गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सरकार सकारात्मक छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, 'थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।'

क्रिकेट रंगशाला बनाउन रकम अभाव भएपछि धुर्मुस-सुन्तली फाउण्डेशनले पछिल्लो चार महिनायता काम रोकेर बसेको छ । आर्थिक अभाव र ऋण पनि बढ्दै गएको भन्दै फाउण्डेशनले काम रोकेको  केही दिनअघि फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले एउटा भिडियो सन्देश जारी गर्दै बताएका थिए ।

'विषम परिस्थितिमा बनाउनु पर्छ बन्नु पर्छ भनेर अघि बढेका थियौँ । तर बिडम्बना भन्नु पर्छ विगत चार महिनायता निर्माण रोकिएको छ,' धुर्मुसले भनेका थिए, 'कोभिडको महामारी र लकडाउन चाडवाडमा पनि बिचलिन नभई काम गर्‍यौँ । तोकिएको समयमा रंगशाला बनाउनु पर्छ भनेर लागि परि रह्यौँ ।'

उनले सरकारलाई क्रिकेट रंगशालाको अभिभावकत्व लिन पनि आग्रह गरेका थिए । उनले भनेका थिए 'सरकारलाई सुरुबाटै अभिभावकत्व लिन आग्रह गरिरह्यौँ । संघीय सरकारदेखि स्थानीय सरकारसम्म पटकपटक पुग्यौँ । सहकार्यका लागि भनेर हामी नपुगेका ठाउँ सायदै कम होला ।' 
उनले रंगशाला निर्माणका क्रममा लागेको १७ करोडको ऋणको भारी बोकेर हिँडेका समेत बताएका थिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १८:४३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया