अन्तर्राष्ट्रिय बजारको प्रभाव : चियाको मूल्यमा ४० प्रतिशतले गिरावट

नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो । नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यस वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी १६० रुपैयाँ छ ।

जबकि गत वर्ष सिटिसी तयारी चिया २५० रुपैयाँदेखि ३०० सम्म कारोबार भएको थियो । यो वर्ष हरियो पत्ति प्रतिकेजी १८ रुपैयाँदेखि २२ रुपैयाँसम्म रहेको संघका वरिष्ठ सल्लाहकार पराजुलीले जानकारी दिए । गत वर्ष हरियोपत्तिले प्रतिकेजी ३५ रुपैयाँभन्दा धेरै मूल्य पाएको उनले बताए ।

नेपालमा करिब दुई करोड केजी बढी सिटिसी चिया उत्पादन हुने गरेको छ । ५० प्रतिशत सिटिसी चिया नेपालमै खपत हुन्छ भने बाँकी ५० प्रतिशत सिटिसी चिया भारत जाने गरेको छ ।

अर्थोडक्स चिया भने ५० देखि ७० लाख केजी वार्षिक उत्पादन हुने गरेको वरिष्ठ सल्लाहकार पराजुलीले बताए । अर्थोडक्स चियाको मूल्य भने राम्रो छ । तयारी अर्थोडक्स चियाको मूल्य भने प्रति केजी करिब ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अर्थोडक्सका लागि हरियोपत्तिको मूल्य पनि प्रतिकेजी ४५ रुपैयाँभन्दा धेरै रहेको छ ।

नेपाली चियाको कुल उत्पादनको करिब ९९ प्रतिशत चिया प्रदेश १ मा उत्पादन हुन्छ । त्यसको पनि सबैभन्दा धेरै झापा र इलाम चिया उत्पादन हुँदै आएको छ । पहाडमा अर्थोडक्स र तराईमा सिटिसी चिया उत्पादन हुँदै आएको छ । पछिल्लो समय झापामा पनि अर्थोडक्स चिया उत्पादन हुन सुरु भएको छ ।

जसको ९० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण चियाको मूल्यमा गिरावट आएको बताए । ‘हाम्रो मुख्य बजार भारत नै हो । अरू देशमा नगण्य रूपमा चिया निर्यात हुन्छ । गत वर्ष चियाको मूल्य निकै राम्रो थियो । यसपटक गिरावट आयो,’ उनले भने, ‘भारत पनि अन्तर्राष्ट्रिय बजारकै भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा यसको प्रभाव हामीलाई पनि पर्छ ।’ नेपालको चिया भारतबाहेकका देशमा विस्तार गर्न नसक्दा राम्रो मूल्य पाउन नसकेको पराजुली बताउँछन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १९:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया