आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाल अहिले पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवर्द्धन गर्नका लागि पहल भइरहेको बताएका हुन् । 

उनले भने, 'बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिट्टै हटाउन भनेको छु । नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।' सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहँदै आएको छ । 

मन्त्री आलेले भारतका मुख्य सहरहरूमा थप उडान भर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, 'भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ ।' अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उनको भनाइ थियो ।

कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उनले बताए । कोभिड पूरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उनले जानकारी दिए । सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २०:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया