केही साताअघि सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री अबदुल्ला ह्यामडक पुनः प्रधानमन्त्री बनेका छन् ।
सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र ह्यामडकबीच राष्ट्रपति निवासमा भएको एक सम्झौतापछि सेनाले ह्यामडकलाई पुनर्स्थापित गरेको हो ।
एक महिना अगाडि सेनाले ह्यामडक नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि ह्यामडकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो ।
सेनाको कुको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा विशाल प्रदर्शन भएका थिए ।
सेनाले सत्ता हातमा लिएपछि भड्किएको हिंसामा ४० जनाको मृत्यु भएको थियो । सहमतिअनुसार ह्यामडकले संक्रमणकालीन सरकारको नेतृत्व गर्नेछन् ।
त्यस्तै, सेनाले सम्पूर्ण बन्दीलाई रिहा गर्ने भएको छ । ‘सुडानीको रगत मूल्यवान छ । रक्तपात अन्त्य गरौं र युवाको उर्जालाई विकास निर्माणमा सदुपयोग गरौं’, ह्यामडकले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।