मन पराएर सुनेको गीत त्यो हुँदैन । मन पराएर सुनेर करोडौँ भ्युज हुन लामो समय लाग्छ । बजारमा आएको ५ दिनमा करोड कल्बमा प्रवेश गरेको गीत एक महिनापछि स्रोतालाई सोध्दा बिर्सिसकेको हुन्छ । श्रोता दर्शकको कलेक्सनमा त्यो गीत भेटिँदैन ।

हाम्रो पालामा हामीले निकालेको क्यासेट श्रोताको लाइब्रेरीमा राखिन्थ्यो । आफूलाई मन परेका पुस्ताको जस्तै लाइब्रेरी हुन्थ्यो क्यासेटको । चाइनिज प्लेयर ल्याएर भए पनि त्यो समयका गीत सुनिन्थे ।

यतिविधि मिडिया छन्, तिनलाई गीत/संगीत जतिसक्यो बढी आवश्यक पर्छ, तर पनि गीत/संगीतको अवस्था सुध्रन सकेको छैन है ?

त्यतातिर जाँदै नजाउ । कसलाई फुर्सद छ र ? म आफू गीत संगीतको उपभोक्ता हुँ । म आफैँ सचेत छैन के सुन्ने के नसुन्ने भन्ने कुरामा । म आफ्नो रुचिका गीत खोज्न जाँगर गर्दिनँ । बजारमा जे अगाडि आएका छन त्यहि सुनिरहेको हुन्छु । मिडियाकर्मी पनि मैले जस्तै गर्छन । जे बजारमा आएको छ त्यहि बजाउँछन् । त्यहि प्रसारण गर्छन ।

अब कस्तो गीत तयार पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तपाईंलाई ?

यस्तो गर्न पाए हुन्थ्यो भन्ने त कति छ कति । हिजो पनि थियो । आज पनि छ । यो चाह त भोलि पनि बाँकी नै रहिरहन्छ । भनेजस्तो एउटा गर्यो । फेरि अर्को चाहाना जन्मन्छ । गीत/संगीत प्रतिको सपनाले नै आजसम्म यहाँ छु । म तिनै सपना पुरा गर्ने कोशिशमा छु ।

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १४:४८:३६,   अन्तिम अपडेट : मंसिर ५, २०७८ आइतबार १४:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया