रूपन्देहीमा कांग्रेस क्षेत्रीय अधिवेशनमा रस्साकस्सी : पुरानै अनुहार दोहोरिने सम्भावना

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका लागि रुपन्देहीबाट सबै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिने गरी कसरत सुरु भएको छ । रुपन्देहीमा रहेका पाँचवटा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा हाल नेतृत्वमा रहेका पाँचै जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रदेश क्षेत्रीय अधिवेशनबाट अधिकांश नयाँ अनुहार विजयी भएकोमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भने पुरानै अनुहार दोहोरिने सम्भावना बढेको हो । हाल नेतृत्वमा रहेकाहरूले उम्मेदवारी घोषणादेखि तीव्र प्रचारप्रसार थालेका छन् ।

कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबार हुँदै छ । क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित गर्नेछ । हाल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा हिराबहादुर केसी, क्षेत्र नम्बर २ मा हरि लम्साल, ३ मा मातृका यादव, ४ मा मुकेश यादव र क्षेत्र नम्बर ५ मा वसिउल्लाह मुसलमान सभापति छन् । उनीहरू पाँचजना फेरि सभापति लड्ने तयारीका साथ चुनावी प्रचार तीव्र पारेका छन् ।

क्षेत्र नम्बर १ का सभापति हिराबहादुर केसीले थप एक कार्यकाल आफू नेतृत्वमा आउन चाहेको बताए । 'कार्यकर्ताको भावना तपाईं एक कार्यकाल सभापति हुनुहोस् भन्ने छ, तसर्थ म सभापतिमा लड्ने विचार गरेको छु', उनले भने ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले आफू अझै एक कार्यकाल दोहोरिन चाहेको बताउँदै कार्यकर्ताको भावनाअनुसार नै उम्मेदवारी दिन लागेको बताए ।

क्षेत्र नम्बर ३ का सभापति मातृका यादवले पनि आन्तरिक लविङ गरिरहेका छन् । आफू चुनाव लड्ने उद्देश्यका साथ कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको उनले बताए । क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवले पनि उम्मेदवारी घोषणा गर्दै प्रचार सुरू गरेका छन् । यस पटक पनि कार्यकर्ताले आफूलाई नेतृत्व सुम्पने उनको विश्वास छ । क्षेत्र नम्बर ५ का सभापति बसिउल्लाह मुसलमानले पार्टीमा अहिले सक्षम नेतृत्व आवश्यक रहेको भन्दै त्यो आफूले पुष्टि गरिसकेको बताए ।



पार्टीगत गुटको प्रभाव भने क्षेत्रीय अधिवेशनमा पनि पर्ने देखिएको छ । क्षेत्र नम्बर १ मा नेतृत्वमा आउन चाहेका केसी देउवा निकट हुन् । उनीविरुद्ध रामचन्द्र पौडेल समूहले विश्वनाथ यादवलाई उठाउने तयारी गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर २ का पौडेलनिकट मानिने हरि लम्सालविरुद्ध देउवा समूहले काजीमान श्रेष्ठलाई उठाउँदै छ । उनी मजदुर नेता हुन् । क्षेत्र नम्बर ३ का सभापति मातृका यादव पौडेल पक्षका हुन् भने उनीविरुद्ध देउवा समूहले सुशील गुरुङलाई प्रतिस्पर्धामा उतार्दै छ । क्षेत्र नम्बर ४ मा भने पौडेल पक्षका मुकेश यादवका प्रतिस्पर्धी देउवा समूहका विनोद श्रीवास्तव छन् । क्षेत्र नम्बर ५ मा फेरि दोहोरिन चाहेका हालका सभापति वसिउल्लाह मुसलमान कांग्रेस नेता भरतकुमार साहनिकट मानिन्छन् । पौडेल पक्षले उनीविरुद्ध उम्मेदवारी छानिसकेको छैन । यो क्षेत्रमा साहको राम्रो पकड मानिन्छ ।



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १७:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया