मकवानपुर कांग्रेसमा बानियाँको दबदबा : उम्मेदवार अपहरणको डरले इतर पक्षले प्यानल घोषणा गर्न सकेन
फरकधार / ५ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

 नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुरको दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबार निर्वाचन हुँदै छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सभापतिमा २ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यस्तै क्षेत्र नम्बर २ मा २ जनाले घोषणा गरेका छन् । 



मकवानपुरको दुई क्षेत्रमा संस्थापन पक्ष र संस्थापनइतर पक्षको छुट्टाछुट्टै प्यानल रहेको छ । जिल्लामा पार्टी सभापति इन्द्र बानियाँले संस्थापन पक्ष बलियो बनाएका छन् । उनको नेतृत्वमा उक्त पक्षले ४ वटै प्रदेशसभा क्षेत्रमा संस्थापनइतर विरुद्ध कब्जा जमायो । 



नेपाली कांग्रेसमा केन्द्रसम्म राम्रो प्रभाव राख्ने बानियाँ बागमती प्रदेश संसदीय दलका नेता समेत हुन् । उनी भावी मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका छन् । तर, संस्थापन इतर समूहले बानियाँमाथि गम्भीर आरोप लगाएका छन् । 



पार्टीको आन्तरिक चुनाव आफ्नो पक्षमा ल्याउन बानियाँले उम्मेदवारदेखि प्रतिनिधिसम्मलाई डर, त्रास, लोभ देखाएको संस्थापनइतर समूहका नेताले आरोप लगाएका छन् । आइतबार साँझ रामचन्द्र अर्याल ‘माइकल’, जयराम लामिछाने, उमा दाहाल, रीता खनालको उपस्थितिमा प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारहरु धर्मराज लामिछाने र ईश्वरनाथ पौडेलले यस्तो आरोप लगाएका हुन् ।  



उनीहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गर्न समेत डर भएकोले आफ्नो प्यानलको सबै नाम सार्वजनिक गर्न नसक्ने बताए । नाम सार्वजनिक गरेमा राति नै बानियाँका मान्छेले अपरहण गर्न सक्ने उनीहरुको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्लाका पूर्वसभापतिसमेत रहेका  कांग्रेस नेता माइकलले भने, ‘अहिले हाम्रा आफ्नै पार्टीबाट हाम्रो नेता–कार्यकर्तालाई डर छ, उम्मेदवार घोषणा गरेर जाँदा राति नै अपरहण पर्न सक्छन् ।’  यस्तै नेता जयराम लामिछानेले पार्टीमा मण्डले प्रवृत्ति हाबी भएको बताए ।

क्षेत्र​ नं १ मा लामिछाने र खनाल 



मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष समेत रहेका दामोदर खनालले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । खनालको प्यानलमा सचिवमा कविन सांगामी र दोर्जे स्याङ्तान छन् । यस्तै, सह–सचिवमा इन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत रहेका छन् । खनाल संस्थापन पक्षका हुन् । 

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा संस्थापन इतरका धर्मराज लामिछानेले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो चुनावमा प्रदेश सभा सदस्यको उम्मेदवार रहेका लामिछानेको प्यानलमा सचिवमा रमेश ढकाल र सहसचिवमा कुमार केसी रहेका छन् । लामिछानेले अन्य उम्मेदवार सार्वजनिक गरेमा जिल्ला सभापति इन्द्र बानियाँको टिमले अपरहण गर्ने आरोप लगाउँदै अन्य पदाधिकारीको नाम सार्वजनिक गरेका छैनन् ।  



क्षेत्र​ नं २ मा मुक्तान र पौडेल 

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा लोकबहादुर मुक्तानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्  । उनी साविक ४ नम्बर क्षेत्रीय सभापति थिए । मुक्तान संस्थापन पक्षका हुन् ।  यस्तै, मुक्तानसँग संस्थापन इतरका नेपाली कांग्रेसका पुराना नेता ईश्वरनाथ पौडेल भिड्ने भएका छन् । पौडेलको नेतृत्वमा सचिवमा राजकुमार ब्लोन र रमेश कुमार थिङ उठ्ने भएका छन् । पौडेलले पनि अन्य पदाधिकारी भने खुलाएका छैनन् ।
 
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत  हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचनले सभापति एक, सचिव २ र सहसचिव २ जना चयन गर्नेछ । यस्तै, प्रदेशसभा क्षेत्रीय सभापति प्रतिनिधिसभाको उपाध्यक्ष हुने कांग्रेसको विधानमा उल्लेख छ । 

उपसभापतिसहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिमा ७ जना पदाधिकारी हुने कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताए । सोमबार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुनेछ भने प्रतिनिधिसभा क्षेत्र नम्बर २ को निर्वाचन हेटौँडा–१ चौकिटोलमा हुने कोइरालाले बताए ।

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २१:२४:१२,   अन्तिम अपडेट : मंसिर ५, २०७८ आइतबार २१:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया